काठमाडौँ: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएपछि भैरहवामा ठूला लगानीका तारे होटलहरू खुल्ने क्रम बढेको छ। बुद्धको जन्मस्थल र नेपाल–भारत सीमा नजिक भएकाले भैरहवा हाल पर्यटन ‘हब’ बनेको छ। यस क्षेत्रमा निजी क्षेत्रबाट होटलमा लगानी बढिरहेको छ।
यसैगरी भैरहवाको वेलहियामा व्यावसायिक घरानाहरूको सहवित्तीयकरणमा पाँचतारे र्याडिसन डिलक्स होटल निर्माण भइरहेको छ। हालसम्म होटलको भवन निर्माण ७८ प्रतिशत सम्पन्न भएको छ। यस्तै वित्तीय प्रगति ३२ प्रतिशत भएको अनन्त हस्पिटालिटी लिमिटेडले जनाएको छ। अनन्त हस्पिटालिटीले होटल सञ्चालन सम्झौता (अपरेटिङ फ्रेन्चाइज एग्रिमेन्ट) र्याडिसन होटल ग्रुपसँग गरेको छ।
‘र्याडिसन होटल भैरहवा’ ब्राण्डमा सञ्चालन हुने भएको छ। होटल बनाउन ३ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। निर्माणाधीन होटलमा १३१ कोठाहरू हुने भएका छन्।
आगामी सन् २०२८ मा होटल सञ्चालन गर्ने योजना अनन्त हस्पिटालिटीको छ। होटलको इन्टेरियर डिजाइनको काम सुरु हुन लागेको छ। होटल नेपाल–भारत सीमा सुनौली नजिक र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलोमिटर दुरीमा छ। होटलले भारतीय पर्यटकलाई लक्षित गरेको छ।
व्यावसायिक घराना भुसाल ग्रुपले निर्माण गरिरहेको होटल र्याडिसन भैरहवामा नयाँ लगानीकर्ताको प्रवेश भएको छ। सुस्त गतिमा निर्माण भइरहेको र्याडिसन होटल भैरहवामा गरिमा होल्डिङ लिमिटेड र रारा इको इन्भेष्टमेन्ट लिमिटेडको प्रवेश भएको हो।
दुई नयाँ लगानीकर्ताको प्रवेशपछि ३३ प्रतिशत भुसाल ग्रुप, ३३ प्रतिशत रारा इको र ३३ प्रतिशत गरिमाको स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ। नयाँ लगानीकर्ताको प्रवेशपछि होटलको अध्यक्षको जिम्मेवारी रारा इकोका प्रमुख कदम केसीले पाएका छन्।
भुसाल ग्रुपको बनाइरहेको र्याडिसन होटलमा नयाँ लगानीकर्ताको प्रवेश, एक अर्ब २० करोड लगानी
नयाँ लगानीकर्ताले होटलमा एक अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन्। जसअनुसार गरिमाले ६० करोड र रारा इकोले ६० करोड रुपैयाँ लगानी गरेका छन्।
होटलमा नयाँ लगानीकर्ताको प्रवेशसँग एभरेष्ट बैंकले पनि एक अर्ब १० करोड रुपैयाँ ऋण लगानीको सम्झौता गरेको छ। यस्तै १ अर्ब १० करोड ऋणको रेटिङ भएको छ। डबल बी माइन स्कोर पाएको छ।
होटलमा ऋण भन्दा पनि स्वपुँजी (इक्विटी) बढी लगानी भएको छ। जसअनुसार ६४ प्रतिशत संस्थापकको इक्विटी र बाँकी ३६ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ।
लगानीकर्ताहरूको होटल बिजनेस पहिलो हो। होटल बिजनेस नयाँ भएकाले ऋण भारको जोखिम कम लिन स्वपुँजी बढी लगानी गर्ने ती सञ्चालकले जानकारी दिए।
यसअघि भुसाल ग्रुपले मेगा होटलको नाममा सञ्चालनमा ल्याउने तयारी गरेको थियो। होटलको सुरुवाती लागत एक अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको थियो। कोभिड महामारीले समय थपिएपछि लागत बढेर डेढ अर्ब रुपैयाँसम्म पुगेको थियो।
साढे दुई बिघा क्षेत्रफलमा फैलिएको सो होटल एट सेपमा निर्माण भइरहेको छ। होटलमा तीन रेष्टुराँ, झण्डै हजार जना अट्ने बैंक्वेट हल, दुई मिटिङ हल, स्पा, स्वीमिङ पुल,क्यासिनोका साथै स्पोटर्स सेन्टर रहने छ।
बिलासी होटलहरूलाई सामान्यतया लगानी पुनः प्राप्त गर्न लामो अवधि चाहिन्छ। अन्तर्राष्ट्रिय प्रतिष्ठा र रेडिसन ब्रान्डको विश्वव्यापी नेटवर्कमार्फत व्यवस्थापन गरिने अपेक्षा गरिएको छ। तर नेपालको होटल उद्योगअत्यधिक प्रतिस्पर्धी रहेको छ।
पूर्व–पश्चिम राजमार्गसँग निर्वाध सम्पर्कको साथ बुटवल–सुनौली करिडोरमा अवस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल ३ किलोमिटरमा रहेको होटल परियोजनाले आन्तरिक र अन्तर्राष्ट्रिय यात्रु दुवैको लागि पहुँच प्रदान गर्दछ।
वार्षिक तीर्थयात्री, कर्पोरेट पाहुना र अन्तर्राष्ट्रिय स्तरको आतिथ्य खोज्ने सीमापार पर्यटकहरूको उच्च मागलाई होटलले पूरा गर्ने अपेक्षा गरिएको छ।


