काठमाडौँ: एलपी ग्यास उद्योगीहरूले ग्यास अभावको विषयमा उद्योगीहरूलाई दोषी देखाउने गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। एलपी ग्यास उद्योग संघ नेपालले मन्त्रीको अभिव्यक्ति गैरलोकतान्त्रिक, गैरजिम्मेवार, अमर्यादित तथा अशोभनीय भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले प्राकृतिक विपत्तिका समयमा समेत उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन उद्योगीहरू अहोरात्र खटिरहेको दाबी गरेको छ। संघका अनुसार पछिल्लो ग्यास अभावको अवस्था सिर्जना हुनुमा उद्योगी मात्र जिम्मेवार नभई आधा सिलिन्डर अर्थात् ७.१ केजी ग्यासको व्यवस्था चार महिनासम्म निरन्तरता दिइनु, पूर्ण सिलिन्डरमा फर्कन गरिएको अनुरोधको बेवास्ता, ग्यास आयातमा उचित तदारुकता नदेखाइनु, पूर्ण सिलिन्डर लागू भएपछि सिलिन्डरको माग अचानक बढ्नु तथा पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ग्यास बुलेट ढुवानी प्रभावित हुनुजस्ता कारण पनि जिम्मेवार छन्।
संघले आफूहरूले नेपाल आयल निगमसहित सम्बन्धित निकायलाई वर्तमान अवस्थाको आकलन गरी निर्णय परिमार्जन गर्न निरन्तर आग्रह गरे पनि त्यसतर्फ पर्याप्त ध्यान नदिइएको जनाएको छ।
कुनै उद्योगले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भएमा सम्बन्धित पक्षमाथि कानुनबमोजिम कारबाही गर्न आफूहरू तयार रहेको संघले स्पष्ट पारेको छ। तर, बिना प्रमाण ग्यास उद्योगीलाई दोषी देखाउँदै भौतिक कारबाहीको संकेत दिने अभिव्यक्ति अत्यन्त आपत्तिजनक भएको संघको भनाइ छ।
