२०८३ कार्तिक १२ गते बुधबार

एनपीएलले बढायो होटलहरूको कारोबार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १२
NPL

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ।

यसवर्षको एनपीएलमा नेपाल क्रिकेट संघ (क्यान)ले प्रायोजन र टिकट बिक्री लगायत स्रोतबाट १ अर्ब ५० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ। यति मात्र नभई आठ फ्रेन्चाइज टोलीका खेलाडी, प्रशिक्षक र अन्य सदस्यको बसोबासदेखि खेल हेर्न आउने दर्शकको आवागमनसम्मले होटल, रेस्टुरेन्ट र यातायात व्यवसायमा समेत कारोबार बढाएको हो।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार एनपीएलका आठवटै फ्रेन्चाइज टोली काठमाडौंका विभिन्न पाँचतारे होटलमा बसेका छन्। यसले होटलको व्यापार बढाउनुका साथै नेपालमा खेल पर्यटन विस्तारको सम्भावना पनि देखाएको छ।

‘आठवटा फ्रेन्चाइज टोलीका सदस्यहरू ठूला पाँचतारे होटलमा बसेका छन्। यसले होटलको व्यापार बढाएको छ। टोलीका सदस्यबाहेक खेल हेर्न आउने दर्शकले पनि होटलमा बस्ने, खाने र यातायात प्रयोग गर्ने भएकाले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्छ,’ शाहले भने।

उनका अनुसार एनपीएलले तत्कालीन रूपमा होटल व्यवसायमा कारोबार बढाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने अवसरसमेत दिएको छ। प्रतियोगिता टेलिभिजनमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुगिरहेकाले त्यसलाई नेपालको पर्यटन प्रचारसँग जोड्न सके दीर्घकालीन लाभ लिन सकिने उनको भनाइ छ।

शाहले एनपीएललाई खेल पर्यटनको माध्यम बनाउने हो भने होटल व्यवसायी, नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र नेपाल क्रिकेट संघले संयुक्त योजना बनाएर अघि बढ्नुपर्ने बताए। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उपस्थिति र विदेशी खेलाडीको सहभागितालाई पर्यटन प्रवर्द्धनमा उपयोग गर्न सके थप पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ छ।

‘हामीसँग विश्वस्तरीय होटल छन् र निजी क्षेत्र लगानी गर्न तयार छ। अब सरकार, पर्यटन बोर्ड, क्रिकेट संघ र होटल व्यवसायी मिलेर योजना बनाउनुपर्छ। राम्रो योजना बनाउन सके अहिलेको आर्थिक प्रभावलाई अझ बढाउन सकिन्छ,’ उनले भने।

एनपीएलको प्रभाव ठूला होटलमा मात्र सीमित छैन। खेल हेर्न कीर्तिपुर पुग्ने दर्शकका कारण मैदान आसपासका खाजा पसल तथा अन्य साना व्यवसायमा पनि कारोबार बढ्ने अवसर सिर्जना भएको छ। प्रतियोगिताका खेल हेर्न विभिन्न फ्रेन्चाइजका समर्थक आउने क्रमले स्थानीय क्षेत्रमा खानेकुरा र पेय पदार्थको माग बढाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले पनि एनपीएलजस्ता खेलकुद गतिविधिले युवा वर्गलाई उत्साहित बनाउनुका साथै निजी क्षेत्रको बजार चलायमान बनाउन र पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने बताएका छन्। यस्ता प्रतियोगितालाई निरन्तरता दिन सके होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा आर्थिक गतिविधि बढ्ने उनको भनाइ छ।

‘यस्ता गतिविधिले आर्थिक क्षेत्रलाई बलियो बनाउन सहयोग गर्छन्। बजार चलायमान हुन्छ र खेलकुद क्षेत्रमा युवाको उत्साह बढ्छ,’ शर्माले भने, ‘तर एकपटक प्रतियोगिता गरेर रोकिनु हुँदैन। नियमित रूपमा यस्ता खेलकुद गतिविधि भइरहनुपर्छ।’

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको एनपीएलले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा कारोबार बढाउने अवसर सिर्जना गरेको छ। आठ फ्रेन्चाइज टोलीका खेलाडी, प्रशिक्षक तथा अन्य सदस्यको बसोबास र खेल हेर्न आउने दर्शकको आवागमनले होटल, रेस्टुरेन्ट तथा यातायात व्यवसायमा आर्थिक गतिविधि बढाएको हो।

शर्माका अनुसार एनपीएलले खेलकुदमा रुचि राख्ने दर्शकलाई आकर्षित गर्नुका साथै सीमावर्ती क्षेत्रबाट समेत मानिसको आवागमन बढाउन सक्छ। यसले पर्यटन र स्थानीय व्यवसायमा सकारात्मक प्रभाव पार्ने उनको बुझाइ छ। ‘खेलकुदप्रति रुचि राख्ने मानिसको जमात बढ्छ। सीमावर्ती क्षेत्रका मानिस पनि आकर्षित हुन सक्छन्। यसले पर्यटनलाई समेत प्रभाव पार्छ,’ उनले भने।

यस्तै, त्रिवि क्रिकेट मैदानबाहिर एनपीएल अवधिभरका लागि खाजा पसल सञ्चालन गरिरहेका स्थानीय होटल व्यवसायी नरेन्द्र कोजुका अनुसार खेल हुने दिन दर्शकको आवागमनले व्यापार गर्ने अवसर बढाएको छ। सामान्य अवस्थामा भन्दा प्रतियोगिताका कारण मैदानमा केन्द्रित हुने भीडले स्थानीय व्यवसायलाई ग्राहकसम्म पुग्ने अवसर दिएको उनको भनाइ छ।

एनपीएलमा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, जनकपुर बोल्ट्स र विराटनगर किंग्स गरी आठ टोली सहभागी छन्। विभिन्न क्षेत्रका टोली सहभागी भएकाले तिनका समर्थक काठमाडौं आउने क्रमले पनि स्थानीय व्यापारमा प्रभाव पार्ने सम्भावना छ। दर्शकको आवागमनले होटल तथा रेस्टुरेन्टसँगै सार्वजनिक यातायात र राइड सेयरिङ सेवाको माग बढाउन सक्ने विश्वास गरिएको छ।

खेल पर्यटनको दीर्घकालीन सम्भावना

होटल संघका अध्यक्ष शाहले एनपीएलबाट होटल व्यवसायमा कति प्रतिशत कारोबार वृद्धि भयो भन्ने यकिन तथ्यांक दिन नसकिने बताए। तर, प्रतियोगिताले सिर्जना गरेको आर्थिक गतिविधिलाई व्यवस्थित रूपमा विस्तार गर्न सके यसको लाभ बढाउन सकिने उनको भनाइ छ।

उनका अनुसार अन्तर्राष्ट्रिय खेल प्रतियोगितालाई पर्यटन प्याकेज, होटल सेवा र नेपालको पर्यटकीय गन्तव्यसँग जोड्न सके एनपीएल नियमित खेल प्रतियोगिताभन्दा बाहिर पनि आर्थिक अवसर सिर्जना गर्ने माध्यम बन्न सक्छ। त्यसका लागि प्रतियोगिताको प्रचारसँगै विदेशी समर्थकलाई आकर्षित गर्ने र उनीहरूको बसाइ अवधि बढाउने रणनीति आवश्यक छ।

एनपीएलले होटल तथा स्थानीय व्यवसायमा तत्कालीन कारोबार बढाउने अवसर दिएको भए पनि त्यसलाई दीर्घकालीन खेल पर्यटनमा रूपान्तरण गर्न सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक देखिएको छ।

प्रकाशित: २०८३ कार्तिक १२ गते बुधबार ०२:०६
प्रतिक्रिया

थप समाचार

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना