गण्डकी: अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ। विदेशी नागरिकका लागि निषेधित मानिएका उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्न पाउने कानुनी व्यवस्था छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार निषेधित क्षेत्र घुमेका पर्यटकबाट प्रवेश शुल्कबापत गत आर्थिक वर्षमा २१ करोड ६९ लाख ९७ हजार ५०० रुपैयाँ सङ्कलन भएको थियो। आयोजनाका प्रमुख डा. रविन कडरियाका अनुसार उपल्लो मुस्ताङमा १० दिनको भ्रमण अनुमति लिएका १,८५५ पर्यटकबाट प्रतिव्यक्ति ५०० डलर र एक दिनको भ्रमण गरेका २,५६९ पर्यटकबाट प्रतिव्यक्ति ५० डलर सङ्कलन गरिएको हो।
त्यस्तै सात दिनको भ्रमण अनुमति लिएर मनाङको नार फू क्षेत्रमा प्रवेश गरेका १,३३८ जना पर्यटकबाट प्रतिव्यक्ति १०० डलरका दरले प्रवेश शुल्क उठेको छ। निषेधित क्षेत्र प्रवेशको शुल्क अध्यागमन कार्यालयमार्फत सङ्कलन हुने गर्छ। अध्यागमन कार्यालयमार्फत उठ्ने निषेधित क्षेत्रको यो प्रवेश शुल्क सङ्घीय सरकारको राजस्व खातामा जाने गरेको आयोजना प्रमुख डा. कडरियाले बताए।
यसअघि निषेधित क्षेत्रको भ्रमण गरेका विदेशी पर्यटकबाट प्रवेश शुल्कबापत आर्थिक वर्ष २०८१/०८२ मा ३० करोड १७ लाख ५२ हजार रुपैयाँ र आर्थिक वर्ष २०८०/०८१ मा २३ करोड ८९ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। सरकारले तिब्बतसँग नाका जोडिएका यी हिमाली क्षेत्रहरूलाई निषेधित क्षेत्र घोषणा गरेको छ।


