काठमाडौँः बैंकिङ क्षेत्रमा पछिल्लो समय कर्जा विस्तार सुस्त हुनुका साथै लगानी भइसकेको कर्जा असूली चुनौतीपूर्ण बन्दै गएको छ। आर्थिक गतिविधिमा आएको सुस्तता, व्यवसायमा देखिएको दबाब र ऋणीको वित्तीय अनुशासन कमजोर हुँदा बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीमा समस्या भोगिरहेका छन्।
बैंकिङ प्रणालीलाई स्वस्थ, सुरक्षित र मर्यादित बनाउन बैंक तथा वित्तीय संस्थाको नियमन र निगरानी मात्र पर्याप्त नहुने बैंकरहरूको भनाइ छ। कर्जा लिने ऋणी पनि उत्तिकै जिम्मेवार र वित्तीय रूपमा अनुशासित हुनुपर्ने उनीहरूको जोड छ।
बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंकको नियमन र निर्देशनअनुसार सञ्चालन हुँदै आएका छन्। तर, बैंकबाट कर्जा लिएपछि त्यसको सही सदुपयोग नगर्ने, तोकिएको प्रयोजनभन्दा अन्य क्षेत्रमा लगानी गर्ने तथा समयमै साँवा–ब्याज भुक्तानी नगर्ने प्रवृत्तिले बैंकिङ क्षेत्रमा समस्या बढाउने गरेको बैंकरहरू बताउँछन्।
एक बैंकरका अनुसार ऋणीले जुन उद्देश्यका लागि कर्जा लिएको हो, त्यही क्षेत्रमा लगानी गरेर व्यवसाय सञ्चालन गर्ने र समयमै कर्जा भुक्तानी गर्ने हो भने खराब कर्जाको जोखिम उल्लेख्य रूपमा घटाउन सकिन्छ।
‘बैंकिङ क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन राष्ट्र बैंक र बैंकहरू मात्र अनुशासित भएर पुग्दैन, सबैभन्दा पहिले कर्जा लिने ऋणी स्वयं अनुशासित हुन जरुरी छ। ऋणीले वित्तीय अनुशासन पालना गर्ने, लिएको ऋण सही ठाउँमा सदुपयोग गर्ने र आफ्नो दायित्व समयमै पूरा गर्ने हो भने अहिले देखिएका धेरै वित्तीय समस्या स्वतः कम हुँदै जान्छन्,’ ती बैंकरले नेपाल क्लिक्ससँग भने।
कर्जा असुलीमा बढ्दो दबाब
पछिल्लो समय आर्थिक गतिविधि सुस्त हुँदा व्यवसायी तथा ऋणीले अपेक्षित आम्दानी गर्न नसकेको र त्यसको असर कर्जा भुक्तानीमा परेको बैंकरहरू बताउँछन्। नयाँ कर्जा माग तथा लगानी विस्तार सुस्त भइरहेका बेला पुरानो कर्जा असुली बैंकहरूका लागि थप चुनौती बनेको छ।
बैंकका कर्मचारी कर्जा असुलीका लागि ऋणीको घर तथा व्यवसायमा पुग्दा कतिपय ऋणीले असहज व्यवहार गर्ने गरेको समेत बैंकरहरूको भनाइ छ। केही अवस्थामा त किस्ता तथा ब्याज भुक्तानीका लागि ताकेता गर्न पुगेका बैंक कर्मचारीलाई आत्मदाह वा आत्महत्याको धम्कीसम्म दिने अवस्था देखिएको उनीहरू बताउँछन्।
यस्तो प्रवृत्तिले कर्जा असुलीको सामान्य प्रक्रियासमेत जटिल बनाउने र बैंक तथा ऋणीबीचको सम्बन्धमा थप तनाव सिर्जना गर्ने बैंकरहरूको भनाइ छ। उनीहरूका अनुसार आर्थिक समस्या परेको अवस्थामा ऋणीले बैंकसँग समन्वय गरेर पुनर्संरचना, पुनर्तालिकीकरण वा अन्य उपलब्ध विकल्पबारे छलफल गर्नुपर्ने हुन्छ।
ऋणीको वित्तीय चेतना बढाउनुपर्ने
बैंकिङ क्षेत्रमा देखिएको समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने बैंकरहरूको सुझाव छ।
राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयमार्फत नियमित रूपमा वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरी ऋणीलाई कर्जा लिँदा अपनाउनुपर्ने सावधानी, कर्जाको सही सदुपयोग, नियमित किस्ता भुक्तानी र वित्तीय दायित्वबारे जानकारी दिनुपर्ने उनीहरूको भनाइ छ।
‘राष्ट्र बैंकले आफ्ना प्रदेशस्थित कार्यालयमार्फत वित्तीय सचेतनामूलक कार्यक्रम अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्छ। ऋणीको सोचमा पनि परिवर्तन आवश्यक छ। मैले लिएको ऋण तिर्नुपर्छ, यो बैंकको पैसा हो र मैले काम गरेर कमाएको आम्दानीबाट आफ्नो दायित्व पूरा गर्नुपर्छ भन्ने भावना विकास गर्नुपर्छ,’ ती बैंकरले भने।
उनका अनुसार ऋणीमा वित्तीय अनुशासन बढाउन सके बैंक र ग्राहकबीचको सम्बन्ध थप सुमधुर हुनुका साथै खराब कर्जाको जोखिमसमेत घटाउन सकिन्छ।
खराब कर्जा बढ्दै
नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जाको दबाब पछिल्लो समय बढ्दै गएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरूको औसत खराब कर्जा अनुपात ५.४४ प्रतिशत पुगेको छ। बैंकहरूले सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि तीन खर्ब रुपैयाँभन्दा बढी रकम प्रोभिजन छुट्याइसकेका छन्।
खराब कर्जा बढ्दा बैंकहरूको नाफामा प्रत्यक्ष दबाब पर्नुका साथै नयाँ कर्जा प्रवाह गर्ने क्षमता पनि प्रभावित हुन सक्छ। बैंकहरूले कर्जा नोक्सानी व्यवस्थापनका लागि ठूलो रकम छुट्याउनुपर्दा लगानीयोग्य स्रोतमा समेत दबाब पर्ने देखिन्छ।
बैंक र ऋणी दुवै जिम्मेवार हुनुपर्ने
बैंकरहरूका अनुसार बैंकिङ प्रणालीमा देखिएका सबै समस्या बैंकको मात्र जिम्मेवारीका रूपमा हेर्नु उचित हुँदैन। बैंकले पनि कर्जा प्रवाह गर्दा ऋणीको क्षमता, व्यवसायको सम्भाव्यता, नगद प्रवाह र कर्जाको प्रयोजनलाई पर्याप्त रूपमा मूल्यांकन गर्नुपर्ने हुन्छ। त्यस्तै ऋणीले पनि कर्जा लिएपछि त्यसको सही उपयोग, व्यवसाय सञ्चालन र समयमै भुक्तानीलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ।
बैंकले जिम्मेवार ढंगले कर्जा प्रवाह गर्ने र ऋणीले वित्तीय अनुशासन कायम गर्ने हो भने खराब कर्जा घटाउन सकिने तथा बैंकिङ प्रणालीप्रतिको विश्वाससमेत बलियो हुने बैंकरहरूको धारणा छ।
अहिलेको अवस्थामा कर्जा विस्तार बढाउनु मात्र नभई लगानी भइसकेको कर्जा सुरक्षित रूपमा उठाउने, ऋणीको क्षमता अभिवृद्धि गर्ने र वित्तीय अनुशासन कायम गर्ने विषयलाई समान प्राथमिकता दिनुपर्ने देखिएको छ। यसका लागि नियामक निकाय, बैंक तथा वित्तीय संस्था र ऋणी तीनै पक्षबीच समन्वय आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।