काठमाडौँः हिमालयन बैंक वित्तीयरुपमा कमजोर बन्दै गएपछि सञ्चालक समितिमा विवाद पनि चर्किदै गएको छ। विवादसँगै बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) फेर्नका लागि सञ्चालकहरुबीच कसरत भइरहेको छ।
वर्तमान सीईओ अशोकशम्शेर जबराको व्यवस्थापकीय नेतृत्वमा बैंक अब अघि बढ्न नसक्ने निश्कर्षमा सञ्चालकहरु पुगेको उच्च स्रोतले बताएको छ। बैंक सुधार्नेभन्दा विगार्नमा उनको भूमिका बढी रहेको आरोप सीईओ राणामाथि लाग्दै आएको छ। यस्तै दबाबका कारण प्रचण्डबहादुर श्रेष्ठले गत भदौको पहिलो साता अध्यक्षबाट राजीनामा दिएका थिए।
पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्याल बैंकको अध्यक्ष बनेर आएपछि बैंकको सीईओ फेरबदल गर्ने विषयमा घनिभूत छलफल अघि बढेको छ। बैंकको वित्तीय अवस्था सुधार गर्न नयाँ सीईओ र नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बाहिरबाट ल्याउने विकल्पमा छलफल भइरहेको स्रोतको भनाई छ।
डा.अर्याल बैंकको अध्यक्ष बनेपछि हाल बैंकको व्यवस्थापकीय पुनर्संरचना र वित्तीय सूचक सुधार गर्ने विषयलाई प्राथमिकतामा राखिएको बताइएको छ।अर्थ मन्त्रालयमा लामो समय काम गरेका अर्थशास्त्री डा. अर्यालको वैकिङ क्षेत्रमा राम्रो दखल रहेको छ।
बैंकले पछिल्ला लगातार चार वर्षदेखि सेयरधनीलाई लाभांश वितरण गर्न सकेको छैन्। बैंकमा चालु आर्थिक वर्षमा समेत लाभांश दिन सक्ने अवस्था नरहेपछि सञ्चालकहरु नै सीईओ परिवर्तनमा लागेका हुन्।
बैंकको वित्तीय अवस्था खच्किदै गएपछि सीईओ राणामाथि पदबाट राजीनामा दिन दबाब बढेको स्रोतको दाबी छ। उनले दशैंलगतै राजीनामा गर्ने दाबी स्रोतको छ। उनी दुई दशक बढी समय हिमालयन बैंकको सीईओ छन्।
लामो समयदेखि एउटै व्यक्ति सीईओ हुँदा बैंकको वित्तीय अवस्था अपेक्षाअनुसार सुधार हुन नसकेको भन्दै सञ्चालक समितिमा नयाँ नेतृत्व ल्याउने विषयमा छलफल भइरहेको बताइएको छ। हिमालयन बैंक अहिले धेरै कमजोर भइसकेको छ। पहिलाको अवस्थामा बैंक नरहेको सञ्चालकहरुको दाबी छ।
स्रोतका अनुसार बैंकले आन्तरिक व्यवस्थापनबाट मात्रै नेतृत्व चयन गर्नेभन्दा बाहिरबाट अनुभवी तथा व्यावसायिक बैंकरलाई सीईओका रूपमा ल्याउने विकल्पमा जोड दिएको छ। डीसीईओ पदमा समेत नयाँ व्यक्ति नियुक्त गर्ने विषयमा गृहकार्य भइरहेको बताइएको छ।
यसअघि दुई जना डीसीईओले बैंक छाडिसकेका छन्। हाल वरिष्ठ डीसीईओका रूपमा सुनील गोर्खाली कार्यरत रहेका छन्। उच्च व्यवस्थापकीय तहलाई थप प्रभावकारी बनाउँदै बैंकको व्यवसाय विस्तार, खराब कर्जा व्यवस्थापन र वित्तीय अवस्था सुधार गर्ने उद्देश्यले नयाँ टिम निर्माणको विकल्प अघि सारिएको स्रोतको भनाइ छ।
यद्यपि, सीईओ राणाको राजीनामा, नयाँ सीईओ तथा डीसीईओ नियुक्ति वा नेतृत्व परिवर्तनसम्बन्धी निर्णयबारे निर्णय भएको छैन्।
वितरणयोग्य नाफा १० अर्ब ऋणात्मक
बैंकले गत आर्थिक वर्ष १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १२ करोड ९७ लाख रुपैयाँमा सीमित थियो।
तर, नाफामा देखिए पनि बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक रहेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। यसले बैंकको लाभांश वितरण गर्ने क्षमतामा अझै दबाब रहेको देखाउँछ।
बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष १० अर्ब ४५ करोड रुपैयाँबाट घटेर गत आर्थिक वर्षमा ८ अर्ब ८१ करोड रुपैयाँमा झरेको छ। खुद शुल्क तथा कमिसन आम्दानी पनि १ अर्ब १५ करोड रुपैयाँबाट घटेर १ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब २६ करोड रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। बैंकको सञ्चित नाफा अर्थात् रिटेन्ड अर्निङ ९ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक रहे पनि रिजर्भ भने २६ अर्ब ८० करोड रुपैयाँ धनात्मक छ।
खराब कर्जा ७.९६ प्रतिशत
बैंकको अर्को चुनौती खराब कर्जा व्यवस्थापन हो। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको खराब कर्जा अनुपात ७.९६ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ७५ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८९ करोड रुपैयाँ छुट्याएको छ।
यस अवधिमा बैंकको निक्षेप संकलन बढेको छ भने कर्जा प्रवाह केही घटेको छ। अघिल्लो आर्थिक वर्षमा ३ खर्ब ९ अर्ब रुपैयाँ रहेको निक्षेप बढेर ३ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ। यसबीचमा कर्जा प्रवाह २ खर्ब ३० अर्ब रुपैयाँबाट घटेर २ खर्ब २७ अर्ब रुपैयाँमा सीमित भएको छ। हिमालयनमा सिभिल बैंक समाहित भएको थियो।
नयाँ नेतृत्वसामु वित्तीय अवस्था सुधार्ने चुनौती
हिमालयन बैंकमा नेतृत्व परिवर्तन भएमा नयाँ व्यवस्थापनसामु खराब कर्जा घटाउने, नियमित आम्दानी बढाउने, कर्जा विस्तारलाई गति दिने र सञ्चित वित्तीय अवस्था सुधार्ने चुनौती रहनेछ।
खुद नाफामा भएको वृद्धिलाई दिगो बनाउँदै वितरणयोग्य नाफा सकारात्मक बनाउनु पनि बैंकका लागि महत्त्वपूर्ण हुनेछ। बैंकको नेतृत्व परिवर्तनसम्बन्धी छलफलले औपचारिक निर्णयको रूप लिन्छ वा लिँदैन भन्ने विषयसँगै आगामी दिनमा बैंकले आफ्नो वित्तीय अवस्था सुधार गर्न कस्तो रणनीति अपनाउँछ भन्नेमा लगानीकर्ताको चासो रहेको छ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि पाकिस्तानको हबिब बैंकको साझेदारीमा हिमालयन खुलेको हो। बैंकको अवस्था राम्रो नभएपछि हबिबले सेयर बेचेर बाहिरिसकेको छ। उक्त सेयर नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले खरिद गरेको छ।
२०४९ सालमा स्थापना हुँदा तत्कालीन संस्थापक पृथ्वीबहादुर पाँडेले श्रेष्ठलाई साझेदारका रूपमा भित्र्याएका थिए। पाँडेलाई १२.७७ प्रतिशत सेयर दिइएको थियो। पछि पाँडेले आफूसँग रहेको ९ प्रतिशत सेयर पनि श्रेष्ठलाई बेचेका थिएर बैंकमा श्रेष्ठ परिवारको नाममा बैंकमा २१ प्रतिशत बढी सेयर स्वामित्व छ।
हिमालयन बैंकमा राणा श्रेष्ठ समूह र खेतान समूहबीच सञ्चालक समितिको वर्चस्वलाई लिएर विवाद पनि उत्कर्षमा पुग्दै आएको छ। २०७८ मा नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि अध्यक्ष श्रेष्ठ र सीईओ राणाबीचको बोलचाल नै बन्द भएको थियो।


