काठमाडौँः सरकारले सेयर कारोबारबाट हुने पुँजीगत लाभमा लाग्ने करको दर घटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै दीर्घकालीन र अल्पकालीन लगानीकर्ताका लागि नयाँ लाभकर दर कायम गर्ने निर्णय गरेको हो।
नयाँ व्यवस्थाअनुसार दीर्घकालीन लगानीकर्ताले सेयर बिक्रीबाट हुने लाभमा ३.७५ प्रतिशत र अल्पकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ।
सरकारले गरेको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएपछि नयाँ करदर कार्यान्वयनमा आउनेछ। त्यसपछि सेयर बिक्रीबाट प्राप्त लाभमा नयाँ दरअनुसार कर गणना हुनेछ।
यसअघि सरकारले सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनामा पुँजीगत लाभकर घटाउने विषय समेटिएको थियो। सोही कार्ययोजनालाई कार्यान्वयन गर्ने क्रममा मन्त्रिपरिषद्ले करको नयाँ दर स्वीकृत गरेको हो।
सरकारले सेयर कारोबारमा हुने नाफा–घाटा गणनालाई पनि थप व्यवस्थित गर्ने तयारी गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार लगानीकर्ताले सेयर कारोबारमा भएको घाटा समायोजन गर्न सक्नेछन्। वर्षभरको कारोबार हिसाब गर्दा वास्तविक लाभ भएको अवस्थामा मात्र पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गर्ने सरकारको योजना छ।
यसले सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताका लागि कर गणनाको आधार परिवर्तन गर्नेछ। विशेषगरी वर्षभरि पटक–पटक सेयर खरिद–बिक्री गर्ने लगानीकर्ताले कारोबारबाट भएको कुल नाफा र घाटालाई समायोजन गरेर वास्तविक लाभका आधारमा कर तिर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको हो।
नयाँ करदर लागू भएपछि सेयर कारोबारमा लाग्ने करको भार केही घट्नेछ। यद्यपि नयाँ व्यवस्था पूर्ण रूपमा लागू हुन नेपाल राजपत्रमा सूचना प्रकाशित हुनुपर्नेछ।


