काठमाडौँः रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग थपिने क्रम जारी छ । पछिल्लो विवरणअनुसार कोषमा जम्मा मौज्दात रकम १८ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सोमबार बिहान ९ बजेसम्म विभिन्न बैंकका खातामा गरी कोषको मौज्दात १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको हो ।
उपलब्ध विवरणअनुसार विभिन्न नौवटा वाणिज्य बैंकमा रहेको नेपाली रुपैयाँतर्फको मौज्दात १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ छ ।
यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको विदेशी मुद्राको मौज्दात ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर रहेको छ ।
भोटेकोशी बाढीपछि राहत तथा उद्धारका लागि सरकारी कोषमा सहयोग जुटिरहेको भए पनि हालसम्म संकलित रकमको ठूलो हिस्सा बैंक खातामै मौज्दात रहेको देखिन्छ । अब राहत कोषमा जम्मा भएको यो रकम बाढी प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा आवश्यक पूर्वाधार निर्माणमा कसरी र कति खर्च हुन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ।
कोषमा रकम थपिँदै जाँदा त्यसको परिचालन, खर्चको पारदर्शिता र प्रभावित क्षेत्रमा वास्तविक लाभ पुग्ने विषयमा पनि चासो बढेको छ ।


