२०८३ असोज ४ गते आईतबार

‘सेयर बजारमा युगान्तकारी परिवर्तन हुनेगरी काम सुरु भएको छ’

 |  डा गोपालप्रसाद भट्ट
Sanket

डा गोपालप्रसाद भट्ट

काठमाडौँ, भदौ ३१
News 3 (1).psd (3)

मुलुकको धितोपत्र बजार अहिले एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)को नेतृत्व सम्हालेपछि मैले सबैभन्दा पहिले बजारलाई अब परम्परागत ढाँचामा मात्र सीमित राखेर हुँदैन भन्ने महसुस गरेको छु। यसलाई नेपालको समग्र अर्थतन्त्र, उद्यमशीलता, लगानी र दीर्घकालीन पुँजी निर्माणसँग जोड्न आवश्यक छ।

धितोपत्र बजार सेयर खरिद–बिक्री गर्ने थलो मात्र होइन। यो राष्ट्रिय अर्थतन्त्रको ऐना र दीर्घकालीन पूँजी निर्माणको महत्त्वपूर्ण आधारस्तम्भ हो। त्यसैले मेरो प्राथमिकता बजारको विस्तार मात्र नभएर, यसको संरचनात्मक सुधार, आधुनिकीकरण, पारदर्शिता र विश्वसनीयता बढाउनु हो।

सेबोनको नेतृत्वमा आएपछि मैले बजारका प्रमुख सरोकारवालासँग प्रत्यक्ष संवादलाई विशेष प्राथमिकता दिएको छु। मैले पहिलोपटक मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत (सीईओ), नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया भएका छन्।

मलाई लाग्छ, नियामकले मात्र निर्णय गरेर पुँजी बजार आधुनिक बन्न सक्दैन। बजारमा प्रत्यक्ष रूपमा काम गरिरहेका व्यवसायी, लगानीकर्ता, मध्यस्थकर्ता र अन्य सरोकारवालाको अनुभव र सुझावलाई सुधार प्रक्रियामा समेट्नुपर्छ।

यसै कारण हामीले सहभागितामूलक र परामर्शमा आधारित नियमनको अभ्यासलाई अघि बढाएका छौँ। आगामी एक वर्षमा धितोपत्र बजारमा केही ऐतिहासिक तथा युगान्तकारी परिवर्तन देखाउने गरी आवश्यक गृहकार्य र तयारीलाई तीव्रता दिइरहेका छौँ।

प्राथमिक बजारलाई बलियो बनाउनुपर्छ

नेपालमा पुँजी बजार भन्नासाथ धेरैको ध्यान दोस्रो बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हुने सेयर कारोबारतर्फ जाने गरेको छ। तर मेरो बुझाइमा पुँजी बजारको वास्तविक जग प्राथमिक बजार हो। प्राथमिक बजार बलियो नभएसम्म दोस्रो बजार दीर्घकालीन रूपमा बलियो हुन सक्दैन।

हाम्रो प्राथमिक बजारमा लामो समयदेखि एउटा महत्त्वपूर्ण समस्या रहँदै आएको छ—धितोपत्रको वास्तविक मूल्य निर्धारणका लागि पर्याप्त र पारदर्शी प्राइस डिस्कभरी मेकानिजम को अभाव। यसलाई सुधार गर्न योग्य संस्थागत लगानीकर्ता (क्वालिफाइड इन्स्टिच्युसनल इन्भेस्टर्स) को विकास र सहभागिता बढाउन आवश्यक छ। संस्थागत लगानीकर्ताले कम्पनी तथा धितोपत्रको वित्तीय र प्राविधिक विश्लेषण गरेर सही मूल्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।

त्यसैगरी, नयाँ–नयाँ धितोपत्र निष्कासनलाई सहज, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक कानुनी तथा रेगुलेटरी फ्रेमवर्क मा सुधार अघि बढाइरहेका छौँ।

ऋणपत्र बजारलाई विस्तार गर्ने लक्ष्य

नेपालका उद्योग तथा व्यवसायले दीर्घकालीन पुँजीका लागि बैंक ऋणमा मात्र निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ। त्यसका लागि संस्थागत ऋणपत्र (कर्पोरेट बन्ड) तथा सरकारी ऋणपत्रको बजारलाई थप विकसित बनाउन आवश्यक छ।

हाम्रो उद्देश्य बैंकिङ प्रणालीसँगै धितोपत्र बजारलाई पनि दीर्घकालीन पुँजी परिचालनको प्रभावकारी माध्यम बनाउनु हो। यसले उद्योग–व्यवसायलाई वैकल्पिक वित्तीय स्रोत उपलब्ध गराउनेछ भने लगानीकर्तालाई पनि लगानीका थप विकल्प दिनेछ।

दोस्रो बजारमा नयाँ वित्तीय उपकरण

प्राथमिक बजारबाट जारी भएका धितोपत्रलाई लगानीकर्ताले आवश्यक पर्दा सहज रूपमा नगदमा रूपान्तरण गर्न सक्ने वातावरणका लागि दोस्रो बजार बलियो हुनुपर्छ। दोस्रो बजारले तरलता मात्र होइन, निरन्तर मूल्य निर्धारणको भूमिका पनि निर्वाह गर्छ।

त्यसैले हामी नेपालको दोस्रो बजारलाई केवल सामान्य सेयर कारोबारमा सीमित राख्न चाहँदैनौँ।

मार्जिन लेन्डिङलाई थप व्यवस्थित र नियमन गर्दै प्रभावकारी बनाउने तयारी भइरहेको छ। त्यस्तै, एकै दिनभित्र सेयर खरिद तथा बिक्री गर्न सकिने इन्ट्राडे ट्रेडिङका लागि आवश्यक प्राविधिक तथा कानुनी पूर्वाधार निर्माण भइरहेको छ।

सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ (एसएलबी) प्रणालीले पनि बजारमा तरलता बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। यससँगै सर्ट सेलिङ तथा विशेषगरी कभर्ड सर्ट सेलिङ जस्ता उपकरणलाई परीक्षण तथा कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ।

भविष्यमा डेरिभेटिभ मार्केट सुरु गर्ने, ऋणपत्रसम्बन्धी नियमावलीलाई परिमार्जन गर्ने तथा साना लगानीकर्ताका लागि ओपन–इन्ड म्युचुअल फन्ड्सलाई थप सुरक्षित र प्रभावकारी बनाउने दिशामा पनि हामी अघि बढिरहेका छौँ।

स्टार्टअपदेखि ठूला कम्पनीसम्म धितोपत्र बजारको पहुँच

धितोपत्र बजार केही ठूला र स्थापित कम्पनीको मात्र क्षेत्र हुनु हुँदैन। अर्थतन्त्रका विभिन्न चरणमा रहेका उद्यमले आफ्नो आवश्यकताअनुसार बजारबाट स्रोत जुटाउन सक्ने व्यवस्था आवश्यक छ।

त्यसैले हामीले नवप्रवर्तन (स्टार्टअप), साना तथा मझौला उद्यम (एसएमई) र स्थापित ठूला कम्पनीलाई उनीहरूको प्रकृति र विकासको चरणअनुसार धितोपत्र बजारमा जोड्ने अवधारणालाई अघि सारेका छौँ।

नवीन सोच भएका स्टार्टअपले प्रारम्भिक चरणमै भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटीमार्फत पुँजी प्राप्त गर्न सक्ने वातावरण बनाउदै छौँ। त्यस्तै, साना तथा मझौला उद्यमका लागि छुट्टै एसएमई प्लेटफर्म विकास गरी उनीहरूलाई इक्विटी पूँजी जुटाउने अवसर दिनुपर्छ।

ठूला तथा स्थापित व्यवसायका लागि मेन बोर्डमार्फत पुँजी परिचालनको वातावरण अझ प्रभावकारी बनाउनुपर्छ। यसले उद्यमीलाई व्यवसायको जुनसुकै चरणमा पुँजीको पहुँच दिनुका साथै लगानीकर्तालाई पनि आफ्नो जोखिम बहन गर्न सक्ने (रिस्क एपेटाइट) क्षमताअनुसार विभिन्न प्रकारका धितोपत्र छनोट गर्ने अवसर दिनेछ।

नेप्से र सेबोनको संरचनात्मक सुधार

आधुनिक धितोपत्र बजारका लागि आधुनिक नियामक र आधुनिक बजार संरचना अपरिहार्य हुन्छ। त्यसैले नेप्सेको पुनर्संरचना पनि हाम्रो महत्त्वपूर्ण प्राथमिकतामध्ये एक हो।

सरकारको बजेटमा समेत नेप्सेको पुनर्संरचनाको विषय उल्लेख भएको छ। सेबोनले यस प्रक्रियामा आवश्यक सहयोग गर्नेछ र पुनर्संरचनाको प्रक्रिया अघि बढ्नेछ।

त्यसैगरी, नेपाल धितोपत्र बोर्डलाई समयसापेक्ष, अझ प्रभावकारी र आधुनिक धितोपत्र बजारका सबै आयामलाई सम्बोधन गर्न सक्ने कानुनी आधार आवश्यक छ। नेपाल राष्ट्र बैंकको आफ्नै स्वायत्त ऐन भएजस्तै सेबोनका लागि पनि छुट्टै र आधुनिक ऐनको आवश्यकता महसुस गरेका छौँ। त्यसका लागि नयाँ ऐनको मस्यौदा तयार गर्ने प्रक्रिया अघि बढिरहेको छ।

नियमनमा नयाँ सोच

नियमन भनेको केवल कारबाही गर्ने वा नियन्त्रण गर्ने माध्यम मात्र होइन। प्रभावकारी नियमन भनेको बजारलाई सुरक्षित, पारदर्शी र विश्वसनीय बनाउँदै विकासका लागि उपयुक्त वातावरण निर्माण गर्नु पनि हो।

त्यसैले हामी परम्परागत दण्डात्मक नियमन शैलीबाट सहभागितमूलक पद्धति (पार्टिसिपेटरी एप्रोच) तर्फ अघि बढिरहेका छौँ।

नयाँ नीति, नियम वा सुधारका कार्यक्रम ल्याउँदा बजारमा प्रत्यक्ष प्रभाव पर्ने सरोकारवालासँग गहन परामर्श गरिरहेका छौँ। सुधार समितिमा विभिन्न पेशागत तथा संस्थागत प्रतिनिधिलाई सहभागी गराउने र नयाँ नियम तथा निर्देशिकाका मस्यौदा सार्वजनिक गरी लगानीकर्ता, विज्ञ तथा सरोकारवालाबाट सुझाव लिने अभ्यासलाई निरन्तरता दिइरहेका छौँ।

प्रविधिमैत्री नियमन

आजको वित्तीय बजार प्रविधिबाट अलग रहन सक्दैन। त्यसैले सेबोनको नियमन र सुपरिवेक्षण प्रणालीलाई पनि प्रविधिमैत्री बनाउन आवश्यक छ। रेगुले–टेक (रेगुलेसन टेक्नोलोजी) मार्फत नियमन प्रक्रियालाई जोखिम र प्रविधिमा आधारित बनाउने हाम्रो प्रयास हो।

त्यसैगरी सप–टेक (सुपरभिजन) टेक्नोलोजीमार्फत उच्च जोखिम भएका क्षेत्रको सूक्ष्म तथा प्रभावकारी अनुगमन गर्ने प्रणाली विकास गर्न खोजिरहेका छौँ।

यससँगै जोखिममा आधारित नियमन (रिस्क–बेस्ड रेगुलेसन) र सुपरभिजनलाई प्रभावकारी बनाउँदै नियामक प्रणालीलाई थप आधुनिक र वैज्ञानिक बनाउने हाम्रो उद्देश्य हो।

अबको दिशा

नेपालको धितोपत्र बजार अहिले एउटा महत्त्वपूर्ण ‘इन्फ्लेक्सन पोइन्ट’मा छ। परम्परागत बैंक–आधारित वित्तीय प्रणालीबाट आधुनिक, प्रविधिमैत्री र फराकिलो पूँजी बजारमा आधारित वित्तीय प्रणालीतर्फ जाने ऐतिहासिक प्रयास भइरहेको छ।

मेरो दृष्टिमा सुधारको अर्थ केवल नयाँ नियम ल्याउनु वा नयाँ उपकरण थप्नु होइन। सुधारको वास्तविक अर्थ लगानीकर्ताको विश्वास बढाउनु, व्यवसायलाई पुँजीको सहज पहुँच दिनु, बजारलाई पारदर्शी बनाउनु र दीर्घकालीन रूपमा नेपालको अर्थतन्त्रलाई बलियो बनाउनु हो।

प्राथमिक बजारमा सही मूल्य निर्धारण, दोस्रो बजारमा आधुनिक वित्तीय उपकरणको प्रवेश, नेप्से र सेबोनको संरचनात्मक तथा कानुनी सुधार र रेग–टेक तथा सप–टेकमार्फत पारदर्शी सुशासन कायम गर्ने हाम्रो रणनीति यसै उद्देश्यतर्फ केन्द्रित छ।

यो यात्रा सेबोन एक्लैले पूरा गर्न सक्दैन। लगानीकर्ता, बजारका सम्पूर्ण सरोकारवाला निकाय, निजी क्षेत्र, सञ्चार जगत् र सम्बन्धित संस्थाहरूको सकारात्मक सहकार्य र योगदान आवश्यक छ।

हामीले एउटा नयाँ सुरुवात गरेका छौँ। अबको चुनौती यसलाई परिणाममा रूपान्तरण गर्नु हो। नेपालको धितोपत्र बजारलाई आधुनिक, विश्वसनीय, समावेशी र अर्थतन्त्रको दीर्घकालीन पुँजी निर्माणको बलियो आधार बनाउने दिशामा हामी प्रतिबद्ध छौँ।

प्रकाशित: २०८३ भदौ ३१ गते बुधबार ०७:४५
प्रतिक्रिया

थप समाचार

नेतृत्व हस्तान्तरणको परम्परा र देउवाको पदमोह

भर्खरै शेरबहादुर देउवाले एउटा वक्तव्यमा भनेका छन्—‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन, अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन, तर १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका...

पुँजी बजार पुनरुत्थान कार्ययोजनाले सुस्ताएको अर्थतन्त्र चलायमान बनाउनेछ

लगानीकर्ताहरुले कम्पनीको व्यवस्थापन, फ्युचर प्रस्पेटिभ, डेभिडेन्ड इल्ड र पीइ रेसियो जस्ता आधारभूत सूचकलाई हेरेर मात्र लगानी गर्नुपर्ने हुन्छ।

‘पूर्वाधार र उद्योगमा लगानी ल्याउने हो भने वातावरणसम्बन्धी कानुन सस्पेन्ड गर्नुपर्छ’

वन नै वातावरण भन्ने नेपालमा नयाँ भेरिएन्ट देखिएको छ। वातावरणलाई देखाएर जति प्रतिबन्धात्मक र नकारात्मक नियन्त्रणमा आधारित नीति र विधिहरू छन् तिनीहरूलाई खारेज गरेर मुलुकको पूर्वाधार क्षेत्रलाई...

लगानीकर्तालाई आत्मविश्वास दिलाउन तदर्थवादलाई प्रश्रय दिने कानुन सुधार आवश्यक

उद्यम व्यवसायलाई छेकेर अप्ठयारोमा पार्ने सोंच राखेर आफ्नो उदेश्य पूरा गर्न सजिलो हुन्छ भन्ने पुरानो मानसिकता राखि बनाइएका कानूनहरु अझै पनि विद्यमान छन्।

सरकार र निजी क्षेत्रको बलियो हातेमालो बिना अर्थतन्त्र माथि उठाउन असम्भव

सरकारका जिम्मेवार मन्त्रीको दैनिकी निजी क्षेत्रलाई तर्साउने र धम्काउने भएको छ। कोही मन्त्री खुट्टा भाँच्ने भन्नुहुन्छ, कोही थुन्ने भन्नुहुन्छ, कोही पाता कस्ने भन्नुहुन्छ। यस्तो त्रासपूर्ण...
photo-4_4b1ab1d6
आर्थिक नीति

२ सयको सामान किन्नेले पाए १० लाख, १ लाख जित्ने ३१ जनामा तपाईँ पर्नुभयो कि? [हेर्नुहोस् सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ। विभागले भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको...
nepse
शेयर बजार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...
dirdhu_kumar
कर्पोरेट

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेबारीमा रहेका श्रेष्ठलाई...
nepse
आर्थिक नीति

सेयर बजार सुदृढीकरण तथा पुनरूत्थानमा २१ बुँदै कार्ययोजना, लाभकर अधिकतम ५ प्रतिशत

अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गरेको हो। यसअघि १० प्रतिशतसम्म थियो।
Hotel
उद्योग

वनस्थलीमा ३ अर्ब लगानीमा पाँचतारे होटल हिमाल्टन बनाउँदै धमला 

होटलमा संस्थापकको स्वपुँजी (इक्विटी) र ऋण लगानी बराबरी १ः१ अनुपातमा हुने भएको छ। ऋण लगानी व्यवस्थापन भइसकेको होटल हिमालटनले जनाएको छ। हालसम्म संस्थापकहरुले ३१ करोड ८० लाख रुपैयाँ लगानी गरिसकेका...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना