कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १२ वर्षीया रमिता (परिवर्तित नाम) पुस, २०८० मा भारत उत्तराखण्डको खटिमास्थित सानीआमाको घरमा गइन्। शल्यक्रिया गरेर आराम गरिरहेकी सानी आमाको हेरचाह गर्न रमितालाई बुबाआमाले उत्तराखण्ड पठाएका थिए।
तर १२ वर्षकी रमितालाई सानी आमाले उत्तराखण्डकै ४० वर्षका पुरुषसँग विवाह गराइदिइन्। रमिताको विवाहबारे कञ्चपुरमा रहेका उनका बुबाआमालाई केही पत्तो नै दिइनन्।
विवाहको ९ दिनपछि रमिताले श्रीमान्कै फोनबाट आमालाई फोन गरिन्। आफ्नो अवस्थाबारे सबै बताइन्। त्यसपछि आमा छोरीलाई खोज्दै बहिनीको घरमा गइन्। बहिनीलाई लिएर उनी रमिताको घरमा पुगिन्। छोरीका श्रीमान् र ससुराले विवाह गर्नका लागि पैसा दिएको र उक्त पैसा फिर्ता गरेपछि मात्रै लैजान मिल्ने भनेपछि मात्रै रमिता बेचिएको उनकी आमाले थाहा पाइन्।
विवाहका लागि सानीआमाले लिएको पैसा फिर्ता गरेपछि रमिताले त्यो घरबाट छुटकारा पाइन्। रमिताकी सानीआमाले विवाह भएकी छोरी घर लैजान नहुने र गाउँमा पनि कुरा काट्ने भएकाले अर्को केटा खोजेर विवाह गरिदिने प्रस्ताव गरिन्। रमिताकी आमा पनि छोरीको विवाह गर्न राजी भइन्। त्यसपछि दिदीबहिनीले पैसा लिएर उत्तराखण्डकै धर्मेन्द्र सिंहसँग रमिताको विवाह गराइदिए।
यो थाहा पाएर रमिताका बुबाले छोरीको उद्धारका लागि माइती नेपालसँग सहयोग मागे। माइती नेपाल र सुरक्षाकर्मीसहितको टोलीले फागुन १७, २०८० मा रमितालाई उद्धार गरेर घर ल्यायो। आमा र सानीआमा दुवैलाई प्रहरीले पक्राउ गरेको थियो। पीडित रमिताका तर्फबाट दुवै जनाविरुद्ध कुनै उजुरी दर्ता भएन र मुद्दा चलेन।
“आफ्नै आमा र सानीआमाका नाममा कसरी मुद्दा दिने भन्दै रमिता र उनका बुबाले जाहेरी दिएनन्,” माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, “पैसा खाएर १२ वर्षकी बालिकाको विवाह गरिएको छ, एउटा घरबाट ल्याएपछि फेरि अर्काे घरमा विवाह गरिएको छ, तर पनि तिनीहरूलाई त्यतिकै छाड्नुपर्ने भयो। ”
यो घटनामा मात्र होइन, माइती नेपालकी संयोजक महेश्वरीका अनुसार मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्। आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्। जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या हुने गरेको छ।
मानव बेचबिखनविरुद्धको अधिकारसम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०८२ मा नेपाल प्रहरीमा दर्ता भएका मानव बेचबिखनका कसुर वा मुद्दाहरूको संख्या वास्तविक घटनाहरूको अनुमानित संख्याका तुलनामा निक्कै कम देखिन्छ र दायर भएका सबै मुद्दाहरूमा अभियोजन नहुने उल्लेख छ। धेरै जसो घटनाहरूमा नजिकका नातेदार नै संलग्न हुने भएकाले उनीहरूमाथि मुद्दा दायर गर्न थप कठिन हुने गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ।
“आफ्नै आमा वा बुबाविरुद्ध कसरी मुद्दा दिनु भन्छन्,” संयोजक महेश्वरीले भनिन्, “बेचबिखनका अधिकांश घटनामा आफन्तकै संलग्नता बढी देखिन्छ। ” उनका अनुसार कतिपयले बदनाम भइने डर तथा सबैले आप्mनाबारे जानकारी पाउने र आर्थिक समस्यालगायत कारणले पनि मुद्दा दिन नमान्ने गरेका छन्।
नेपाल प्रहरीको तथ्यांकले पनि बेचबिखनका घटनामा संलग्न भएकामाथि मुद्दा दर्ता नभएको स्पष्ट हुन्छ। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ५ वर्षमा मानव बेचबिखनमा परेका २ हजार ४ सय ७६ जनालाई प्रहरीले उद्धार गरेको छ। जसमध्ये ८ सय ५० वटा मुद्दा मात्रै दर्ता भएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालय, कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारी आफूहरूकोमा आएका मुद्दा प्रायः दर्ता भएको दाबी गर्दै मुद्दा नै थोरै मात्र आउने गरको बताउँछन्। “कतिपय मुद्दा प्रहरीसम्म मात्रै पुग्छन्, त्यहीँबाट टुंगिन्छन्, हामीसम्म आइपुग्दैनन्,” उनले भने।
समाजमा पुनःस्थापना हुन समस्या हुने र आफूमाथि भएको घटनाबारे समुदायमा प्रचार हुने डरले पीडितहरू मुद्दा दर्ता गर्नबाट पछि हट्ने गरेको जिल्ला बार एसोसिएसन, कञ्चनपुरका अध्यक्ष हरिकृष्ण अवस्थी बताउँछन्। “एउटा प्रतिष्ठाको डर, अर्काे मुद्दा लड्दा हुने झमेला र प्रत्यक्ष रूपमा पुनःस्थापनाका लागि केही लाभ नहुने कारण नै प्रमुख हो,” उनले भने, “बेचबिखन भन्नेबितिक्कै नकारात्मक दृष्टिकोणले हेर्ने हाम्रो समाज छ, पीडितमाथि झनै पीडा हुने जोखिम छ। ”
मानवअधिकार आयोगको प्रतिवेदनले थोरै मात्र मुद्दा अदालतमा पुग्नुको कारणमा प्रहरीको अशोभयनीय व्यवहार, कसुरदारहरूको प्रभाव, पर्याप्त प्रमाणको संकलन र साक्षीको अभाव, कानुनी प्रणालीप्रतिको अविश्वास र जटिल कानुनी प्रक्रियाजस्ता प्रणालीगत विषयलाई औंल्याएको छ।
तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी नेत्रमणि गिरी भने आफूहरूले चाहेर मात्रै मुद्दा दर्ता नहुने बताउँछन्। “उद्धार गरिएका सबै बेचबिखनमा परेका नहुन सक्छन्, न्याय पीडितलाई चाहिन्छ,” उनले भने, “पीडितले महसुस नगरी हामीले मात्रै मुद्दा दर्दा गर्न सक्दैनौँ। ” कतिपय उद्धार गरिएकाहरू कामको सिलसिलामा आफन्तसँगै जान लागेका समेत भेटिने गरेकाले उनीहरूमाथि मुद्दा चलाउन आवश्यक नहुने उनले बताए।
बेइज्जत हुने डरले मुद्दा हाल्दैनन्
मकवानपुरको राक्सिराङकी २१ वर्षीया सुनिता र १४ वर्षीया अनिता (दुवै परिवर्तित नाम) काका जेठा बुबाकी छोरी हुन्। सुनिताको विवाह भइसकेको छ। उनका २ जना छोरा पनि छन्। श्रीमान्सँगको विवादपछि उनी माइतीमै बसिरहेकी थिइन्।
एक दिन सुनिताको फेसबुकमा चितवनका एक जना पुरुषको फ्रेन्ड रिक्वेस्ट आयो। उनले रिक्वेस्ट स्वीकार पनि गरिन्। त्यसपछि कुराकानी हुन थाल्यो।
एक दिन अनिताको फोनमा पनि अपरिचित नम्बरबाट फोन आयो। उनलाई फोन गर्ने पनि चितवनकै पुरुष थिए। त्यसपछि दुवै दिदीबहिनीको फेसबुक म्यासेन्जरमार्फत कुराकानी हुन थाल्यो। ती २ जना पुरुष पनि नातेदार नै हुन्।
उनीहरूले आफू २० र १८ वर्षको बताएका थिए। भारतमा काम गरिरहेको पनि बताउँथे। म्यासेन्जरमा कुरा गर्दा मोबाइल बिग्रेको भन्दै भिडियो देखाउँदैनथे। उनीहरूले आफ्नो भन्दै पठाएको फोटो ज्वाइँ र भतिजाको रहेको पछि पत्ता लागेको थियो।
कुराकानी गर्दा गर्दै एक दिन दुवै पक्षले भारत जाने निर्णय गरे। चितवनका दुवै जना अटो लिएर घरसम्मै पुगे। दुवैले मास्क लगाएका थिए।
चितवनबाट भारत जान भन्दै असार पहिलो साता गड्डाचौकी नाकामा पुगेका उनीहरूलाई माइती नेपालले रोकेर सोधपुछ गर्यो। इलाका प्रहरी कार्यालयमा पुगेपछि मात्रै दुवै जनाले मास्क खोले। मास्क खोलेको देख्नेबितिक्कै सुनिताले भनिन्, “पोई भन्नु कि अंकल भन्नु, म त दोधारमा पो परेँ। ”
सोधपुछ गर्दै पत्ता लाग्यो— ४० र ३५ वर्षका उनीहरू दुवै जना विवाहित थिए। सुनिता र अनितालाई प्रलोभनमा पारेर बेचबिखनकै लागि भारततिर लैजान लागेका थिए। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा पुर्याइयो। महिलाहरूलाई भने माइती नेपालमै राखियो। माइती नेपालले मानव बेचबिखनमा मुद्दा हाल्ने तयारी पनि गर्यो। तर पीडित सुनिता र अनिताले भने मुद्दा हाल्न मानेनन्।
“हाम्रो बेइज्जत हुन्छ, घर गाउँका सबैले थाहा पाउँछन्, बरु एक चोटिलाई छोडिदिऊँ,” सुनिताले भनिन्, “फेरि हामीसँग खर्चपर्च पनि केही छैन, मुद्दा कसरी लड्ने ?” उनीहरू दुवै जनाका श्रीमतीले कञ्चपुरमै आएर हारगुहार पनि गरेका थिए। श्रीमतीहरूले माफ गरिदिन भनेकै कारण पनि अनिता र सुनिता मुद्दा हाल्न तयार नभएको महेश्वरी बताउँछिन्।
यो पनि पढ्नुहोस् : आफन्तबाटै बेचिन्छन् बालिका र किशोरी
ताप्लेजुङको अठराई त्रिवेणी गाउँपालिकाकी २० वर्षीया रामकुमारी (परिवर्तित नाम) को २ वर्षअघि छिमेकी गाउँका युवकसँग विवाह भएको थियो। प्रेमविवाह गरेकी उनको २ महिनामै श्रीमान्सँग खटपट हुन थाल्यो। त्यसपछि उनी माइती घरमै बस्न थालिन्। माइतीमै उनको छोरा पनि जन्मियो। तर श्रीमान्सँग सम्पर्क हुनै छाड्यो।
करिब २ वर्ष भइसकेको थियो। यही बेला फेसबुकमा नयाँ व्यक्तिको फ्रेन्ड रिक्वेस्ट आयो। उनले त्यसलाई सहजै स्विकारिन्। त्यसपछि कुराकानी हुन थाल्यो। बिस्तारै मायाप्रेमका कुरा हुन थाले। एक/डेढ महिनामा विवाह गर्ने कुरा हुन थाल्यो। भारत उत्तराखण्डको उत्तरकाशी घर भई हरिद्वारमा काम गर्ने बताउने उक्त व्यक्तिले त्यहीं काम पनि लगाइदिने र विवाह पनि गर्ने प्रलोभन देखाए।
त्यो प्रलोभनमा परेर रामकुमारी दुईवर्षे छोरा छाडेर घरबाट हरिद्वार हिँडिन्। कहिले देखभेट नभएको र केही थाहा नभएको पुरुषलाई फेसबुकबाटै भएको चिनजानका आधारमा विश्वास गरेर विवाह गर्न भन्दै घरबाट हिँडेकी थिइन्। गत साउन ७ मा घरबाट हिँडेकी उनलाई गड्डाचौकी नाकामा माइती नेपालले रोकेको थियो।
उनलाई रोकेपछि ती पुरुषसँग पनि सम्पर्क भएको तर उनी लिन नआएको माइती नेपालकी संयोजक महेश्वरीले बताइन्। “फेसबुककै भरमा कहिल्यै नदेखेको व्यक्तिको पछि हिँड्दा फसिन्छ, अब कसका नाममा कसरी मुद्दा हाल्ने,” उनले भनिन्, “गाउँमा यस्तै समस्या भएका महिला खोजेर प्रलोभनमा पार्ने र त्यसपछि बिस्तारै भारततिरै बोलाउने गरेका घटना थुप्रै छन्। ”
गत आर्थिक वर्षमा माइती नेपाल कञ्चनपुरले भारतका विभिन्न स्थानबाट ८ जनाको उद्धार गरेकोछ। यसैगरी कञ्चनपुरका विभिन्न नाकाबाट भारत लगिँदै गरेका १ सय ७५ जनालाई रोकेको छ। यी घटनामध्येबाट एउटै मात्रै मानव बेचबिखनको मुद्दा चलेको र बाँकी त्यतिकै छाडिएको महेश्वरीले बताइन्।
(यो सामग्री मूलरूपमा निमजिनमा प्रकाशित भएको हो।)