काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य बढेको छ।
अघिल्लो वर्षको अ वधिको तुलनामा खाद्य सामग्रीको मूल्य आकाशिएको छ। सुशासनको नारा दिएर आएको वालेन्द्र शाह नेतृत्वको सरकार बनेको साढे ५ महिनाको अवधिमा पहिले भन्दा मूल्य दोब्बर छ।
२०८२ चैत १२ गते शाह प्रधानमन्त्री नियुक्त भएका थिए। फागुन १२ गतेको र आज (२०८३ भदौ ३० गते) को खाद्य सामग्रीको मूल्य तुलना गर्दा मूल्य नियन्त्रण सरकारका लागि चुनौतीपूर्ण देखिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य विवरणअनुसार चैतमा प्रतिकिलो औसत ३५ रुपैयाँ रहेको भारतीय सुकेको प्याज भदौ ३० मा ९० रुपैयाँसम्म पुगेको छ। यस अवधिमा प्याजको मूल्य करिब १५७ प्रतिशतले बढेको देखिन्छ। फागुनमा प्रतिकिलो औसत २१ रुपैयाँ रहेको भारतीय रातो आलु भदौमा ४६ रुपैयाँ पुगेको छ। लाम्चो रातो आलुको औसत मूल्य पनि १७ रुपैयाँ ५० पैसाबाट बढेर ५३ रुपैयाँ आसपास पुगेको छ।
गाजर, बन्दा, काउली, भिण्डी, बोडी, घिरौँला, रायोको सागलगायतका तरकारीमा पनि मूल्य वृद्धि देखिएको छ। फागुनमा २७ रुपैयाँ ५० पैसा रहेको लोकल गाजरको औसत मूल्य भदौमा ११० रुपैयाँ पुगेको छ। त्यस्तै, स्थानीय काउली ७५ रुपैयाँबाट करिब ९९ रुपैयाँ पुगेको छ।
प्याजको औसत मूल्य ३५ रुपैयाँबाट ९२ रुपैयाँ ५० पैसासम्म पुगेको छ। लोकल गाजर २७ रुपैयाँ ५० पैसाबाट ११० रुपैयाँ, लाम्चो रातो आलु १७ रुपैयाँ ५० पैसाबाट ५३ रुपैयाँ ५० पैसा र स्थानीय काउली ७५ रुपैयाँबाट ९९ रुपैयाँ पुगेको छ।
पछिल्लो एक महिनाको मात्रै तुलना गर्दा पनि खाद्य सामग्री र तरकारीको मूल्य आकाशिएको देखिन्छ।
गत वर्ष साउन र भदौमा धेरै प्रमुख तरकारीको भाउ घटेको वा स्थिर रहेको थियो। तर अघिल्लो वर्षको एक महिनाको तुलनामा पछिल्लो एक महिनामा प्याज, काउली, मूला, सिमी, घिरौला, कागती र हरियो लसुनलगायतको मूल्य अत्यधिक बढेको छ।
अघिल्लो वर्ष साउन ३० गते र भदौ ३० गतेको मूल्य सूची हेर्दा प्याजको मूल्य ७.७ प्रतिशत, बन्दाको मूल्य २१.४ प्रतिशत, काउलीको मूल्य १५.७ प्रतिशत, मूलाको मूल्य ३४.९ प्रतिशत र भिण्डीको मूल्य २३.१ प्रतिशतले घटेको थियो। तर यस वर्ष साउन र भदौको सोही अवधिको तुलना गर्दा प्याज ४५.२ प्रतिशत, काउली १२ प्रतिशत, मूला ४० प्रतिशत, घिउ सिमी २२.६ प्रतिशत, टाटे सिमी १३.३ प्रतिशत, घिरौला ११० प्रतिशत, ब्रोकाउली २४.८ प्रतिशत, कागती ६६.७ प्रतिशत र हरियो लसुन ६६.७ प्रतिशतले बढेका छन्।
बजारमा चामलको मूल्य पछिल्लो एक महिनामै बोरामा ४०० देखि ४५० रुपैयाँसम्म बढेको छ। तेलको मूल्य कार्टुनमा २५० रुपैयाँसम्म बढेको छ। चिनीको मूल्य दुई सातामै किलोमा ३० रुपैयाँसम्म बढेको छ भने बजारमा अभाव देखिन थालेको छ।
अण्डाको मूल्य साउन महिनामा मात्रै प्रतिक्रेट ८५ रुपैयाँ वृद्धि भएको छ।
करिब दुई महिनाअघिसम्म प्रतिकिलो १२०० देखि १३०० रुपैयाँसम्म रहेको खसीको मासुको मूल्य १६०० देखि १७०० रुपैयाँसम्म पुगेको छ।