बुटवलमा युवापुस्ताको ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको पल्सर आरपीएम सम्पन्न भएको छ। बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजित कार्यक्रममा करिब २,५०० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा बाइक स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, बिबोइङ, ग्राफिटी र डिजे प्रस्तुतिलगायत सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि प्रस्तुत गरिएको थियो। पल्सर एन१६० मार्फत गरिएको स्टन्ट प्रदर्शनले कार्यक्रमको आकर्षण थप बढाएको थियो। स्थानीय कलाकार, राइडर तथा विभिन्न विधाका प्रतिभाको सहभागिताले कार्यक्रमलाई स्थानीय परिवेशसँग समेत जोडेको थियो।
कार्यक्रममा स्थानीय डिजे पिज्जा र डिजे नकआउटले प्रस्तुति दिएका थिए। त्यस्तै, पल्सर एन१६० र एनएस२०० का डिस्प्ले तथा टेस्ट राइड जोनमार्फत सहभागीले मोटरसाइकललाई नजिकबाट अनुभव गर्ने अवसर पाएका थिए। कफी, खानाका परिकार तथा गिफ्ट पप–अप स्टलसमेत राखिएको थियो।
पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नरही स्थानीय प्रतिभा तथा युवा समुदायलाई आफ्नो सीप, रुचि र सृजनशीलता प्रस्तुत गर्ने मञ्चका रूपमा आयोजना गरिएको बजाज पल्सरले जनाएको छ। काठमाडौंमा सुरु भएको पल्सर आरपीएम बुटवलसम्म विस्तार हुँदै स्थानीय युवा समुदाय र सडक संस्कृतिसँग जोडिएको हो।
कार्यक्रम सफल बनाउन योगदान पुर्याउने कलाकार, राइडर, डिजे, साझेदार, सञ्चारमाध्यम, आयोजक टोली, विक्रेता तथा सहभागी सबैलाई बजाज पल्सरले धन्यवाद व्यक्त गरेको छ।
