काठमाडौँ: विदेशी महँगा ब्रान्डका मदिरा आयात गरेर बेच्दै आएका ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवालले ऋण नतिरेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले सम्पत्ति लिलामी गरेर कर्जा असुलीको प्रक्रिया थालेको छ।
बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो। बैंकले जग्गा खरिदका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो १८ गते बिहीबार र १९ गते शुक्रबार बोलपत्र खोल्ने जानकारी दिएको छ।
कर्जा सम्झौताबमोजिम पटक पटक मौखिक र लिखित ताकेता गर्दा पनि तिर्नेतर्फ पहल नगरेको हुनाले सम्पत्ति लिलाम गर्न लागेको बैंकले जनाएको छ। यद्यपि, बैंकले अग्रवाललाई कर्जा तिर्न सात दिनको समय दिएको छ। उक्त म्यादभित्र कर्जा चुक्ता नभए ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरी धितोबन्धक लेखिदिएको सम्पत्ति बेचेर असुल गर्ने बैंकले जनाएको छ।
२०७८ पुसदेखि समस्यामा परेका थिए अग्रवाल
ग्रिनलाइनका सञ्चालक अग्रवालको सम्पत्ति बैंकले लिलाम गर्न लागेको भने यो पहिलो पटक होइन। यसअघि २०७८ मंसिरमा एभरेष्ट बैंक, एनआईएमबी र मेगा बैंक (हाल एनआईएमबीमा समाहित) बाट लिएको ऋण नतिरेपछि बैंकले २०७८ मंसिरमा लिलामीको प्रक्रिया सुरु गरेका थिए।
ग्रिनलाइनका सञ्चालक अग्रवाल कोभिड महामारीका बीचमा २०७८ देखि वित्तीय संकटमा परेका थिए। त्यसबेला विभिन्न बैंकबाट लिएको ऋण तिर्न नसकेको र व्यक्तिगत कारोबारका क्रममा चेक बाउन्सको कसुरमा अग्रवाल जेलमा समेत पुगेका थिए।
चेक बाउन्सको उजुरीमा पक्राउ परेका अग्रवाललाई २०७८ माघमा काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रकाश ढुंगानाको इजलासले शुक्रबार ४५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। धरौटी बुझाएर उनी हिरासतमुक्त भएका थिए।
मदिरा व्यापार बिग्रिएपछि सञ्जय अधिकारी र टंकशम्शेर जबराबाट लिएको सापटी रकम बुझाउन नसक्दा अग्रवालले दिएको चेक उनीहरूले बाउन्स गरेर प्रहरीमा उजुरी दिएका थिए।
त्यसबेला उनको सागर डिष्टिलरी लिमिटेड र कोभिड महामारीका कारण व्यापारमा मन्दी आएको थियो। उधारो उठ्न नसकेपछि आर्थिक संकटमा पर्दा ऋण तिर्न नसकेको पत्रकार सम्मेलन गरेर बताएका थिए।
व्यवसाय चलाउन उनले एभरेष्ट बैंकमा २० करोड ७५ लाख रुपैयाँ ऋण लिएका थिए। यस्तै तत्कालीन मेगा बैंकमा २० करोड ऋण रहेको र १ करोड ५० लाख जति ब्याज रहेको उनले स्वीकार गरेका थिए।
यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकमा २८ करोड ५० लाख रुपैयाँ ऋण रहेको र १ करोड ५० लाख जति ब्याज बाँकी रहेको थियो। नेपाल इन्भेष्टमेन्टमा मेगा बैंक समाहित भएपछि ऋण थपिएको थियो।
संकट गहिरिँदै गएपछि २०७८ माघमा बैंकको ऋण तिर्न नसकेपछि परिवारसहित सम्पर्कविहीन भएका थिए। नेपाल इन्भेष्टमेन्ट तथा एभरेष्ट बैंकले कान्तिपथमा सञ्चालित पसलमा ताला लगाएपछि सञ्चालक अमित अग्रवाल केही समय भारत गएका थिए। उनी एक महिनापछि ऋण तिर्ने भनेर फर्किएका थिए।
उनले कोभिडका कारण व्यवसाय संकटमा पर्दा बैंकको किस्ता तिर्न नसक्दा समस्यामा परेको बताएका थिए। एभरेष्ट बैंकले २०७८ पुस २१ गते सटरमा ताला लगाएपछि उनीहरू तनावमा परेका थिए।


