काठमाडौं – फिफा वरीयतामा नेपालले फेरी एक स्थान गुमाएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७४ औं स्थानबाट १७५औं स्थानमा झरेको हो। एक वर्षको दौरानमै नेपालले फिफा वरियतामा सात स्थान गुमाएको छ।
नेपालले पछिल्ला चार खेलमध्ये तीन खेलमा हार बेहोरेको छ। भारतमा जारी साफ च्याम्पियनसिप २०२३ मा नेपाल समूह चरणबाटै बाहिरिएको छ। साफको पहिलो खेलमा नै नेपालले कुवेतसँग ३–१ र भारतसँग २–० ले पराजित भएको थियो। साफभन्दा अघि नेपालले एक मैत्रीपूर्ण पनि खेलेको थियो। सो मैत्रीपूर्णमा नेपालले १–० को हार बेहोरेको थियो।
यता पछिल्लो खेलमा भने नेपालले पाकिस्तानलाई १-० ले हराएको छ। दक्षिण एसियाली देशहरुको तुलनामा पनि नेपाल औषत स्थानमा छ। दक्षिण एसियामा भारत सबैभन्दा अघि १०० औं स्थानमा छ। त्यस्तै, माल्दिभ्स १५४औं स्थानमा यथावत छ।
नेपालभन्दा पछि रहेका भुटान एक स्थान सुधार गर्दै १८४औं स्थानमा, बंगलादेश १९२औं स्थानमा रपाकिस्तान २०१औं स्थानमा छ। फिफा निलम्बनमा रहेको श्रीलंका २०७औं स्थानमा छ।
एसियाली राष्ट्रमध्ये जापान सबैभन्दा माथि २०औं स्थानमा रहँदा इरान २२औं स्थानमा छ। अष्ट्रेलिया २७औं र दक्षिण कोरिया २८औं स्थानमा छ। विश्व वरीयतामा हेर्ने हो भने कतार विश्वकप विजेता अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रोमा छन्।
इंग्ल्याण्ड चौथो, बेल्जियम पाँचौ स्थानमा छन् भने क्रोएसिया छैटौं, नेदरल्याण्ड्स सातौं स्थानमा छन्। इटली आठौं, पोर्चुगल नवौँ र स्पेन दशौँ स्थानमा यथावत छन्।


