विराटनगर: अवैध नगद तथा हुन्डी कारोबारसँग सम्बन्धित रकम लुकाएर राखिएको भन्ने सूचनाका आधारमा मोरङ प्रहरीले नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको निवास र कार्यालयमा व्यापक खोजतलास गरेको छ। लामो समयसम्म गरिएको जाँचका क्रममा कुनै पनि शंकास्पद वस्तु वा गैरकानुनी रकम फेला नपरेपछि प्रहरी टोली फर्किएको छ।
प्रहरीका अनुसार सोमबार बिहान करिब साढे ४ बजेदेखि सुरु भएको खानतलासी अभियान झन्डै पाँच घण्टासम्म चलेको थियो। खोजतलासका क्रममा घरभित्रका विभिन्न कोठादेखि कार्यालयसम्म विस्तृत रूपमा जाँच गरिए पनि आरोप पुष्टि हुने कुनै सामग्री भेटिएको छैन।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले विशेष सूचनाको आधारमा कानुनी प्रक्रिया पूरा गर्दै खोजतलास गरिएको जानकारी दिए। उनका अनुसार प्राप्त सूचनाको सत्यता परीक्षण गर्न प्रहरी परिचालन गरिएको भए पनि अनुसन्धानका क्रममा शंकास्पद वस्तु वा अवैध रकम फेला परेको छैन।
प्रकाश मुन्दडा चाँदी व्यवसायमा सक्रिय तथा कोशी प्रदेशका परिचित उद्योगीमध्ये एक मानिन्छन्। उनी नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्षसमेत हुन्।
देवेनारा समूहका सदस्य वेनीगोपाल मुन्दडाले प्रहरी टोलीले कानुनी प्रक्रिया अनुसार खोजतलास गरेको र परिवारले त्यसमा पूर्ण सहयोग गरेको बताए। उनका अनुसार प्रहरीले आवश्यक कागजात देखाएर खोजी सुरु गरेको थियो र घर तथा कार्यालयका सबै स्थानमा जाँच गरेपछि कुनै आपत्तिजनक सामग्री नभेटिएको निष्कर्ष निकाल्दै फर्किएको हो।


