काठमाडौँः सागर डिस्टिलरीले नेपाली बजारमा ‘नेप्से बुल्स’लाई नयाँ स्वरूपमा पुनः ल्याउने भएको छ। कम्पनीले स्कटल्यान्डको दुर्लभ माल्ट ह्विस्कीको परम्परा र विशेषतालाई आधार बनाएर ‘नेप्से बुल्स’ पुनः प्रस्तुत गर्न लागेको जनाएको छ।
कम्पनीका अनुसार ह्विस्कीका पारखीमाझ प्रयोग हुने ‘रेअर माल्ट’ कुनै कानुनी श्रेणी नभई लामो समयदेखि विकसित हुँदै आएको छनोटको परम्परा हो। यसको मुख्य आधार ह्विस्कीको उत्पत्ति, मौलिक चरित्र र दुर्लभता मानिन्छ।
सागर डिस्टिलरीले ‘नेप्से बुल्स’लाई ‘ए फाइन एक्सप्रेसन अफ स्कटिस रेअर माल्ट’ भन्ने अवधारणासहित बजारमा ल्याउन लागेको जनाएको छ। यसमा १० वर्ष पुरानो रेअर माल्ट प्रयोग गरिएको कम्पनीको दाबी छ। उक्त माल्ट स्कटल्यान्डका हाईल्यान्ड र स्पेसाइड क्षेत्रका विभिन्न माल्ट ह्विस्कीको मिश्रण रहेको बताइएको छ।
कम्पनीका अनुसार उक्त मिश्रणमा हाल अस्तित्वमा नरहेको एक डिस्टिलरीको ह्विस्कीसमेत समावेश छ। उपलब्ध माल्टको मात्रा सीमित रहेकाले त्यसको सानो हिस्सा मात्र ‘नेप्से बुल्स’मा प्रयोग गरिएको कम्पनीले जनाएको छ।
सागर डिस्टिलरीले नेपाली ह्विस्की उपभोक्ताको रुचि र अपेक्षा परिवर्तन हुँदै गएको दाबी गरेको छ। विदेश भ्रमण तथा अन्तर्राष्ट्रिय बजारको अनुभवसँगै नेपाली उपभोक्ताले ह्विस्कीको मूल्यसँगै त्यसको उत्पत्ति, निर्माण प्रक्रिया र विशेषताबारे पनि चासो राख्न थालेको कम्पनीको भनाइ छ।
कम्पनीले नयाँ नाम सिर्जना गर्नुको सट्टा नेपाली उपभोक्तामाझ परिचित ‘नेप्से बुल्स’ ब्रान्डलाई नै नयाँ स्वरूपमा अघि बढाउने निर्णय गरेको जनाएको छ। ‘रेअर माल्ट’को अवधारणामार्फत नेपाली ह्विस्की बजारमा फरक अनुभव र कथा प्रस्तुत गर्ने कम्पनीको उद्देश्य रहेको बताइएको छ।


