काठमाडौं। बैंक तथा वित्तीय संस्थामा निक्षेप बढे पनि कर्जा प्रवाह अपेक्षाकृत सुस्त देखिएको छ। चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो दुई महिना (भदौ मसान्तसम्म)मा बैंक तथा वित्तीय संस्थामा ७२ अर्ब ८० करोड रुपैयाँ निक्षेप थपिएको छ। निजी क्षेत्रतर्फको कर्जा प्रवाह ९३ अर्ब ५२ करोड रुपैयाँ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८३ खर्ब ४९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा निक्षेप ०.९ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप वृद्धि ०.५ प्रतिशत अर्थात् ३२ अर्ब ८६ करोड रुपैयाँमा सीमित थियो।
निक्षेप संकलनमा सुधार देखिए पनि निजी क्षेत्रमा प्रवाहित कर्जा भने १.६ प्रतिशतले मात्र बढेको छ। भदौ मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ५९ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.९ प्रतिशत अर्थात् ४९ अर्ब २४ करोड रुपैयाँले बढेको थियो।
वार्षिक विन्दुगत आधारमा निक्षेप १४.४ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ७.३ प्रतिशतले बढेको छ। यसले बैंकिङ प्रणालीमा निक्षेप वृद्धि कर्जाको तुलनामा उच्च रहेको देखाउँछ। राष्ट्र बैंकले चालू आर्थिक वर्षमा कर्जा विस्तार ११ प्रतिशत बढाउने लक्ष्य लिएको छ। यो लक्ष्य पुरा गर्न ७ खर्ब रुपैयाँ बढी कर्जा प्रवाह हुनुपर्छ।
कृषि र घरजग्गामा घट्यो
कर्जाको क्षेत्रगत वितरणमा पनि असमानता देखिएको छ। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा कृषि क्षेत्रमा प्रवाहित कर्जा २.२ प्रतिशत घटेको छ। वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा पनि ४.७ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ।
उत्पादन र व्यावसायिक गतिविधिसँग सम्बन्धित केही क्षेत्रमा भने कर्जा बढेको छ। खनिज क्षेत्रमा १०.४ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मतमा ७.६ प्रतिशत र धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रमा ७.३ प्रतिशत कर्जा विस्तार भएको छ।
निर्माण क्षेत्रमा कर्जा ३.७ प्रतिशत, सेवा उद्योगमा २.७ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा २.५ प्रतिशतले बढेको छ। तर उपभोग्य क्षेत्रमा कर्जा वृद्धि ०.२ प्रतिशतमा सीमित भएको छ।
घरजग्गा धितोमा निर्भरता कायमै
बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये ६२.८ प्रतिशत कर्जा घरजग्गा धितो सुरक्षणमा आधारित छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो हिस्सा ६४.३ प्रतिशत थियो। कृषि तथा गैरकृषिजन्य चालु सम्पत्तिको सुरक्षणमा प्रवाहित कर्जाको हिस्सा भने १५.६ प्रतिशत पुगेको छ।
कर्जाको प्रकृतिअनुसार आयातका लागि प्रयोग हुने ट्रस्ट रिसिट कर्जा ९.४ प्रतिशत बढेको छ। विपन्न वर्ग कर्जा ४.७ प्रतिशत, आवधिक कर्जा १.६ प्रतिशत र रियल इस्टेट कर्जा १.४ प्रतिशतले बढेको छ। तर क्यास क्रेडिट कर्जा १.३ प्रतिशत र अधिविकर्ष कर्जा १.२ प्रतिशतले घटेको छ।
निक्षेप बढे पनि लगानी विस्तार मुख्य चुनौती
बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा बचत निक्षेपको हिस्सा ४८ प्रतिशत र मुद्दती निक्षेपको हिस्सा ३४.७ प्रतिशत रहेको छ। संस्थागत निक्षेपको हिस्सा भने घटेर ३३.३ प्रतिशतमा झरेको छ।
निक्षेप बढ्नु बैंकिङ प्रणालीमा उपलब्ध स्रोत विस्तार हुनु हो। तर त्यसअनुसार निजी क्षेत्रको कर्जा माग र प्रवाह विस्तार नहुँदा अर्थतन्त्रमा लगानी बढाउने चुनौती कायम रहन्छ।
कर्जा प्रवाहको वास्तविक प्रभाव उत्पादन, रोजगारी र व्यवसाय विस्तारमा देखिन बैंकहरूले कर्जा दिन सक्ने अवस्था मात्रै होइन, ऋणीको माग, लगानीको सम्भावना र कर्जा लिने क्षेत्रको आर्थिक अवस्थासमेत महत्त्वपूर्ण हुन्छ।
गत भदौको प्रारम्भिक तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको औसत प्राथमिक पुँजी र पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात क्रमशः ९.८२ र १२.६४ प्रतिशत रहेको छ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको खुद तरल सम्पत्ति तथा निक्षेपको अनुपात ३७.४१ प्रतिशत रहेको छ। २०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात ५.६६ प्रतिशत रहेको छ।




