काठमाडौँ: सिरहाको गोलबजार नगरपालिका पूर्वमेयर देवनाथ साहु तेलीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा तेलीसहित तत्कालीन उपप्रमुख रेशमकुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, अनन्तकुमार पौड्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, तत्कालीन राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्रकुमार यादवविरुद्ध अभियोगपत्र दायर गरेको हो।
सिरहाको गोलबजार नगरपालिकामा हाटबजारको ठेक्का र राजस्व हिनामिना गरेको आरोप उनीहरूमाथि छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुद्री हाटबजारको राजस्व संकलनसम्बन्धी ठेक्कामा अनियमितता गरी कुल १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा हिनामिना गरिएको आरोप छ।
तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख थापा, श्रीधर केसी र दिनेशकुमार सहनीविरुद्ध जनही १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरी कैद, बिगो बराबर जरिवाना र बिगो असुलउपर गर्न अख्तियारले माग गरेको छ।
यस्तै अनन्तकुमार पौड्याल, रामनारायण महतो र ठेकेदार वीरेन्द्रकुमार यादवविरुद्ध जनही १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा, १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा र १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरिएको छ।


