काठमाडौँ: नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले डिजिटल भुक्तानी इकोसिस्टममा उत्कृष्ट योगदान पुर्याउने बैंक तथा वित्तीय संस्था, व्यवसाय र प्रविधि साझेदारलाई सम्मान गरेको छ। कम्पनीले पहिलोपटक आयोजना गरेको ‘फोनपे अनर्स २०८३’ मा सात विधाअन्तर्गत २५ वटा सम्मान प्रदान गरेको हो।
अक्टोबर ९ मा काठमाडौंस्थित द सोल्टीमा आयोजित कार्यक्रममा ४०० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा पूर्वअर्थमन्त्री रामेश्वर खनाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। बैंक तथा वित्तीय संस्था, नियामक निकाय, फिनटेक कम्पनी, व्यवसायी र प्रविधि साझेदारका प्रतिनिधि कार्यक्रममा उपस्थित थिए।
फोनपेले कार्यक्रममा डिजिटल भुक्तानीलाई थप सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित नयाँ सेवा तथा उत्पादनसमेत सार्वजनिक गरेको छ। कम्पनीले नियमित भुक्तानी स्वचालित बनाउने ‘अटोपे’, समूहगत खर्च व्यवस्थापन गर्ने ‘फोनपे सर्कल’ र आवाजको माध्यमबाट भुक्तानी गर्न सकिने ‘टक टु पे’ सार्वजनिक गरेको हो।
त्यस्तै, फोनपे बिजनेस एपलाई पुनः ब्रान्डिङ गर्दै ‘फोनबिज’ नामबाट प्रस्तुत गरिएको छ। यस एपमार्फत व्यवसायीले भुक्तानीको विवरण हेर्न, कर्मचारीको तलब तथा विक्रेतालाई रकम भुक्तानी गर्न, व्यावसायिक प्रतिवेदन प्राप्त गर्न र कर्जाका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
सम्मानअन्तर्गत फोनपे क्यूआरमा सर्वाधिक कारोबार गर्ने वाणिज्य बैंकको जारीकर्तातर्फ ग्लोबल आइएमई बैंक र अधिग्रहणकर्तातर्फ एनआईसी एसिया बैंक सम्मानित भएका छन्। विकास बैंकतर्फ दुवै विधामा मुक्तिनाथ विकास बैंक तथा वित्त कम्पनीतर्फ मञ्जुश्री फाइनान्सले सम्मान पाएका छन्। वालेट साझेदारतर्फ जारीकर्ता र अधिग्रहणकर्ता दुवै विधामा इसेवा सम्मानित भएको छ। फोनपे क्यूआरका लागि सर्वाधिक सक्रिय व्यापारी आबद्ध गराउने साझेदारको सम्मान कुमारी बैंकले पाएको छ।
फोनपे डाइरेक्टमा सर्वाधिक कारोबार गर्ने वाणिज्य बैंकतर्फ ग्लोबल आइएमई बैंक, विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंक र वित्त कम्पनीतर्फ मञ्जुश्री फाइनान्स सम्मानित भएका छन्। फोनपे बिल्समा सर्वाधिक कारोबार गर्ने साझेदारको सम्मान नबिल बैंकले प्राप्त गरेको छ।
सीमापार भुक्तानीतर्फ सर्वाधिक कारोबार संख्या र रकम दुवै विधामा इसेवा सम्मानित भएको छ। फोनपे क्रेडिट कार्ड जारी गर्ने वाणिज्य बैंकतर्फ लक्ष्मी सनराइज बैंक, विकास बैंकतर्फ गरिमा विकास बैंक र वित्त कम्पनीतर्फ मञ्जुश्री फाइनान्सले सम्मान पाएका छन्। फोनपे क्रेडिट कार्डमा सर्वाधिक कारोबार गर्ने साझेदारको सम्मान सिटिजन्स बैंकले प्राप्त गरेको छ।
व्यापारी विधामा सर्वाधिक फोनपे क्यूआर भुक्तानी स्वीकार गर्ने व्यापारीका रूपमा मेगा मार्ट र फोनपे क्रेडिट कार्ड भुक्तानी स्वीकार गर्ने व्यापारीका रूपमा भाटभटेनी सुपर मार्केट सम्मानित भएका छन्।
विशेष सम्मानअन्तर्गत उच्च प्रभावकारी रणनीतिक सहकार्यका लागि सिटिजन्स बैंक, उद्यम स्रोत योजना (ईआरपी) एकीकरणका लागि आईएमएस सफ्टवेयर, वित्तीय प्रविधि प्रणाली विकासमा योगदानका लागि काठमाडौं फिनटेक तथा डिजिटल भुक्तानीमा उत्कृष्ट योगदानका लागि भाटभटेनी सुपर मार्केट सम्मानित भएका छन्।
कार्यक्रममा पूर्वअर्थमन्त्री खनालले डिजिटल भुक्तानीले नेपालको वित्तीय तथा आर्थिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए। उनले डिजिटल अर्थतन्त्रको विकासका लागि निरन्तर नवप्रवर्तन, सहकार्य र जिम्मेवार विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले नेपालको डिजिटल भुक्तानी इकोसिस्टम नियामक निकाय, वित्तीय संस्था, व्यापारी, प्रविधि साझेदार र लाखौँ प्रयोगकर्ताको सामूहिक प्रयासबाट विकास भएको बताए। आगामी दिनमा पनि सहकार्य, विश्वास र नवप्रवर्तनमार्फत डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने उनले प्रतिबद्धता व्यक्त गरे।
डिजिटल भुक्तानी दैनिक कारोबारको अभिन्न हिस्सा बन्दै गएको अवस्थामा फोनपे अनर्सलाई नेपालको डिजिटल वित्तीय क्षेत्रमा योगदान पुर्याउने संस्था, व्यवसाय र व्यक्तिलाई सम्मान गर्ने वार्षिक मञ्चका रूपमा विकास गर्ने कम्पनीको लक्ष्य छ।


