काठमाडौँः एम.भी. दुगड ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ग्रुपले उक्त सहयोग गरेको हो ।
ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड र सञ्चालक शुभम दुगडले संयुक्त रूपमा अर्थमन्त्रीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। उक्त सहयोग रकममा एम.भी. दुगड ग्रुप र ग्रुपको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको ऐच्छिक आर्थिक सहयोग समेत समावेश गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विपदको घडीमा नागरिकलाई तत्काल राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको ग्रुपले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “विपदको सामना गर्न नेपाल सरकारसँग हातेमालो गर्दै मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्न एम.भी. दुगड ग्रुप सदैव प्रतिबद्ध रहेको छ ।”
यसैगरी, ग्रुपले जलवायु परिवर्तन र ग्लोबल वार्मिङको असरलाई कम गर्न विगतका वर्षदेखि नै वृक्षारोपण कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जानकारी दिएको छ । वि.सं. २०७८ सालदेखि हालसम्म देशव्यापी रूपमा ३ लाखभन्दा बढी बोटबिरुवा रोपेको र राजमार्गका खण्ड, विद्यालय तथा प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलका बिरुवा रोपी संरक्षण गरिएको ग्रुपले बताएको छ । एम.भी. दुगड ग्रुपले आगामी दिनमा पनि यस्ता सामाजिक र वातावरणीय कार्यहरूलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।