काठमाडौँ: मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। प्रधानमन्त्रीसहित नेपाली प्रतिनिधिहरूको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने भ्रमण स्वीकृत भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
प्रधानमन्त्री शाह असोज ६ गतेदेखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दैछन्।
यस्तै सरकारले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति (आईजीएससी) को बैठकमा सहभागी हुन नेपाली वार्ताटोली गठन गर्ने निर्णय पनि गरेको जानकारी उनले दिए।
गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन (मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी) विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ।
भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा विभिन्न पाँच जिल्लाका गरिब घरपरिवारको सूची स्वीकृत गर्ने, शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीमा अध्यक्षमा डा.हरिप्रसाद लम्साल र सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे (रिमाल) लाई नियुक्त गर्ने निर्णय भएको पोखरेलले बताए।
यस्तै सहसचिव विनोदबहादुर कुँवरलाई सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने तथा सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिव पदमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।