काठमाडौँ: सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल उडफोर्डलाई प्रदान गरिएको छ।
अर्थतन्त्रलाई स्थिर राख्ने नीतिको सूक्ष्म आर्थिक आधारसम्बन्धी अनुसन्धानका लागि उनीहरूलाई पुरस्कार प्रदान गरिएको रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले सोमबार घोषणा गरेको हो।
हल अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालय र उडफोर्ड कोलम्बिया विश्वविद्यालयसँग आबद्ध अर्थशास्त्री हुन्।
उनीहरूले विकास गरेका नयाँ समष्टिगत आर्थिक मोडेलले अर्थतन्त्रमा आउने उतारचढाव नियन्त्रण गर्न प्रभावकारी वित्तीय तथा मौद्रिक नीति तर्जुमा गर्ने क्षमतामा उल्लेखनीय सुधार गरेको एकेडेमीले जनाएको छ।
एकेडेमीका अनुसार यी मोडेलका आधारमा उपयुक्त समयमा वित्तीय र मौद्रिक नीतिका उपाय अपनाएर अर्थतन्त्रमा आउने तीव्र विस्तार र संकुचनको प्रभाव कम गर्न सकिन्छ। आर्थिक गतिविधि अत्यधिक बढ्दा उत्पन्न हुने दबाब र मन्दीका बेला देखिने गिरावटलाई नियन्त्रण गर्न नीतिगत निर्णयको समय महत्त्वपूर्ण हुने उनीहरूको अनुसन्धानको मूल पक्ष हो।
अर्थतन्त्रको उतारचढाव नियन्त्रणमा अनुसन्धानको महत्त्व
समष्टिगत अर्थशास्त्रले कुनै एक व्यक्ति वा कम्पनीको आर्थिक गतिविधिभन्दा समग्र अर्थतन्त्रको अवस्था अध्ययन गर्छ। यसमा कुल उत्पादन, रोजगारी, मुद्रास्फीति, ब्याजदर, उपभोग, लगानी र आर्थिक वृद्धिजस्ता विषय पर्छन्।
अर्थतन्त्र सधैँ एउटै गतिमा चल्दैन। कुनै समयमा उत्पादन, उपभोग र लगानी तीव्र गतिमा बढ्छन् भने अर्को समयमा माग घट्ने, व्यवसायको आम्दानी खुम्चिने र रोजगारीका अवसर कम हुने अवस्था आउन सक्छ। आर्थिक गतिविधिमा देखिने यस्ता आवधिक उतारचढावलाई आर्थिक चक्र भनिन्छ।
अर्थतन्त्रमा यस्तो चक्र आउनुका कारण अनेक हुन्छन्। उपभोक्ताको खर्च गर्ने व्यवहार, व्यवसायीको लगानी निर्णय, उत्पादन लागत, ऊर्जा मूल्य, ब्याजदर तथा सरकारका नीतिगत निर्णयले आर्थिक गतिविधिमा प्रभाव पार्न सक्छन्।
यस्तो अवस्थामा सरकारले खर्च र करसम्बन्धी निर्णयमार्फत तथा केन्द्रीय बैंकले ब्याजदर र मुद्रा आपूर्तिसम्बन्धी उपकरणमार्फत अर्थतन्त्रलाई स्थिर राख्ने प्रयास गर्छन्। तर यी उपायको प्रभाव तत्कालै वा सधैँ एउटै किसिमले देखिँदैन। त्यसैले नीतिगत निर्णय गर्दा अर्थतन्त्रमा रहेका व्यक्ति, परिवार र व्यवसायको व्यवहार बुझ्नु महत्त्वपूर्ण हुन्छ।
हल र उडफोर्डलाई प्रदान गरिएको पुरस्कार यही विषयसँग सम्बन्धित छ। उनीहरूको अनुसन्धानले व्यक्तिगत आर्थिक निर्णय र समग्र अर्थतन्त्रबीचको सम्बन्ध बुझ्न तथा त्यसका आधारमा स्थिरीकरण नीति निर्माण गर्न सहयोग पुर्याएको छ।
को हुन् रोबर्ट ई. हल?
रोबर्ट ई. हल अमेरिकाका अर्थशास्त्री हुन्। उनी स्ट्यानफोर्ड विश्वविद्यालयमा अर्थशास्त्रका प्रोफेसर इमेरिटसका रूपमा आबद्ध छन्। उनको अनुसन्धानको क्षेत्र समष्टिगत अर्थशास्त्र, श्रम अर्थशास्त्र, वित्तीय अर्थशास्त्र र आर्थिक नीतिसँग सम्बन्धित छ।
हलले रोजगारी, मुद्रास्फीति, प्रविधि, प्रतिस्पर्धा र समग्र अर्थतन्त्रमा आर्थिक नीतिको प्रभावबारे अध्ययन गरेका छन्। उनी सन् २०१० मा अमेरिकन इकोनोमिक एसोसिएसनका अध्यक्षसमेत बनेका थिए। उनले नेसनल ब्युरो अफ इकोनोमिक रिसर्चको आर्थिक उतारचढाव तथा वृद्धिसम्बन्धी अनुसन्धान कार्यक्रमको नेतृत्व पनि गरेका थिए।
माइकल उडफोर्ड को हुन्?
माइकल उडफोर्ड कोलम्बिया विश्वविद्यालयका अर्थशास्त्री हुन्। उनी त्यहाँ जोन बेट्स क्लार्क प्रोफेसर अफ पोलिटिकल इकोनोमीका रूपमा कार्यरत छन्। उनको अनुसन्धानको प्रमुख क्षेत्र समष्टिगत आर्थिक सिद्धान्त र मौद्रिक नीति हो।
उडफोर्डले ब्याजदर, मुद्रास्फीति, केन्द्रीय बैंकको नीतिगत सञ्चार र मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभावबारे विस्तृत अध्ययन गरेका छन्। उनको ‘इन्ट्रेस्ट एन्ड प्राइस’ पुस्तक मौद्रिक नीतिको सैद्धान्तिक आधारसम्बन्धी महत्त्वपूर्ण कृतिका रूपमा परिचित छ।
उनले सिकागो विश्वविद्यालयबाट स्नातक, येल विश्वविद्यालयबाट कानुनमा डिग्री र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) बाट अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन्।




