काठमाडौँः यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ। नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका मौसमविद् डेभिड ढकालले दशैँ अवधिमा देशका अधिकांश स्थानमा मौसम अनुकूल रहने देखिए पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताए।
उनका अनुसार फूलपाती अर्थात् असोज ३१ गते देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहने तथा अन्य प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ।
मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ।
फूलपातीका दिन देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।
यस्तै, रातिको समयमा देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने विभागले जनाएको छ।
अष्टमीमा पनि पहाडी तथा हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना
अष्टमी अर्थात् कात्तिक १ गते पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ। मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
अष्टमीका दिन पनि देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने पूर्वानुमान गरिएको छ।
कात्तिक २, ३ र ४ गते अर्थात् नवमीदेखि दशमीसम्म पनि देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने देखिएको छ।
यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ।
यी दिनमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।
समग्रमा यस वर्षको दशैँमा अधिकांश स्थानको मौसम सामान्यतया अनुकूल रहने देखिएको छ। यद्यपि पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित वर्षा र हिमपातलाई ध्यान दिनुपर्ने देखिन्छ।
त्यस्तै, तराईका केही स्थानमा बिहानपख लाग्न सक्ने हुस्सु तथा कुहिरोले जनजीवन र यात्रामा प्रभाव पार्न सक्ने भएकाले यात्रा गर्नुअघि मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न उपयुक्त हुनेछ।


