काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका केही व्यक्ति र नातेदारका घरमा एकैपटक अनुसन्धान तथा खानतलासी गरेको हो ।
विभाग तथा प्रधानमन्त्री निकट स्रोतका अनुसार जबराको निवाससँगै नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा समेत टोली पुगेको छ ।
अनुसन्धानको दायरा जबराका पारिवारिक सदस्यसम्म पनि विस्तार भएको छ । उनका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा समेत विभागको टोलीले खानतलासी गरेको स्रोतले जनाएको छ ।
खानतलासीका क्रममा अनुसन्धानसँग सम्बन्धित महत्वपूर्ण कागजातहरू बरामद गरिएको स्रोतको दाबी छ । विभागले कुन(कुन विषय र कारोबारलाई आधार बनाएर अनुसन्धान अघि बढाएको हो भन्नेबारे भने औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।
जबरासहित उनीसँग सम्बन्धित व्यक्तिहरूको सम्पत्ति, आर्थिक कारोबार तथा त्यसको स्रोतबारे अनुसन्धान भइरहेको बुझिएको छ । अनुसन्धानका क्रममा भेटिएका कागजात र अन्य प्रमाणका आधारमा थप प्रक्रिया अघि बढ्ने विभाग स्रोतको भनाइ छ ।
यसअघि केही दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई उनकै निवासबाट मध्यराति नियन्त्रणमा लिएको थियो । करिब १२ घण्टा नियन्त्रणमा राखेपछि उनलाई छाडिएको थियो ।
जबरामाथि पछिल्ला दिनमा विभिन्न निकायबाट अनुसन्धान अघि बढिरहेका बेला सम्पत्ति शुद्धीकरण विभागले उनीसँग सम्बन्धित व्यक्ति र आफन्तको घरसम्म अनुसन्धान विस्तार गरेको हो ।
