काठमाडौँः साताको दोस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३६.२५ अंकले घटेर २ हजार ६१८.०३ विन्दुमा झरेको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको बजारमा बुधबार भने करेक्सन देखिएको हो।
यस दिन कारोबार रकमसमेत घटेको छ। मंगलबार ७ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा बुधबार ३५२ स्टकको ६ अर्ब ३५ करोड ६६ लाख रुपैयाँभन्दा बढीको २ करोड १६ लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ।
यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सकारात्मक सर्किट लागेको छ। यता फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ८.५४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।


