काठमाडौँः आइएमई ग्रुप सिनर्जी कप २०८३ को उपाधि स्वीफ्ट टेक्नोलोजीले जितेको छ। काठमाडौंस्थित धन्वन्तरी फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा स्वीफ्ट टेक्नोलोजीले आइएमई वारियर्सलाई ५–१ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
आइएमई ग्रुपको आयोजनामा भएको प्रतियोगितामा पहिलो खेल आइएमई ग्रुप म्यानेजमेन्ट समूह र ग्रुपअन्तर्गतका कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीच भएको थियो। उक्त खेलमा आइएमई ग्रुप म्यानेजमेन्ट समूहले २–० को जित निकालेको थियो।
प्रतियोगितामा आइएमई ग्रुपअन्तर्गतका १८ कम्पनीले सहभागिता जनाएका थिए। उपाधि विजेता स्वीफ्ट टेक्नोलोजीले ट्रफीसहित १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। यस्तै, दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ र तेस्रो हुने टोलीले ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
सिनर्जी कपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइएमई ग्रुपका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतियोगिताले ग्रुपअन्तर्गतका कर्मचारीबीच आपसी सौहार्दता र सहकार्यलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
त्यस्तै, प्रतियोगिताको ट्रफी हस्तान्तरण गर्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले प्रतियोगितामा सहभागी सबै समूहले उत्कृष्ट प्रदर्शन गरेको बताए। उनले आगामी वर्षको प्रतियोगितामा अझ बढी उत्साह र ऊर्जाका साथ सहभागिता जनाउन सबै टोलीलाई शुभकामना दिए।
आइएमई ग्रुपको आयोजनामा पहिलोपटक भएको सिनर्जी कप २०८३ को डिसहोमअन्तर्गतको एक्सन स्पोर्ट्स एचडी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।
