काठमाडौँ- भारतको बैंगलोरमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानविरुद्ध जित निकालेको छ। श्री कान्तिवीरा रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपालले पाकिस्तानविरुद्ध १–० को जित निकालेको हो।
साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानविरुद्ध सन् २००८(४–१ को जित)पछि पहिलो पटक जित निकालेको हो। सन् २००८ पछि नेपालले पाकिस्तानसँग एक पटक बराबरी खेलेको थियो भने २०१८ मा नेपाल २–१ ले पराजित भएको थियो। अघिल्लो संस्करणको साफ च्याम्पियनसिपमा चाहिँ पाकिस्तान सहभागी थिएन।
आज खेलमा ७२औं मिनेटमा नेपालका लागि विशेष रह्यो। खेलमा नेपालले पाएको ‘फ्री-किक’लाई गोलकिपर किरणकुमार लिम्बूले सेन्टर वृत्तबाट प्रहार गर्छन्। उनको लामो प्रहारलाई पाकिस्तानी डिफेन्डरले मैदानको बीचतिरै फर्काइदिन्छन्।

त्यो बललाई सजिलै भेट्छन्, विपक्षीको मार्कमा रहेका एरिक विष्टले। उनले बललाई पोस्टतफै फर्काउँन्। पेनाल्टी बक्सअघि रहेका लाकेन लिम्बूले खुट्टा तन्काएर बललाई मैदानको दायाँतिर लगाइदिन्छन्।
बललाई नजिकबाट जज गरिरहेका थिए युवा विंगर आशिष चौधरीले। पछिल्लो लिगमा मात्र ए डिभिजनमा डेब्यु गरेका आशिषले पेनाल्टी बक्स बाहिरबाट बलियो प्रहार गर्छन्। उनले प्रहार गरेको बल डाइभ गरिरहेका पाकिस्तानी गोलकिपरको मुनिबाट पोस्टभित्र पुग्छ।
कमै मात्र आवसर बनाएको नेपालले पाकिस्तानविरुद्ध गरेको एकमात्र गोल यही नै हो। पाकिस्तानले नेपालविरुद्ध गोल फर्काउन नसकेपछि आशिषको गोल नै निर्णायक रह्यो र नेपाल साफ च्याम्पियनसिपको अन्तिम खेलमा १–० ले विजेता रह्यो।
खेलमा नेपालले केही थप अवसर त बनायो। खेलको ८६औं मिनेटमा पनि नेपालले पाकिस्तानको पोस्टअघि अवसर त बनायो तर गोल गर्न सकेन। त्यसपछि पाकिस्तानले पनि एक प्रयास गर्यो। तर उसको प्रहार नेपाली डिफेन्डरले नै विफल बनाइदिए। त्यसपछि नेपालले साँघुरो जित निश्चित गरेको हो।
आज नेपालले जित निकालेपछि समग्रमा पाकिस्तानविरुद्ध नेपालको जितको संख्या छ, पुगेको छ। यद्यपि यी दुई देशको इतिहास हेर्ने हो भने नेपाल अघि छैन। किनभने पाकिस्तान र नेपालबीच १७ खेल हुन पाकिस्तानले ७ खेलमा जित निकालेको तथ्यांक रहेको छ।

यो साफमा नेपालले पाँच गोलको सामना गरेर दुई गोल गर्न सफल भएको छ। नेपालका लागि अन्जन विष्ट र आशिष चौधरीले मात्र गोल गर्न सके। खेलमा धेरै समय पाएका फरवार्ड विमल घर्ती मगर, मनिष डाँगी र आयुष घलानले भने गोल गर्न सकेनन्।
साफमा नेपालले सुरुका दुवै खेलमा हार बेहोरेको थियो भने अन्तिम खेलमा नेपालले जित निकाल्यो। यता पाकिस्तानले भने साफमा ९ गोलको सामना गर्यो र कुनै पनि गोल गर्न सकेन। घरेलु लिग नभइरहेको समयमा ९ जना युरोपमा लिग खेलिरहेको खेलाडी समावेश गरेर टिम बनाएको भए पनि उसले राम्रो प्रदर्शन गर्न भने सकेन्।
उनले भारत र कुवतेविरुद्ध समान ४–० को हार बेहार्यो भने अन्तिम खेलमा १–० को हार बेहार्यो। भारतका सुनिल क्षेत्रीले पाकिस्तानविरुद्ध ह्याट्रिक गरेका थिए।
नेपालविरुद्धको खेलको निर्धारित समयको एक मिनेट मात्र बाँकी रहँदा मनिष डाँगीले गोलकिपर विहिन खाली पोस्टतर्फ अघि बडिरहेको अवस्थामा बललाई नियन्त्रण गर्न नसक्दा पाकिस्तानका डिफेन्डरले क्लियर गरिदिएका थिए। उनी ओपन पोस्टमा गोल गर्ने अवसरबाट चुकेका थिए।

आजको खेलको पहिलो हाफमा पनि नेपालले गोलका अवसर पाए पनि खेर फालेको थियो। खासगरी विमल मगरले खेलमा दुई गोल मिस गरेपछि नेपालले अग्रता बनाउने अवसर गुमाएको थियो। त्यसैले खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि बराबरी खेलेका थिए।
खेलको १२ औं मिनेटमा गोलकिपरसँग पोस्टअघि वान भर्सेस वानको अवस्थामा उनले प्रहार गर्न सकेनन्। फलतः उनी पाकिस्तानी डिफेन्डरबाट फलको शिकार भए। त्यसपछि पाएको फ्रि किकमा पनि मगरले पोस्टको फ्रेममा प्रहार गर्न सकेनन्।
खेलको ३१ औं मिनेटमा पाकिस्तानले नेपालको गोलपोस्ट वरपर निकै राम्रो मुभ बनाएको थियो। पाकिस्तानका अलमगिर अलि खानले बलियो प्रहार गरे पनि गोलकिपर किरण लिम्बूले बचाएका थिए।

खेलको ४२ औं मिनेटमा नेपालले अर्को सुन्दर अवसर गुमायो। मैदानको बायाँ कुनाबाट आएको बलमा विमलले पोस्टअघिबाट प्रहार गरेका थिए। उनको प्रहार गोलकिपर ले फर्काइदिएका थिए।
रिबाउन्ड बल नेपाली खेलाडीले नै पाएको भए पनि नेपाली फरवार्डले पोस्टतर्फ पुन प्रहार गर्नै सकेनन्। नेपालले खेलको अन्तिममा केही थप अवसर बनाए पनि गोलका लागि अन्तिम प्रहार गर्न भने सकेन्। पाकिस्तानले पनि थप राम्रा मुभ बनाउन सकेन।



