काठमाडौँ: ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी)ले आयोजना गरेको बीपीसी क्रिकेट लिग २०२६ (इन्डोर) को उपाधि सिड च्यालेन्जर्सले जितेको छ। विजेता टोलीले ८० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।
द ब्रिटिश कलेज (टीबीसी)को भगिनी संस्था बीपीसीले सेप्टेम्बर २३ देखि २६ सम्म काठमाडौँको बुढानिलकण्ठ, चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा प्रतियोगिता आयोजना गरेको हो। एसीसीए टाइटल स्पोन्सर रहेको प्रतियोगिता ‘एसीसीए प्रेजेन्ट्स: बीपीसी क्रिकेट लिग २०२६’ नाममा सञ्चालन गरिएको थियो।
प्रतियोगितामा एसीसीएका विद्यार्थी, एफिलिएट, सदस्य, एसीसीए स्वीकृत लर्निङ पार्टनर, स्वीकृत रोजगारदाता तथा व्यक्तिगत एसीसीए सदस्य समूहका १६ टोलीले सहभागिता जनाएका थिए।
प्रतियोगितामा सीसीए आरसीबी प्रथम उपविजेता बनेको छ। टोलीले ५३ हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। त्यस्तै, सीसीए गोर्खाज द्वितीय उपविजेता बनेको छ भने उसले २६ हजार ६६६ रुपैयाँ पुरस्कार पाएको छ। तृतीय उपविजेता बीपीसी नाइट्सले गिफ्ट ह्याम्पर तथा लन्च/डिनर कुपन प्राप्त गरेको छ।
व्यक्तिगततर्फ सीसीए च्यालेन्जर्सका दिवास सिलवाल प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन्। उनले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। सिलवाल नै उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् र उनले थप १३ हजार ३३३ रुपैयाँ पुरस्कार पाए।
सिड च्यालेन्जर्सका अनन्त गौतम उत्कृष्ट बलर घोषित हुँदै १३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा २८ वटा म्यान अफ द म्याच पुरस्कार प्रदान गरिएको थियो।
प्रतियोगितामा सीसीए, बीपीसी, सिड एकेडेमी, लर्निङ पार्क, ब्राइट एकेडेमी, फिनटी लर्निङ हब, शिक्षा एकेडेमी, जीएनएस अस्त्रा, स्लुगर्स र एजीके पार्टनर्सलगायत विभिन्न संस्थाका टोली सहभागी थिए।
