काठमाडौं – भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिपबाट नेपाल बाहिरिसकेको छ। साफको सुरुआतका दुवै खेलमा हार बेहोरेपछि नेपाल साफबाट बाहिरिएको हो।
साफअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। यो खेलले प्रतियोगितामा केही असर नगर्ने भएकाले खेल औपचारिक मात्र हुनेछ। किनभने नेपाल र पाकिस्तान दुवै टिम प्रतियोगिताबाट बाहिरिसकेका छन्। र यो खेल प्रतिष्ठाको लडाईं मात्र हुनेछ।
बैंगलोरस्थित श्री कांतिराव रंगालामा भएको खेलमा नेपालले कुवेतसँग ३–१ को हार बेहोरेको थियो। त्यस्तै, साविक उपविजेता समेत रहेको नेपालले यो संस्कणमा भने समूह चरणबाटै बाहिरिएको हो।
दिउँसो पौने चार बजे सुरु हुनेअन्तिमा खेलमा भने नेपालले पाकिस्तानलाई हराउने योजना बनाएको छ। ‘हामी बाहिरिएका छौं। तर अन्तिम खेलमा हामी जित निकालेर प्रतियोगिताको अन्त्य गर्नेछौं,’ भारतसँग २–० को हार बेहोरेपछि नेपाली टिमका प्रशिक्षक एनेसले भनेका छन्।
समूह ए मा रहेको नेपालले दुई खेलमा हार बेहोरेर तेस्रो स्थानमा चित्त बुझाएको छ। त्यस्तै, पाकिस्तान भने गोलअन्तरमा पछि पर्दै तालिकाको चौथौ स्थानमा रहेको छ। दुवै टिम अंकविहिन रहेका छन्,।
यता कुवेत र भारतले भने नेपाललाई हराएका छन्। दुवै देशसँग पाकिस्तानले समान ४–० गोलको हार बेहोरेको थियो। प्रतियोगितामा अहिलेसम्म पाकिस्तानले आठ गोलको सामना गर्दा एक गोल पनि गर्न सकेको छैन। नेपालले भने पाँच गोल बेहोरेर एक गोल फर्काउन सफल भएको छ।
समूह ए बाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। कुवेत ६ अंक जोडेर शीर्ष र ६ अंक जोडेको भारत दोस्रो स्थानमा छ। यही समूहको खेलमा आजै कुवेत र भारत पनि भिड्ने छन्। दुई टोलीबीचको खेलपछि समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ।
इतिहासमा नेपाल र पाकिस्तानले धेरै खेलमा प्रतिस्पर्धा गरेको कारण यि दुई टिम फुटबलमा चिरपरिचित प्रतिद्वन्दी हुन्। नेपालले अहिलेसम्म पाकिस्तानसँग १७ खेलमा प्रतिस्पर्धा गरेको छ। तर नेपालले पाँच खेलमा मात्र जित निकालेको छ।
नेपालविरुद्ध पाकिस्तानले साच खेल जितेको छ भने पाँच खेल बराबरी भएका छन्। यि दुई टिमले सन् १९८५ देखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न थालेका हुन्। उनीहरुको पहिलो खेल २–२ गोलको बराबरीमा रोकिएको थियो।
यता पछिल्लो पटक भने यि दुई टिमले काठमाडौंको दशरथ रंगशालामा प्रतिस्पर्धा गरेका थिए। सो खेलमा नेपालले संघर्षपूर्ण जित निकालेका थिए।
गत कार्तिकमा भएको खेलमा नेपालले पाकिस्तानलाई हराउँदा अन्जन विष्टले गोल गरेका थिए।


