काठमाडौँ: एक दशकयता ठूला व्यावसायिक घरनाहरूले होटलमा लगानी बढाएका छन्। प्रमुख शहर तथा पर्यटकीय गन्तव्यमा तारे स्तरका होटल तथा रिसोर्ट खुल्ने क्रम बढेका छन्।
बैंक तथा वित्तीय संस्थाहरूले पनि संभाव्यता देखेर होटल क्षेत्रमा लगानी बढाइरहेका छन्। हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले होटलमा २ खर्ब ३१ अर्ब रुपैयाँ बढी ऋण लगानी गरिसकेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
यस्तै पर्यटन व्यवसायी रमशेप्रसाद धमलाले राजधानीको वनस्थलीमा पाँचतारे होटल हिमाल्टन सञ्चालनमा ल्याउने भएका छन्। हाल होटलको पूर्वाधार निर्माण काम जारी छ। होटल वनाउन ३ अर्ब १ करोड रुपैयाँ लगानी हुने भएको छ।
होटलमा संस्थापकको स्वपुँजी (इक्विटी) र ऋण लगानी बराबरी १ः१ अनुपातमा हुने भएको छ। ऋण लगानी व्यवस्थापन भइसकेको होटल हिमालटनले जनाएको छ। हालसम्म संस्थापकहरूले ३१ करोड ८० लाख रुपैयाँ लगानी गरिसकेका छन्। हालसम्म २० प्रतिशत वित्तीय प्रगति भएको छ। निर्माणाधीन होटलमा १४२ कोठाहरू हुने भएका छन्।
टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड हिमालटनमा सबैभन्दा ठूलो संस्थापक लगानीकर्ता भएको छ। फन्डको हिस्सा ५७ प्रतिशत छ। फन्डको अध्यक्ष धमला नै रहेका छन्। होटलमा पर्यटनसम्वन्धि धेरै कम्पनीहरूको लगानी हुने भएको छ। होटल काठमाडौँको वनस्थलीमा केन्द्रमा अवस्थित छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग ८.६ किलोमिटर दुरीमा छ।
होटलमा फूड एन्ड बेभरेज, स्विमिङ पुल, सम्मेलन हल, वेडिङ एन्ड बैंक्वेट हल, हेल्थ क्लव, स्पालगायत आधुनिक सुविधाहरू समावेश छन्। सामान्यतया, होटलहरूलाई निश्चित लागतहरू पुनः प्राप्त गर्न अवधि चाहिन्छ। होटल परियोजनाहरूमा लामो लगानी अवधि हुन्छ।
किनकि, प्रिमियम होटलको निर्माणमा तीनदेखि चार वर्ष लाग्छ। जबकि, सञ्चालन स्थिरीकरणमा अर्को दुईदेखि तीन वर्ष लाग्न सक्छ। यसबाहेक, प्रिमियम होटलहरूले ठूलो लगानीको आवश्यकता पर्दछ।
मध्यम स्तरको बजेट होटलहरूको तुलनामा लामो अवधिहरू हुन्छन्। यस्तै अगाडि बढ्दै जाँदा ग्राहकहरूलाई आकर्षित गर्ने, अधिभोग स्तर कायम राख्ने, ब्रान्ड स्थापना र परिकल्पना गरिएअनुसार होटलबाट लाभ प्राप्त गर्ने कम्पनीको क्षमता महत्त्वपूर्ण मूल्यांकन कारक हुनेछ।
धमलाको आतिथ्य, पर्यटन र अन्य व्यावसायिक क्षेत्रमा एक दशकभन्दा बढी अनुभव छ। उनी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल( टान) का पूर्वअध्यक्ष र इकोलोजिकल ट्रेक्स प्राइभेट लिमिटेड र इकोलोजिकल टुर्स एण्ड ट्राभल्सका अध्यक्ष पनि हुन्।
होटलमा फन्डका निर्देशक राकेश धमला र शिवप्रसाद शर्मा साझेदार रहेका छन्। धमला वनस्थली फेमिली मार्ट प्राइभेट लिमिटेडका अध्यक्ष र इकोलोजिकल ट्रेक्स प्राइभेट लिमिटेड र इकोलोजिकल टुर्स एण्ड ट्राभल्स प्राइभेटलिमिटेडका प्रवन्ध निर्देशकका रुपमा कार्यरत छन्।
शर्मा फेवा कर्पोरेट एकाउन्टङ तथा ट्याक्सेसन सलुसन प्राइभेट लिमिटेडका अध्यक्ष र पारिजात बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक निर्देशक, बिजबजार लिमिटेडका निर्देशक, वन्दीपुर केबल कार एण्ड टुरिज्म लिमिटेडका निर्देशक, बिजनेस इम्प्याक्ट फन्ड लिमिटेडका अध्यक्ष छन्।