काठमाडौं । ललितपुरको नखीपोटस्थित ‘श्री कृष्ण नर्सरी’मा प्रवेश गर्नेबित्तिकै रंगीचंगी फूल र विभिन्न प्रजातिका बिरुवाले जोकोहीको मन लोभ्याउँछन्।
यही हरियालीलाई आफ्नो जीवनको आधार बनाएका छन् गोदावरी नगरपालिका–१३ का कृष्णप्रसाद दाहालले । करिब २२ वर्षदेखि नर्सरी व्यवसायमा सक्रिय उनी आज आफ्नै मेहनतबाट आत्मनिर्भर उद्यमीका रूपमा स्थापित भएका छन्।
सरुवाती दिनहरुमा दाहालको यात्रा सहज थिएन । आफ्नै व्यवसाय सुरु गर्नुअघि उनले अरूको नर्सरीमा काम गरेर बिरुवा उत्पादन, हेरचाह र बजार व्यवस्थापनको अनुभव बटुलेका थिए।
त्यसपछि २०७४ सालमा करिब ८ देखि १० लाख रुपैयाँ लगानी गरेर आफ्नै ‘श्री कृष्ण नर्सरी’ सुरु गरे । अहिले उनको नर्सरीमा मौसमी फूल, इन्डोर र आउटडोर प्लान्ट, फलफूलका बिरुवा तथा तरकारीका बेर्नासमेत उपलब्ध छन्।
उनका अनुसार मौसमी फूलको माग सबैभन्दा बढी हुने गर्छ । बिक्री नभएका साना बिरुवालाई ठूलो गमलामा सारेर मल, पानी र नियमित हेरचाह गर्दै हुर्काउने र पछि बिक्री गर्ने उनको आफ्नै व्यवसायिक शैली छ।
ग्राहकको आवश्यकताअनुसार अन्य ठाउँबाट बिरुवा मगाएर उपलब्ध गराउनेदेखि गुणस्तरअनुसार मूल्य निर्धारण गर्नेसम्मको जिम्मेवारी उनी आफैँ सम्हाल्छन्।
दाहालका अनुसार स्थानीय जातका बिरुवा तुलनात्मक रूपमा सस्ता हुन्छन् भने हाइब्रिड र उत्कृष्ट जातका बिरुवाको मूल्य बढी पर्छ। बिरुवा खरिद गर्दा मूल्यभन्दा पनि त्यसको स्वास्थ्य र गुणस्तरलाई प्राथमिकता दिनुपर्ने उनी सुझाव दिन्छन्।
दैनिक कारोबार निश्चित नहुने भए पनि औसतमा १५ देखि २० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको उनी बताउँछन्। मौसमी फूलका बेर्ना आफैँ उत्पादन गर्ने उनले अन्य अधिकांश बिरुवा नेपालका तराई क्षेत्र र भारतबाट ल्याउँछन् भने केही विशेष प्रजातिका बिरुवा तथा सामग्री हल्यान्ड र चीनबाट समेत आउने गर्छन्।
व्यवसायमा चुनौती पनि कम छैनन्। जग्गा भाडा, कर्मचारीको तलब, मल, पानी र बिजुलीको खर्च नियमित रूपमा व्यहोर्नुपर्छ। कहिलेकाहीँ लागतभन्दा कम मूल्यमा बिरुवा बिक्री गर्नुपर्ने अवस्था आउने गरेको उनी सुनाउँछन् । करिब १० देखि १५ प्रतिशत बिरुवा नोक्सान हुने भए पनि अन्य बिरुवाको बिक्रीबाट त्यसलाई सन्तुलन मिलाउँदै आएको उनको अनुभव छ।
दाहालका लागि सबैभन्दा ठूलो उपलब्धि भनेको यही व्यवसायबाट परिवारको जिम्मेवारी पूरा गर्न सक्नु हो। यही पेसाबाट उनले छोराछोरीको शिक्षा र घरपरिवारका आवश्यकताहरू पूरा गरेका छन् । बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म नर्सरीमै खटिने उनको दिनचर्याले मेहनत र लगावको कथा बोल्छ।
‘बिरुवा बेच्नु भनेको व्यापार मात्र होइन, मानिसको घर, आँगन र वातावरणलाई हरियाली बनाउने काम पनि हो,‘ उनी भन्छन्। स्नेक प्लान्ट, पिस लिली र एरिका पामजस्ता इन्डोर बिरुवाले घरलाई आकर्षक बनाउनुका साथै हावाको गुणस्तर सुधार्न पनि सहयोग गर्ने भएकाले घरमा हरियाली बढाउन उनी सबैलाई आग्रह गर्छन्।
कृषि पेसालाई पुर्खाबाट प्राप्त विरासतका रूपमा लिएका दाहाल नयाँ पुस्तालाई विदेश जानुलाई मात्र सफलताको बाटो नठान्न आग्रह गर्छन्। प्रविधि र आधुनिक शिक्षाप्रतिको आकर्षण स्वाभाविक भए पनि पुष्प तथा नर्सरी व्यवसायमा मेहनत, धैर्य र बजारको माग बुझ्न सके स्वदेशमै राम्रो सम्भावना रहेको उनको विश्वास छ।
बिरुवा खरिद गर्दा अनलाइनमा देखिएको मूल्यमा मात्र भर नपरी नर्सरीमै पुगेर स्वस्थ र गुणस्तरीय बिरुवा छनोट गर्नुपर्ने उनको सुझाव छ। माटोसँग जोडिएर निरन्तर मेहनत गर्ने हो भने आफ्नै देशमै सम्मानजनक आम्दानी र सन्तुष्ट जीवन सम्भव छ भन्ने उदाहरण बनेका छन् कृष्णप्रसाद दाहाल।