काठमाडौँः खाना पकाउने एलपी ग्यासको अभावका कारण काठमाडौँका होटल तथा रेस्टुरेन्ट व्यवसाय संकटमा पर्न थालेका छन्। ग्यास नपाउँदा कतिपय व्यवसायीले मेनुबाट ग्यास बढी खपत हुने परिकार हटाएका छन् भने केहीले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन्।
काठमाडौँमा ग्यासको अभाव हुँदा सामान्य खाजा पसलदेखि ठूला होटलसम्मलाई सेवा सञ्चालन गर्न कठिन भएको व्यवसायीहरूको भनाइ छ।
नयाँ बानेश्वरस्थित तुफानी पिज्जाका सञ्चालक माधव नेपालले ग्यास अभावका कारण व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए। काठमाडौँमा ग्यास किन्न नपाएपछि आफ्नै खर्चमा वीरगन्जबाट ग्यास ल्याउनुपरेको उनको भनाइ छ। ‘हिजो राति मात्रै वीरगञ्जबाट केही सिलिन्डर ल्याएर व्यवस्थापन गर्यौँ। काठमाडौँमा होटल रेस्टुरेन्टले ग्यास सिलिन्डर किन्न नपाएपछि अवस्था झन् जटिल बनेको छ,’ उनले भने।
मूलघर ममका सञ्चालक नन्दु आचार्यले अहिले अन्य खाजा बिक्री नै रोकिसकेको बताए। ‘ग्यास पाइएको छैन। ग्यासै नभएपछि पसल चल्ने कुरा भएन। इन्डक्सनमा चिया बनाएर भने बेचिराखेका छौँ, बाँकी पसल बन्द जस्तै छ,’ उनले भने।
अनामनगरस्थित एक भान्साघरका सञ्चालकले खाना खान आउने ग्राहकलाई पनि फर्काउन परिरहेको बताए। मेनुमा भएकै परिकार पनि ग्यास अभावले पकाएर दिन नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।
‘ग्राहकहरूले चाहेअनुसार मेनुमा उपलब्ध भएकै परिकार पनि उपलब्ध गराउन नपाउँदा दु:ख लागेको छ,’ परिचय उल्लेख नगर्ने सर्तमा उनले भने, ‘एक–दुई दिनभित्र कतै सिलिन्डर उपलब्ध नभए त्यो पनि बन्द गर्नुपर्ने अवस्था आएको छ।
पुरानो बानेश्वरमा खाजा पसल सञ्चालन गर्दै आएका एक व्यवसायी पनि एक सातादेखि ग्यास खोज्न डिलर धाइरहेका छन्। ग्यास नपाएपछि उनले मःम, चाउमिन, आलु, चना लगायत परिकार बनाउन छाडेका छन्।
‘ग्यासको धेरै समस्या भयो। मेनुमा भएका सबै खानेकुरा पकाउन छोडेको छु। अहिले चिया र चुरोट बेचेर बसेको छु। व्यवसाय नै डामाडोल भयो। एक सातादेखि डिलर धाइरहेको छु, भोलि ग्यास आउँछ भनेका छन्, हेरौँ पाइन्छ कि पाइँदैन,’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने।
ग्यास अभावका कारण व्यवसायीले ग्राहकको अर्डर सीमित गर्न थालेका छन्। ग्यास बढी खपत हुने परिकार मेनुबाट हटाउने, खाना पकाउने समय घटाउने र वैकल्पिक इन्धन प्रयोग गर्ने प्रयास भइरहेको उनीहरू बताउँछन्। कतिपय व्यवसाय बन्द भइसकेका छन् भने सञ्चालनमा रहेकाहरू पनि जुनसुकै बेला सेवा रोक्नुपर्ने अवस्थामा पुगेका छन्।
ग्यास अभावलाई ध्यानमा राख्दै नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा रोक लगाएर घरायसी उपभोक्तालाई प्राथमिकता दिने निर्णय गरेको थियो। निगमले व्यवसायीले आवश्यक ग्यास तराईका उद्योगबाट आफैँ ल्याउन सक्ने बताएपछि होटल तथा रेस्टुरेन्ट व्यवसायीले आपत्ति जनाएका थिए।
त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले होटल तथा रेस्टुरेन्ट व्यवसायीसँग छलफल गरेकी थिइन्। उक्त छलफलमा व्यवसायीलाई ग्यास उपलब्ध गराउने आश्वासन दिइएको होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताए।
‘हामीले राज्यबाट आशा गर्ने हो। राज्यले नै ग्यास नदिएपछि हामीले कहाँबाट ल्याउने ? कर्मचारीलाई कसरी पाल्ने ? मन्त्रीसँगको छलफलमा ग्यास पाउनुहुन्छ भन्नुभएको छ। हामी ग्यासको सबैभन्दा ठूलो ग्राहक हौँ, तर अहिले ग्यास नपाएर व्यवसाय नै संकटमा परिसकेको छ,’ शाहले भने।
यता, नेपाल आयल निगमले भने वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति भइरहेको जनाएको छ। धादिङको कृष्णभिर खण्डमा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भए पनि पछिल्लो तीन दिनमा ८७ हजार ८७७ एलपी ग्यास सिलिन्डर काठमाडौँ उपत्यका भित्रिएको निगमको तथ्यांक छ।
निगमका अनुसार १८ भदौमा २४ हजार ४९४, १९ गते ३४ हजार १३४ र २० गते २९ हजार २४९ सिलिन्डर काठमाडौँ ल्याइएको हो। सडक अवरुद्ध रहेसम्म तराईका उद्योगमा ग्यास रिफिल गरी वैकल्पिक मार्गबाट आपूर्ति जारी राखिने निगमले जनाएको छ।
निगमले वैकल्पिक व्यवस्थाबाट ग्यास आपूर्ति भइरहेकाले उपत्यकामा ग्यासको अभाव नहुने दाबी गरेको छ। तर व्यवसायीहरूले भने नियमित र पर्याप्त आपूर्ति नभए होटल तथा रेस्टुरेन्टको सञ्चालन थप प्रभावित हुने बताएका छन्।


