२०८३ कार्तिक १२ गते बुधबार

विश्वासको मत लिँदा अविश्वासका कुरा : व्यंग्य र ‘लभ’देखि धोकासम्म

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत ६
prachanda vs oli
प्रतिनिधि सभा बैठकमा विश्वासको प्रस्ताव पेस गरेपछि प्रधानमन्त्री दाहाल (उभिएका) र एमाले नेताहरू (बसेको अवस्थामा)।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्ने प्रस्ताव पेस गरे। उनले पुस २६ गते विश्वासको मत लिएपनि २ महिनामै फेरि विश्वासको मत लिनुपर्ने कारण र सरकारका उपलब्धिसहित विश्वासको मत माग्दै प्रस्ताव पेस गरे। आफूले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्छ भन्दैमा एमालेले समर्थन फिर्ता लिएको र सरकार छाडेको भन्दै यसको जवाफ एमालेले नै दिनुपर्ने बताएका थिए।

‘एमाले र राप्रपा अस्थिरता तर्फ जानु चिन्ताजनक विषय हो,’ उनले भने, ‘सरकार बनेको २ महिना नपुग्दै विश्वासको मत फिर्ता लिने निर्णयबारे निर्णयकर्ताले नै जवाफ दिनुपर्छ। सरकारको गलत कामका कारण हामीले समर्थन फिर्ता लियौं भनेर चाहिँ उहाँहरुले अहिलेसम्म भन्नुभएको छैन।’

पुस १० गते एमालेसँग गठबन्धन निर्माण गर्दा विगतका मतभेद नकोट्याउने निर्णय भएको स्मरण गरेका उनले त्यसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई पालना नगरेको आरोप लगाए।

‘संसद्को पहिलो बैठकमै संसद् विघटनको विषय प्रवेश भयो। त्यो कुनै गर्वको विषय थिएन। सर्वोच्च अदालतले दुई पटक असंवैधानिक भनेको थियो, संसद् विघटनको खुला पक्षपोषणले संवैधानिक र राजनीतिक चुनौति मलाई दियो। प्रधानमन्त्रीकारुपमा मैले लगभग राष्ट्रिय सहमति पाएँ,’ उनले भने, ‘ मैले राष्ट्रपतिमा राष्ट्रिय समिति खोज्न चाहेँ। समझदारीमै नेपाली कांग्रेसलाई राष्ट्रपति दिऔँ भनेर एमालेका अध्यक्षसँग ठोस प्रस्ताव राखेँ। तर, त्यसमा सहमित हुन सकेन। प्रधानमन्त्रीकारुपमा मैले गरेको प्रयासमा कुनै खोट थिएन।’

प्रधानमन्त्रीले विश्वासको मत माग्दै प्रस्ताव पेस गरेपछि प्रस्तावमाथि छलफल सुरु भयो।

छलफलमा भाग लिने पहिलो वक्ता थिए- कांग्रेस सभापति शेरबहादुर देउवा। लिखित भाषण गरेका देउवा नरम सुनिए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा र सार्थक कार्यान्वयन, मुलुकमा राजनीतिक स्थिरताको सुनिश्चितता हाम्रो आधारभूत आवश्यकता भएकाले यसअघि पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए। आफ्नो नेतृत्वका सरकारले गरेका काम बारे समेत चर्चा गरेका देउवाले अर्थतन्त्रको सुधार र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनुपर्ने बताए।

पुस १० गते एमालेसँग गठबन्धन निर्माण गर्दा विगतका मतभेद नकोट्याउने निर्णय भएको स्मरण गरेका उनले त्यसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई पालना नगरेको आरोप लगाए।

‘देशको बिग्रँदो आर्थिक अवस्थालाई सुधार गर्न आवश्यक छ। विश्वव्यापी कोभिडको महामारी लगायतका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको छ। यस क्षेत्रमा सरकारले विषेश ध्यान दिन जरुरी छ। अर्थतन्त्रलाई उकास्ने नीति, योजना र कार्यान्वयनको ठोस प्रतिवद्धताको आवश्यकता छ,’ उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी कामहरुलाई तार्किक निष्कर्षमा पुर्याउनु पर्दछ। संक्रमणकालिन न्यायको विषयलाई सम्बोधन गर्न कानून संशोधनको प्रकृया अगाडी बढेको छ।’

देउवापछि सभामुख देवराज घिमिरले प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेललाई छलफलमा भाग लिन अनुमति दिए। प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्तावमा संसदीय दलका नेताले बोल्ने प्रचलन छ। तर एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली भने बोलेनन्।

छलफलमा देउवा नरम देखिँदा पौडेल भने गरम देखिए। उनले प्रधानमन्त्री दाहाल माथि प्रश्नैप्रश्न तेर्साए। उनले पहिलेकै गठबन्धनमा फर्कन पर्ने भए पुस १० मा एमालेसँग किन सहमति गरेको? भनेर प्रश्न गरेका थिए। उनले पहिलो पटक विश्वासको मत लिएको दुई महिना १० दिनमै विश्वासको मत लिन प्रधानमन्त्री उपस्थित भएको भन्दै संसद्को विजनेश यति मात्र हुने त होइन भन्दै प्रश्न गरेका थिए।
‘तपाईंलाई त्यस्तो के कारण पर्‍यो? जुन कारण त्यो सहयात्राबाट आज यो सहयात्रामा फर्किनुभएको छ। तपाईंलाई यही सहयात्रामा जानु थियो भने पुस १० गते त्यो सहमतिमा किन पुग्नुभयो ? आज जवाफ नदिन सक्नुहुन्छ। तर, तपाईंलाई इतिहासले निरन्तर प्रश्न सोधिरहन्छ।’

पौडेलले एकाध महिनामै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने बताएका थिए। ‘एक–दुई महिनामै प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्छ। म सोध्न चाहन्छु, अर्को चोटि विश्वासको मत लिने कार्यसूची कहिले छ,’ उनले भनेका थिए, ‘यो मुलुकका सामुन्ने अर्को कुनै एजेन्डा छैन। क्षणक्षणमा विश्वासको मत। यो विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको त होइन?’

उनले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको कारण दुनियाँलाई थाहा भएको बताए। प्रधानमन्त्री दाहालले विश्वासको मत माग्दा समर्थन फिर्ता लिनुको कारण निर्णयकर्ताले नै दिनुपर्ने बताएका थिए।

‘नेकपा एमालेले किन समर्थन फिर्ता लियो भन्ने कुरा दुनियाँलाई थाहा छ, सम्पूर्ण नेपालीलाई थाहा छ, सबैभन्दा बढ्ता जानकारी प्रधानमन्त्रीलाई छ,’ उनले भनेका थिए, ‘त्यसकारण उहाँले आफ्नो मनलाई सोधे हुन्छ एमालेले किन समर्थन फिर्ता लियो भन्ने कुरा। नेपालको इतिहासमा परराष्ट्र मन्त्रीप्रति अपमानपूर्ण व्यवहार भएको छ। यो नेपालभित्रको मामिला थिएन, देशको इज्जतसँग जोडिएको विषय थियो।’

पौडेलले बोलेपछि प्रस्तावमा भाग लिने सांसद् घोचपेच र व्यंग्य गर्न तम्सिए। पौडेल लगत्तै रोष्ट्रममा पुगेका नेकपा माओवादी केन्द्रका सचिव समेत रहेका देवेन्द्र पौडेलले अधिकांश समय एमालेलाई जवाफ पर्काउन र आलोचना गर्नमै व्यतित गरे।

उनले प्रधानमन्त्रीलाई सनक चलेको दिन संसद विघटन गर्ने जनादेश नभएको बताए। ५ वर्षसम्म संसद सञ्चालन गरेर देशका समस्या सहमतिका आधारमा हल गर्न प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको प्रस्ताव गरेपनि एमाले नमानेको उनको भनाइ थियो।

उनीभन्दा अगाडि बोलेका एमाले उपाध्यक्ष पौडेलले के परिस्थितिका कारण पुस १० मा भएको सहमति उल्लंघन गरेर प्रचण्ड पुरानै गठबन्धनमा फर्किएको राखेको प्रश्नमा पौडेलले भनेका थिए, ‘दुई पटकसम्म संसद विघटन भयो? कसका कारण विघटन भयो? संविधानमा कहाँ लेखिएको छ?’, उनले भने, ‘सर्वोच्चले गल्ती भयो भनेर सच्याइदियो। अनि माननीयहरु यहाँ आएर बोल्नुहुन्छ, मैले त बहादुरी गरेँ। त्यसका निम्ति लाहाछाप लगाउन यो प्रतिनिधिसभा आएको हो र? यही कारण परिस्थिति फरक पर्‍यो।’

जनमतका हिसाबले एमाले पहिलो दल भएको भनेर उपाध्यक्ष पौडेलले पटक-पटक जिकिर गरेपछि माओवादी सचिव पौडेल असन्तुष्ट सुनिए। एमाले उपाध्यक्ष पौडेलमाथि निशाना साँध्दै उनले भनेका थिए, ‘नेकपा एमालेसँग मेरो एउटा अनुरोध छ। नेपाली कांग्रेस भन्ने पार्टी पनि यो सदनको पहिलो पार्टी हो, भन्ने कुरा तपाईंहरूले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ?’

सदनको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता डोलप्रसाद अर्यालले एमाले अध्यक्ष ओलीलाई धन्यवाद दिँदै दाहाललाई समर्थन गर्ने घोषणा गरे। पार्टी अप्ठ्यारो पर्दा साथ दिएको भन्दै उनले ओलीलाई धन्यवाद दिएका थिए।

एमाले हाम फालेर भागेको भन्दै यादवको व्यंग्य
जनता समाजवादी पार्टी(जसपा) का सांसद प्रदीप यादवले कांग्रेस टीटीका रूपमा सत्तामा आउने भएपछि एमाले हामफालेर भागेको भन्दै व्यंग्य गरे। उनले रक्सौलबाट दिल्ली जाने सत्याग्रह एक्सप्रेसको उदाहरण दिँदै एमालेमाथि व्यंग्य कसेका थिए।

उनको व्यंग्य उनकै शब्दमा:
म सीमाक्षेत्रको सांसद हुँ। सीमानजिकै भारतीय रेल चल्छन्। मलाइ एउटा कहानी याद आयो। किनकी आजको प्रसंग र यो कहानी मिल्छ। रक्सौलबाट सत्याग्रह एक्सप्रेस चल्छ। त्यो नयाँदिल्ली जान्छ। सत्याग्रह प्रचण्डजीले चलाइरहनु भएको छ। रेलमा धेरै यात्रु सवार थिए।

रेलमा एसी, स्लिपर र जनेरल कक्ष छन्। सबै आ-आफ्ना ठाउँमा बसेर यात्रा गर्न तयार छन्। टीटीवाला आएर सबैको टिकट चेक गर्छ। कहिलेकाहीँ जनरलवालाहरु एसीमा गएर बस्छन्। कुनै स्लिपरवाला एसीमा गएर बस्न सक्छन्। टीटी कडा पर्‍यो भने यस्तो ठाउँ साट्ने यात्रुहरू दौडिरहेकै रेलबाट हाम फाल्छन्।

प्रचण्डको सरकार ठीकै ढंगबाट चलिरहेको थियो। यसमा सबै बसिरहेकै थिए। उहाँहरू जनरलबाट आएर एसीमा बस्नु भएको थियो। कांग्रेस टीटी भएर कडा रूपमा प्रस्तुत भयो। कांग्रेस आउनसाथ एमाले डराएर हाम फालेर भाग्यो। अब गर्ने के त?

प्रचण्डलाई गाडी फेरिरहने ड्राइभरको संज्ञा दिँदै लिङ्देनको पेस्की माग
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई गाडी फेरिरहने ड्राइभरको संज्ञा दिए। प्रचण्डले पुस १० मा एमालेसँग सहमति गरेको र दुई महिना नपुग्दै तोडेकोप्रति व्यंग्य गर्दै उनले गाडी फेरिरहने ड्राइभरको संज्ञा दिएका हुन्।

‘गाउँघरमा कहिलेकाँही यस्तो ड्राइभर भेन्टिन्छ, छिनछिनमा गाडी फेरिराखेको हुन्छ। कहिले कसको गाडी चलाइराखेको हुन्छ, कहिले कसको चलाइराखेको हुन्छ। मान्छेहरुले भन्छ, यो टिकाउ छैन, गाडी फेरिराख्छ, धेरै दिन बस्दैन,’ उनले थपे, ‘कहिले काँही त्यस्तो धेरै गाडी फेरिराख्ने ड्राइभर धेरै ठाउँको अनुभवले नयाँ गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ।’

अनुभवी ड्राइभर छ भनेर राप्रपाले यसपटक प्रचण्डलाई हाइड्रोजन गाडी दिएको तर स्टार्ट नहुँदै हाम फालेको भन्दै व्यंग्य कसे। ‘यो चोटि राप्रपाले केही थान मन्त्रालय लिएर सरकारमा सहभागी हुने मनसाय राखेको थिएन। तर यस्तै गाडी फेरिराख्ने ड्राइभर तपाईंहरुको गाडी चलाउँछु भनेर आएपछि अनुभवी ड्राइभर छ, लाइसेन्स पनि भएको भनेर हाइड्रोजन गाडी दियौं। हाइड्रोजन गाडी स्टार्ट नहुँदै ड्राइभर हामफालेर तट् म त पुरानै गाडी चलाउँछु भनेर हिडेपछि (हाँस्दै) अब हामीले के गर्ने?’ उनले भने, ‘अब राप्रपाको अवस्था त यस्तो भयो कि गाडी छ, चलाउने सिप पनि छ, लाइसेन्स छैन। कुर्नुपर्ने भयो। धेरै भन्नु छैन, प्रधानमन्त्रीजीलाई अर्को यात्राका लागि शुभकामना छ।’

राजेन्द्र लिङ्देन

लिङ्देनले बोल्दै गर्दा सभामुख देवराज घिमिरेले अभिव्यक्ति छोट्याउन आग्रह गरे। सभामुखको आग्रह लगत्तै लिङ्देनले अभिव्यक्ति छोट्याउने वाचासहित २ मिनेट समय पेस्की दिन आग्रह गरेका थिए। त्यो पनि सभामुख घिमिरेसँग छिमेकीको साइनो जोडेर।

‘म छोट्याउँछु। अर्को दिनको २ मिनेट पेस्की लिइराख्नुपर्‍यो। हामी छिमेकी हौं,’ लिङ्देनले भने। सभामुख घिमिरे र लिङ्देन झापाकै हुन्।

लिङ्देनले बोल्न आफूलाई ७ मिनेट समय दिएकोमा पनि असन्तुष्टि जनाएका थिए। ‘७ मिनेट समय दिँदा चित्त बुझेको थिएन। पहिले राप्रपाबाट १ जना मात्रै सांसद हुँदा पनि ५/८ मिनेट समय पाउथेँ। अहिले १४ जना भएर आउँदा पनि ७ मिनेट, यो के विधिले निर्धारण भयो?’

प्रचण्ड बालकोटबाट फर्किएपछि मत दिने निर्णय गर्‍यौँ : चित्रबहादुर
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालकोटबाट फर्किएका कारण विश्वासको मत दिने तर्क गरे। पुस २६ गते विश्वासको मत नदिएका केसीले छलफलमा भाग लिँदै भनेका थिए, ‘पुस १० गते प्रधानमन्त्री बालकोटको सर्मथनमा जानु भएको थियो। संसदका सबैले विश्वासको मत दिँदा हामीले नदिने निर्णय गर्‍यौं। तर, अहिले उहाँ बालकोटबाट पुरानो गठबन्धनमा फर्किनुभएको छ। त्यसैले मत दिने पक्षमा छौं।’

केसी संसद्‌भित्र सबै पार्टीहरुले प्रधानमन्त्रीलाई २ महिनााभित्र सहमति दिएर उत्पात गरे पनि अहिले के भयो? भन्दै केसीले प्रश्न समेत गरेका थिए।

एमालेले सभामुख फिर्ता गरोस् : प्रभु साह
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले एमालेले सभामुख पाउँदा ठिक र कांग्रेसले राष्ट्रपति पाउँदा बेठिक भन्ने नहुने बताए। साहले नेकपा एमालेले सत्तास्वार्थको राजनीति गरेको आरोप समेत लगाए। आफूले राष्ट्रपति नपाउँदैमा एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत फिर्ता लिनु निषेधको राजनीति भएको उनको तर्क थियो। उनले सभामुख पदको नामै नलिइकन प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा पाएको पद फिर्ता गर्न एमालेलाई आग्रह गरे।

प्रभु शाह

‘एमालेले निषेधको राजनीति गरेको छ। आफूले सभामुख पाउँदा सबै ठिक, आफूले राष्ट्रपति नपाउँदै सबै बेठिक भन्ने हुँदैन,’ उनले भने, ‘एमाले साँच्चै निष्ठाको राजनीति गर्छ भने एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा उसले पाएका पदहरू पनि फिर्ता गरोस्।’ साहले भने।

कांग्रेससँग लभ परिहाल्यो: प्रधानमन्त्री
विश्वासको मत माग्ने प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नको उत्तर दिन रोष्ट्रम पुगेका प्रधानमन्त्री प्रचण्डले एमालेसँगको गठबन्धन छाड्नु र कांग्रेसँग सहमति गर्नुको कारण छुटाए। उनले आफू प्रधानमन्त्री माग्दै बालकोट नगएको बरु एमाले नेताहरुले बोलाएको दाबी गरे। एमालेसँगको गठबन्धन टुट्नुको कारण एमाले उपाध्यक्ष पौडेललाई पनि थाहा भएको बताए।

‘शान्ति सम्झौताका मुख्यहस्ताक्षर कर्ता एक ठाउँमा नभइकन यो उपलब्धिको रक्षा नहुने स्थिति आएपछि म निर्णय लिन बाध्य भएको हो। विष्णु पौडेलले भन्नुभयो प्रधानमन्त्रीलाई थाहा छ, आफैंलाई सोध्नुस्। म भन्छु तपाई अर्थमन्त्री हुनुहन्थ्यो, तपाईँलाई पनि थाहा छ, आफैंलाई सोध्नुस्। आफैं भित्र हेर्नुस्,’ उनले भने, ‘म खोज्दै मलाई प्रधानमन्त्री बनाइदिनुस् भन्दै गएको त होइन। तपाईहरुले केही समय देखि बल गर्दै हुनुहुन्थ्यो, आइदिए हुन्थ्यो भनेर। मचाहिँ यतै बल गर्दै थिए। यही गठबन्धन नेचुरल छ भनेर बल गर्दैथिएँ। तपाईँहरु बोलाउँदै आउनुभयो। अनेक गरेर बोलाउनुभयो। के के गर्नु भयो म अहिले भन्दिनँ। कांग्रेसलाई के भन्नुभयो, मलाई के भन्नुभयो। मेरा अरु साथीहरुलाई के भन्नुभयो। बाइ द वे, म जानुपर्ने स्थिति बन्यो। म गएँ।’

उनले दुई महिनामै किन गठबन्धन फेरेको भन्ने प्रश्नमा आफ्नो सोझो हिसाब रहेको बताए। ‘दुई महिनामै किन यस्तो भए भन्ने कुरामा पनि मेरो सोझो हिसाब छ। मेरा लागि शान्ति संविधान यो परिवर्तनको रक्षा मुख्य कुरा हो, प्रधानमन्त्री होइन,’ उनले भने, ‘ओलीजीले लास्टसम्म के चाहियो भन्नुस् भन्नुभएको थियो। मैले राष्ट्रिय सहमितका लागि तपाईँ तयार हुनुहुन्छ भने हामी ठिकै छौं। होइन भने मेरो सम्भव छैन भनेर भनेको हो। नमिलेको एजेन्डा नै हो। नमिलेको विचार र मुद्दा नै हो।’

संसद् विघटन र नेकपा विभाजनको विषयमा एमालेले रियालाइजेसन गरेको भन्ठानेपनि वास्तविकता त्यस्तो नरहेको उनले बताए। ‘विगतमा हामी ठूलो झगडा गरेका पार्टी छौं। फेरी एक ठाउँमा हुँदा हामी अघि जान सक्दैनौं भन्ने भएपछि हिजो भएका वादविवाद र घटनाक्रम २/३ वर्ष थाँती राख्ने भन्ने भएको थियो। एमाले र मुख्य नेतृत्वलाई पनि ‘रिलाइज’ भयो होला भन्ने थियो मलाई,’ उनले भने, ‘म अलि सोझो सोझो छु क्या मान्छे। होला त नी भनेर गएको। तर विश्वासको मत लिँदा उहाँले सगौरव मैले संसद् विघटन गर्नु सही हो। क्यानडामा इंग्लयान्डमा यहाँ पनि शेरबहादुरले गरेको हो भन्नुभयो। त्यही बेला अब यो भंग हुने तिर गयो भन्ने भित्रसम्म पुगिसकेको थियो।’

आफूलाई प्रधानमन्त्री नदिएको विषयमा कांग्रेसले पश्चाताप गरेको र त्यो देखेपछि लभ परेको बताए। ‘नेपाली कांग्रेस भित्र प्रचण्डलाई छाठेर त्रुटी भएछ भनेर पश्चताप गरेको देखेपछि त मेरो लभ यता परिहाल्यो,’ उनले भने, ‘त्यो लभ प्रधानमन्त्रीका लागि परेको होइन है। त्यो लभ एजेन्डाका लागि परेका थियो। यो गठबन्धन टिक्ने प्रचुर सम्भावना छ। किन कि एजेन्डामा समानता छ।’

आफूलाई प्रधानमन्त्री बनाएकामा उनले एमाले अध्यक्ष केपी ओलीलाई आभार व्यक्त गरे। आफूले पनि ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको भन्दै प्रचण्डले अगाडि भने, ‘तपाईँले मलाई ऋण तिनुपर्ने थियो, तिर्नुभयो। एउटा त तिर्नुभयो, एउटा बाँकी छ। हिसाब राख्नुहोला।’

प्रचण्डले गठबन्धन टुट्ने बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको सम्वाद सुनाए। राष्ट्रपतिको उम्मेदवारी मनोनयन (१३ फागुन) अघि प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पटक-पटक सम्वाद गरेका थिए। अन्तिम अन्तिमको छलफलमा आफूले दुबै जना मिलेर कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव राख्दा ओलीले अस्वीकार गरेको प्रचण्डले सुनाए।

ओलीले आफूलाई धेरै ठूलो शिक्षासमेत दिएको उनको भनाइ थियो। ‘उहाँले मलाई पटक–पटक तपाईं वैशाखभन्दा उता जानुहुन्न। वैशाखमा राष्ट्रपतिको बायाँपट्टि लबीमा तपाई र म एकै ठाउँमा हुन्छौं भन्नुभएको छ,’ उनले भने।

दाहालले पाए विश्वासको मत
सोमबारको प्रतिनिधि सभा बैठका आफूलाई विश्वासको मत प्राप्त होस् भनी प्रधानमन्त्री दाहालले पेस गरेको प्रस्तावको पक्षमा १७२ मत र विपक्षमा ८९ मत परेको थियो। उक्त प्रस्तावमा एक जना सांसदले भने मत दिएनन्। आजको बैठकमा जम्मा २६२ जना सांसद उपस्थित थिए।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिए।

नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरे। यसअघि पुस २६ गते पनि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएका थिए।

प्रकाशित: २०७९ चैत ६ गते सोमबार ०७:३०
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना