वासिंटन डीसी- अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धमा ‘हार’ बेहोर्नुपरेको बताएका छन्। वाग्नर समूहको विद्रोहका कारण कमजोर पुटिन भएको वा नभएको भनेर अहिले नै भन्न सकिने अवस्था नरहेकोसमेत उल्लेख गरेका छन्।
ह्वाइटहाउसमा पत्रकारहरूले पुटिन अहिले कमजोर भए/नभएको भनी सोधिएको प्रश्नमा बाइडेनले भने, ‘यो भन्न गाह्रो छ, तर उनले युक्रेनमा युद्ध हारेका छन् र स्वदेशमा पनि हारिरहेका छन्।’ पुटिन अहिले ‘संसारभरबाट एक्लिएको’ बाइडेनले दाबी गरे।
गत हप्ता रूसमा भएको असाधारण घटनाको परिणामबारे अमेरिकाले सावधानीपूर्वक विश्लेषण गरिरहेको उनको भनाइ छ। ‘युक्रेनमा रूसी सेनाको सबैभन्दा सक्षम भागमध्ये एक वाग्नर समूहका सेनाहरूले विद्रोह गरेको र मस्कोमा आक्रमण गर्ने धम्की दिएको छ,’ उनले भन।
बाइडेनले गत वर्षको फेब्रअरीमा सुरु भएको रूसी आक्रमणविरुद्ध युक्रेनको प्रतिरोधलाई समर्थन गर्ने पश्चिमा अभियानको नेतृत्व गरिरहका छन्।


