२०८३ भदौ ३० गते मङ्गलबार

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

 |  भवानी भट्ट
Sanket

भवानी भट्ट

काठमाडौँ, भदौ ३०
human

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १२ वर्षीया रमिता (परिवर्तित नाम) पुस, २०८० मा भारत उत्तराखण्डको खटिमास्थित सानीआमाको घरमा गइन्।  शल्यक्रिया गरेर आराम गरिरहेकी सानी आमाको हेरचाह गर्न रमितालाई बुबाआमाले उत्तराखण्ड पठाएका थिए।

तर १२ वर्षकी रमितालाई सानी आमाले उत्तराखण्डकै ४० वर्षका पुरुषसँग विवाह गराइदिइन्।  रमिताको विवाहबारे कञ्चपुरमा रहेका उनका बुबाआमालाई केही पत्तो नै दिइनन्।

विवाहको ९ दिनपछि रमिताले श्रीमान‍्कै फोनबाट आमालाई फोन गरिन्।  आफ्नो अवस्थाबारे सबै बताइन्।  त्यसपछि आमा छोरीलाई खोज्दै बहिनीको घरमा गइन्।  बहिनीलाई लिएर उनी रमिताको घरमा पुगिन्।  छोरीका श्रीमान् र ससुराले विवाह गर्नका लागि पैसा दिएको र उक्त पैसा फिर्ता गरेपछि मात्रै लैजान मिल्ने भनेपछि मात्रै रमिता बेचिएको उनकी आमाले थाहा पाइन्।

विवाहका लागि सानीआमाले लिएको पैसा फिर्ता गरेपछि रमिताले त्यो घरबाट छुटकारा पाइन्।  रमिताकी सानीआमाले विवाह भएकी छोरी घर लैजान नहुने र गाउँमा पनि कुरा काट्ने भएकाले अर्को केटा खोजेर विवाह गरिदिने प्रस्ताव गरिन्।  रमिताकी आमा पनि छोरीको विवाह गर्न राजी भइन्।  त्यसपछि दिदीबहिनीले पैसा लिएर उत्तराखण्डकै धर्मेन्द्र सिंहसँग रमिताको विवाह गराइदिए।

यो थाहा पाएर रमिताका बुबाले छोरीको उद्धारका लागि माइती नेपालसँग सहयोग मागे।  माइती नेपाल र सुरक्षाकर्मीसहितको टोलीले फागुन १७, २०८० मा रमितालाई उद्धार गरेर घर ल्यायो।  आमा र सानीआमा दुवैलाई प्रहरीले पक्राउ गरेको थियो।  पीडित रमिताका तर्फबाट दुवै जनाविरुद्ध कुनै उजुरी दर्ता भएन र मुद्दा चलेन।

“आफ्नै आमा र सानीआमाका नाममा कसरी मुद्दा दिने भन्दै रमिता र उनका बुबाले जाहेरी दिएनन्,” माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, “पैसा खाएर १२ वर्षकी बालिकाको विवाह गरिएको छ, एउटा घरबाट ल्याएपछि फेरि अर्काे घरमा विवाह गरिएको छ, तर पनि तिनीहरूलाई त्यतिकै छाड्नुपर्ने भयो। ”

यो घटनामा मात्र होइन, माइती नेपालकी संयोजक महेश्वरीका अनुसार मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्।  आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्।  जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या हुने गरेको छ।

मानव बेचबिखनविरुद्धको अधिकारसम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०८२ मा नेपाल प्रहरीमा दर्ता भएका मानव बेचबिखनका कसुर वा मुद्दाहरूको संख्या वास्तविक घटनाहरूको अनुमानित संख्याका तुलनामा निक्कै कम देखिन्छ र दायर भएका सबै मुद्दाहरूमा अभियोजन नहुने उल्लेख छ।  धेरै जसो घटनाहरूमा नजिकका नातेदार नै संलग्न हुने भएकाले उनीहरूमाथि मुद्दा दायर गर्न थप कठिन हुने गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ।

“आफ्नै आमा वा बुबाविरुद्ध कसरी मुद्दा दिनु भन्छन्,” संयोजक महेश्वरीले भनिन्, “बेचबिखनका अधिकांश घटनामा आफन्तकै संलग्नता बढी देखिन्छ। ” उनका अनुसार कतिपयले बदनाम भइने डर तथा सबैले आप्mनाबारे जानकारी पाउने र आर्थिक समस्यालगायत कारणले पनि मुद्दा दिन नमान्ने गरेका छन्।

नेपाल प्रहरीको तथ्यांकले पनि बेचबिखनका घटनामा संलग्न भएकामाथि मुद्दा दर्ता नभएको स्पष्ट हुन्छ।  प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ५ वर्षमा मानव बेचबिखनमा परेका २ हजार ४ सय ७६ जनालाई प्रहरीले उद्धार गरेको छ।  जसमध्ये ८ सय ५० वटा मुद्दा मात्रै दर्ता भएका छन्।

जिल्ला सरकारी वकिलको कार्यालय, कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारी आफूहरूकोमा आएका मुद्दा प्रायः दर्ता भएको दाबी गर्दै मुद्दा नै थोरै मात्र आउने गरको बताउँछन्।  “कतिपय मुद्दा प्रहरीसम्म मात्रै पुग्छन्, त्यहीँबाट टुंगिन्छन्, हामीसम्म आइपुग्दैनन्,” उनले भने।

समाजमा पुनःस्थापना हुन समस्या हुने र आफूमाथि भएको घटनाबारे समुदायमा प्रचार हुने डरले पीडितहरू मुद्दा दर्ता गर्नबाट पछि हट्ने गरेको जिल्ला बार एसोसिएसन, कञ्चनपुरका अध्यक्ष हरिकृष्ण अवस्थी बताउँछन्।  “एउटा प्रतिष्ठाको डर, अर्काे मुद्दा लड्दा हुने झमेला र प्रत्यक्ष रूपमा पुनःस्थापनाका लागि केही लाभ नहुने कारण नै प्रमुख हो,” उनले भने, “बेचबिखन भन्नेबितिक्कै नकारात्मक दृष्टिकोणले हेर्ने हाम्रो समाज छ, पीडितमाथि झनै पीडा हुने जोखिम छ। ”

मानवअधिकार आयोगको प्रतिवेदनले थोरै मात्र मुद्दा अदालतमा पुग्नुको कारणमा प्रहरीको अशोभयनीय व्यवहार, कसुरदारहरूको प्रभाव, पर्याप्त प्रमाणको संकलन र साक्षीको अभाव, कानुनी प्रणालीप्रतिको अविश्वास र जटिल कानुनी प्रक्रियाजस्ता प्रणालीगत विषयलाई औंल्याएको छ।

तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी नेत्रमणि गिरी भने आफूहरूले चाहेर मात्रै मुद्दा दर्ता नहुने बताउँछन्।  “उद्धार गरिएका सबै बेचबिखनमा परेका नहुन सक्छन्, न्याय पीडितलाई चाहिन्छ,” उनले भने, “पीडितले महसुस नगरी हामीले मात्रै मुद्दा दर्दा गर्न सक्दैनौँ। ” कतिपय उद्धार गरिएकाहरू कामको सिलसिलामा आफन्तसँगै जान लागेका समेत भेटिने गरेकाले उनीहरूमाथि मुद्दा चलाउन आवश्यक नहुने उनले बताए।

बेइज्जत हुने डरले मुद्दा हाल्दैनन्

मकवानपुरको राक्सिराङकी २१ वर्षीया सुनिता र १४ वर्षीया अनिता (दुवै परिवर्तित नाम) काका जेठा बुबाकी छोरी हुन्।  सुनिताको विवाह भइसकेको छ।  उनका २ जना छोरा पनि छन्।  श्रीमान‍्सँगको विवादपछि उनी माइतीमै बसिरहेकी थिइन्।

एक दिन सुनिताको फेसबुकमा चितवनका एक जना पुरुषको फ्रेन्ड रिक्वेस्ट आयो।  उनले रिक्वेस्ट स्वीकार पनि गरिन्।  त्यसपछि कुराकानी हुन थाल्यो।

एक दिन अनिताको फोनमा पनि अपरिचित नम्बरबाट फोन आयो।  उनलाई फोन गर्ने पनि चितवनकै पुरुष थिए।  त्यसपछि दुवै दिदीबहिनीको फेसबुक म्यासेन्जरमार्फत कुराकानी हुन थाल्यो।  ती २ जना पुरुष पनि नातेदार नै हुन्।

उनीहरूले आफू २० र १८ वर्षको बताएका थिए।  भारतमा काम गरिरहेको पनि बताउँथे।  म्यासेन्जरमा कुरा गर्दा मोबाइल बिग्रेको भन्दै भिडियो देखाउँदैनथे।  उनीहरूले आफ्नो भन्दै पठाएको फोटो ज्वाइँ र भतिजाको रहेको पछि पत्ता लागेको थियो।

कुराकानी गर्दा गर्दै एक दिन दुवै पक्षले भारत जाने निर्णय गरे।  चितवनका दुवै जना अटो लिएर घरसम्मै पुगे।  दुवैले मास्क लगाएका थिए।

चितवनबाट भारत जान भन्दै असार पहिलो साता गड्डाचौकी नाकामा पुगेका उनीहरूलाई माइती नेपालले रोकेर सोधपुछ गर्‍यो।  इलाका प्रहरी कार्यालयमा पुगेपछि मात्रै दुवै जनाले मास्क खोले।  मास्क खोलेको देख्नेबितिक्कै सुनिताले भनिन्, “पोई भन्नु कि अंकल भन्नु, म त दोधारमा पो परेँ। ”

सोधपुछ गर्दै पत्ता लाग्यो— ४० र ३५ वर्षका उनीहरू दुवै जना विवाहित थिए।  सुनिता र अनितालाई प्रलोभनमा पारेर बेचबिखनकै लागि भारततिर लैजान लागेका थिए।  इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा पुर्‍याइयो।  महिलाहरूलाई भने माइती नेपालमै राखियो।  माइती नेपालले मानव बेचबिखनमा मुद्दा हाल्ने तयारी पनि गर्‍यो।  तर पीडित सुनिता र अनिताले भने मुद्दा हाल्न मानेनन्।

“हाम्रो बेइज्जत हुन्छ, घर गाउँका सबैले थाहा पाउँछन्, बरु एक चोटिलाई छोडिदिऊँ,” सुनिताले भनिन्, “फेरि हामीसँग खर्चपर्च पनि केही छैन, मुद्दा कसरी लड्ने ?” उनीहरू दुवै जनाका श्रीमतीले कञ्चपुरमै आएर हारगुहार पनि गरेका थिए।  श्रीमतीहरूले माफ गरिदिन भनेकै कारण पनि अनिता र सुनिता मुद्दा हाल्न तयार नभएको महेश्वरी बताउँछिन्।

यो पनि पढ्नुहोस् : आफन्तबाटै बेचिन्छन् बालिका र किशोरी

ताप्लेजुङको अठराई त्रिवेणी गाउँपालिकाकी २० वर्षीया रामकुमारी (परिवर्तित नाम) को २ वर्षअघि छिमेकी गाउँका युवकसँग विवाह भएको थियो।  प्रेमविवाह गरेकी उनको २ महिनामै श्रीमान‍्सँग खटपट हुन थाल्यो।  त्यसपछि उनी माइती घरमै बस्न थालिन्।  माइतीमै उनको छोरा पनि जन्मियो।  तर श्रीमान‍्सँग सम्पर्क हुनै छाड्यो।

करिब २ वर्ष भइसकेको थियो।  यही बेला फेसबुकमा नयाँ व्यक्तिको फ्रेन्ड रिक्वेस्ट आयो।  उनले त्यसलाई सहजै स्विकारिन्।  त्यसपछि कुराकानी हुन थाल्यो।  बिस्तारै मायाप्रेमका कुरा हुन थाले।  एक/डेढ महिनामा विवाह गर्ने कुरा हुन थाल्यो।  भारत उत्तराखण्डको उत्तरकाशी घर भई हरिद्वारमा काम गर्ने बताउने उक्त व्यक्तिले त्यहीं काम पनि लगाइदिने र विवाह पनि गर्ने प्रलोभन देखाए।

त्यो प्रलोभनमा परेर रामकुमारी दुईवर्षे छोरा छाडेर घरबाट हरिद्वार हिँडिन्।  कहिले देखभेट नभएको र केही थाहा नभएको पुरुषलाई फेसबुकबाटै भएको चिनजानका आधारमा विश्वास गरेर विवाह गर्न भन्दै घरबाट हिँडेकी थिइन्।  गत साउन ७ मा घरबाट हिँडेकी उनलाई गड्डाचौकी नाकामा माइती नेपालले रोकेको थियो।

उनलाई रोकेपछि ती पुरुषसँग पनि सम्पर्क भएको तर उनी लिन नआएको माइती नेपालकी संयोजक महेश्वरीले बताइन्।  “फेसबुककै भरमा कहिल्यै नदेखेको व्यक्तिको पछि हिँड्दा फसिन्छ, अब कसका नाममा कसरी मुद्दा हाल्ने,” उनले भनिन्, “गाउँमा यस्तै समस्या भएका महिला खोजेर प्रलोभनमा पार्ने र त्यसपछि बिस्तारै भारततिरै बोलाउने गरेका घटना थुप्रै छन्। ”

गत आर्थिक वर्षमा माइती नेपाल कञ्चनपुरले भारतका विभिन्न स्थानबाट ८ जनाको उद्धार गरेकोछ।  यसैगरी कञ्चनपुरका विभिन्न नाकाबाट भारत लगिँदै गरेका १ सय ७५ जनालाई रोकेको छ।  यी घटनामध्येबाट एउटै मात्रै मानव बेचबिखनको मुद्दा चलेको र बाँकी त्यतिकै छाडिएको महेश्वरीले बताइन्।

(यो सामग्री मूलरूपमा निमजिनमा प्रकाशित भएको हो।)

प्रकाशित: २०८३ भदौ ३० गते मङ्गलबार ११:५४
प्रतिक्रिया

थप समाचार

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

आकाशियो मूल्य: चिनीदेखि दालचामल, फलफूलदेखि हरियो तरकारीसम्म महँगिए

काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य...

एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...

सेनाद्वारा ब्लास्टिङ गरी पृथ्वी राजमार्गअन्तर्गत दुई गर्दै सडक खोलिँदै

धादिङ: रसुवा बाढीका कारण त्रिशूली नदीले सडक कटान गर्दा भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको सितल बजार सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी सडक खोल्ने काम अघि बढाएको छ। सडक भासिएको स्थानमा...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना