२०८३ असोज ४ गते आईतबार

जग्गा, आवास मेलामा ८० हजारले गरे अवलोकन, चलायमान बनाउन कर्जा नीतिमा पुनरावलोकन माग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ४
112

काठमाडौं। ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालित ४ दिने ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी २०८३’ आइतबार सम्पन्न भएको छ।

सुरक्षित र व्यवस्थित आवास तथा एकीकृत बस्ती विकासमा जोड दिँदै आयोजना गरिएको यस प्रदर्शनीमा ८० हजारले अवलोकन गरेको आयोजकले जनाएको छ।

नेपाल जग्गा तथा आवास विकास महासंघ, नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा भएको प्रदर्शनीको समापन समारोहमा सहभागी सरकारी प्रतिनिधि, व्यवसायी तथा विज्ञहरूले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन नीतिगत सुधार, कर्जा विस्तार तथा सार्वजनिक–निजी साझेदारीमार्फत एकीकृत बस्ती विकासमा जोड दिए।

समापन समारोहका प्रमुख अतिथि प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति इन्जिनियर आशिष गजुरेलले ८० हजारभन्दा बढी नागरिकको सहभागिताले घरजग्गा तथा आवास क्षेत्रप्रति जनताको आकर्षण कायम रहेको देखाएको बताए। उनले छरिएर रहेका असुरक्षित बस्तीमा सडक, खानेपानी, विध्दुत लगायतका पूर्वाधार पुर्‍याउँदा राज्यको ठूलो स्रोत खर्च भइरहेको भन्दै एकीकृत बस्ती विकासमा जानुपर्ने आवश्यकता औंल्याए।

उनले गत भदौ १० गते रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीले जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता थप स्पष्ट पारेको बताए। विपद्पछिको पुनर्निर्माणलाई सुरक्षित र योजनाबद्ध बस्ती विकाससँग जोड्नुपर्ने उनको भनाइ थियो।

गजुरेलले सीमित विकास बजेटका कारण मुलुकको पूर्वाधार विकासमा निजी क्षेत्र, वैदेशिक लगानी तथा डायस्पोरा फन्ड परिचालन आवश्यक रहेको बताए। सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सरकार र निजी क्षेत्रबीच लाभ तथा जोखिम बाँडफाँड गरेर अघि बढ्न सकिने उल्लेख गर्दै उनले व्यवसायीका कानुनी तथा नीतिगत समस्या पूर्वाधार विकास समितिमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे।

समापन समारोहका विशेष अतिथि प्रतिनिधिसभाको अर्थ तथा सुशासन समितिका संयोजक रुकेश रञ्जितले प्रदर्शनीमा अपेक्षाभन्दा बढी दर्शक सहभागी हुनुले अर्थतन्त्र सुधारोन्मुख रहेको संकेत गरेको बताए। सुरुमा ३०–४० हजार दर्शक आउने अनुमान गरिए पनि ७० देखि ८० हजारभन्दा बढी पुगेको र कतिपय स्टलमा घरको स्टकसमेत सकिएको उनको भनाइ थियो।

रञ्जितले घरजग्गा व्यवसायलाई केवल जग्गा किनबेचको गतिविधिका रूपमा नभई उद्योगका रूपमा विकास गर्नुपर्ने बताए। रसुवाको बाढीपछिको पुनर्निर्माणमा नयाँ इन्जिनियरिङ अवधारणाअनुसार वातावरणीय सन्तुलनसहित सुरक्षित बस्ती विकास गर्नुपर्ने र सहरी पूर्वाधारमा युटिलिटी करिडोरको अवधारणा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

चार दिनसम्म चलेको प्रदर्शनीमा सात लाख रुपैयाँदेखि करोडौँ रुपैयाँसम्मका किफायती घर, अपार्टमेन्ट तथा विभिन्न स्थानका घडेरी बिक्री तथा प्रदर्शनका लागि राखिएका थिए।

बैंक तथा वित्तीय संस्थाले ५.४९ प्रतिशतदेखि ६ प्रतिशतसम्मको ब्याजदरमा कर्जा अफर गरेका कारण उपभोक्ताका लागि घरजग्गा खरिदका विकल्पबारे जानकारी लिन सहज भएको आयोजकले जनाएको छ।

प्रदर्शनी अवधिभर वास्तुशास्त्र, सार्वजनिक–निजी साझेदारी, नीतिगत सुधार, भूकम्पीय सुरक्षा तथा सुरक्षित आवासलगायत विषयमा सेमिनार तथा अन्तरक्रिया आयोजना गरिएको थियो। यसले घर निर्माण तथा जग्गा खरिदमा रुचि राख्ने उपभोक्तालाई व्यवसायी तथा प्राविधिकसँग प्रत्यक्ष जानकारी लिन अवसर दिएको आयोजकको भनाइ छ।

समापन समारोहका सभापति तथा नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले ८० हजारभन्दा बढीको सहभागिताले व्यवसायीमा नयाँ ऊर्जा थपिएको बताए। उनका अनुसार घरजग्गा व्यवसायसँग प्रत्यक्ष रूपमा इँटा, सिमेन्ट, रड, ढुंगा, गिट्टीलगायत २४० भन्दा बढी स्वदेशी उद्योग जोडिएका छन्।

तर, जग्गाको हदबन्दी लगायत नीतिगत व्यवस्थाका कारण करिब दुई खर्ब रुपैयाँ बराबरको घरजग्गा रोक्का रहेको उनको दाबी थियो। कुँवरले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन नीतिगत स्पष्टता र निजी क्षेत्रमैत्री व्यवस्था आवश्यक रहेको बताए।

विशेषगरी ठूला आवासीय तथा सहरी विकास परियोजना अघि बढाउन जग्गा हदबन्दी सम्बन्धी अवरोध हटाउनुपर्ने उनको भनाइ थियो। समापन समारोहमा उनले सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर नयाँ सहर तथा स्मार्ट सिटी विकास गर्न सक्ने प्रस्ताव समेत अघि सारे।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा महासंघका सल्लाहकार दीपक मलहोत्राले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन राष्ट्र बैंकको कर्जा नीतिमा पुनरावलोकन आवश्यक रहेको बताए। उनले लोन टु भ्यालु (एलटीभी) अनुपात बढाउन तथा लामो समयदेखि समस्यामा रहेका व्यवसायीलाई कर्जा पुनर्संरचना र पुनर्कर्जाको सुविधा दिनुपर्ने माग गरे।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले समापन समारोहमा चार प्रमुख नीतिगत माग अघि सारे। उनले घरजग्गा व्यवसायमा रहेको हदबन्दी हटाउनुपर्ने, हालको ५० प्रतिशत लोन टु भ्यालु अनुपातलाई कम्तीमा ८० प्रतिशत पुर्‍याउनुपर्ने, घरजग्गा क्षेत्रलाई उद्योगसरह मान्यता दिनुपर्ने तथा अपार्टमेन्ट र आवास क्षेत्रमा रहेको कमन स्पेसको स्वामित्व विना राजस्व व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुपर्ने माग गरे।

घिमिरेले स्मार्ट सिटीका नाममा लामो समयदेखि रोक्का रहेका जग्गाको समस्या समाधान गरी निजी क्षेत्रलाई ल्याण्ड पुलिङ तथा हाउस पुलिङको जिम्मेवारी दिनुपर्ने बताए। उनले निजी क्षेत्रलाई जिम्मेवारी दिएमा योजनाबद्ध बस्ती विकासका काम छिटो अघि बढाउन सकिने सुझाव दिए।

प्रदर्शनीमा किफायती आवास, अपार्टमेन्ट, घडेरी, निर्माण सामग्री तथा वित्तीय सेवासँग सम्बन्धित विभिन्न कम्पनी तथा संस्थाको सहभागिता रहेको थियो।

प्रदर्शनीको शीर्ष प्रायोजक सिजी प्रोपर्टिज, पावर्ड बाई प्रायोजक एसियन पेन्ट्स तथा बैंक तथा वित्तीय संस्था र विभिन्न प्रदर्शकको सहभागिता रहेको आयोजकले जनाएको छ। समापन समारोहमा सबैभन्दा उत्कृष्ट प्रदर्शक तथा मुख्य प्रायोजक एशियन पेन्ट्सलगायतका प्रदर्शकहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो।

चार दिनमा ८० हजारको हाराहारीमा दर्शक सहभागी हुनु र घर तथा आवाससम्बन्धी उत्पादन तथा सेवाप्रति उपभोक्ताको चासो देखिनुले आगामी दिनमा सुरक्षित, किफायती र योजनाबद्ध आवास विकासको एजेण्डालाई थप बहसमा ल्याएको छ।

आयोजकले आगामी दिनमा सरकारसँग नीतिगत सहकार्य गर्दै सुरक्षित आवास र व्यवस्थित वस्ती विकासलाई प्राथमिकतामा राख्ने जनाएको छ। एउटै छानामुनि बैंकिङ, वित्तीय परामर्श, इन्जिनियरिङ र निर्माण प्रविधिसम्बन्धी एकीकृत सेवा उपलब्ध गराइएकाले उपभोक्ता तथा लगानीकर्ताहरूका लागि एक्स्पो निकै फलदायी बन्ने आयोजकको विश्वास छ।

यस नवौँ एक्स्पोले मन्दीमा रहेको घरजग्गा तथा निर्माण क्षेत्रलाई नयाँ दिशा, आधुनिक प्रविधि र गतिशीलता प्रदान गर्दै मुलुकको अर्थतन्त्र चलायमान गराउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ असोज ४ गते आईतबार ०८:०८
प्रतिक्रिया

थप समाचार

नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्री वितरण

काठमाडौँ: नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले नुवाकोट र रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा...

कोरला नाकाबाट भित्रिएका च्याङ्ग्रा, देशभर अनलाइन डेलिभरी गर्ने तयारी

मुस्ताङ। दशैं–तिहारलाई लक्षित गर्दै चीनबाट मुस्ताङको कोरला नाका हुँदै च्याङ्ग्रा भित्रिन थालेका छन्। रसुवागढी र तातोपानी नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने मालवस्तुको प्रमुख वैकल्पिक...

घरजग्गा मेलामा अपी इन्फ्राको विशेष अफर, फुल फर्निस्ड अपार्टमेन्टदेखि निःशुल्क पार्किङसम्म

काठमाडौँः राजधानीको भृकुटीमण्डपमा जारी घरजग्गा मेलामा अपी इन्फ्रा लिमिटेडका विभिन्न अपार्टमेन्ट परियोजना पनि प्रदर्शनीमा राखिएका छन्। ललितपुरको झम्सिखेल र बानेश्वरमा निर्माण भइरहेका...

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध ५ गतेदेखि पत्रकार महासंघ आन्दोलनमा

काठमाडौं। नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकममा गरिएको कटौतीको विरोधमा असोज ५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने भएको छ। महासंघका महासचिव...

नोभा क्राउन प्रिमियम आइसक्रिमको ब्रान्ड एम्बेसडरमा अभिनेत्री शिल्पा मास्के

काठमाडौं। फिस्टेल डेरी प्रालिअन्तर्गतको प्रिमियम आइसक्रिम ब्रान्ड नोभा क्राउन प्रिमियम आइसक्रिमले अभिनेत्री शिल्पा मास्केलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। प्रिमियम स्वाद, आधुनिक...
photo-4_4b1ab1d6
आर्थिक नीति

२ सयको सामान किन्नेले पाए १० लाख, १ लाख जित्ने ३१ जनामा तपाईँ पर्नुभयो कि? [हेर्नुहोस् सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ। विभागले भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको...
nepse
शेयर बजार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...
dirdhu_kumar
कर्पोरेट

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेबारीमा रहेका श्रेष्ठलाई...
nepse
आर्थिक नीति

सेयर बजार सुदृढीकरण तथा पुनरूत्थानमा २१ बुँदै कार्ययोजना, लाभकर अधिकतम ५ प्रतिशत

अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गरेको हो। यसअघि १० प्रतिशतसम्म थियो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना