काठमाडौँः सानिमा बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३१.१३ प्रतिशत बढेको हो।
गत आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासमा बैंकले ४५ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस वर्षको पहिलो तीन महिनामा नाफा ५९ करोड ६५ लाख रुपैयाँले बढेको छ।
बैंकको नाफामा भएको उल्लेख्य वृद्धिमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकममा आएको कमी, खुद ब्याज आम्दानीमा भएको वृद्धि तथा शुल्क र कमिसनबाट प्राप्त आम्दानीको योगदान देखिन्छ।
बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि ९५ करोड ६७ लाख रुपैयाँ छुट्याएको थियो। चालू आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम घटेर ३३ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ।
यसरी कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम करिब ६२ करोड ५८ लाख रुपैयाँले घटेको छ। प्रोभिजन खर्चमा आएको कमीले बैंकको नाफा बढाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।
खुद ब्याज आम्दानी ९.४२ प्रतिशत बढ्यो
बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ थियो।खुद ब्याज आम्दानी ९.४२ प्रतिशत बढेको हो।
त्यस्तै, शुल्क तथा कमिसनबाट प्राप्त खुद आम्दानी ४४ करोड ७८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ३० करोड ४९ लाख रुपैयाँ रहेको थियो। यसमा ४६.८६ प्रतिशतको वृद्धि देखिएको छ।
बैंकले पहिलो त्रैमासमा निक्षेप र कर्जा दुवै विस्तार गरेको छ। गत असार मसान्तमा २ खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँ रहेको ग्राहक निक्षेप असोज मसान्तमा २ खर्ब ५४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। निक्षेपमा २.०८ प्रतिशतको वृद्धि भएको हो।
त्यस्तै, गत आर्थिक वर्षको अन्त्यमा १ खर्ब ९५ अर्ब ८८ करोड रुपैयाँ रहेको कर्जा प्रवाह बढेर १ खर्ब ९९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। कर्जा प्रवाहमा १.७८ प्रतिशतको वृद्धि भएको छ।
बैंकको सम्पत्तिको गुणस्तरमा समेत सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.९१ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर २.८६ प्रतिशतमा झरेको छ।
त्यस्तै, खुद निष्क्रिय कर्जा अनुपात १.५८ प्रतिशतबाट घटेर १.०८ प्रतिशतमा आएको छ।
बैंकको आधार दर गत आर्थिक वर्षको पहिलो त्रैमासको ५.५९ प्रतिशतबाट घटेर ४.६० प्रतिशतमा आएको छ। निक्षेपको लागत पनि ४.३२ प्रतिशतबाट घटेर ३.३५ प्रतिशत कायम भएको छ।
त्यस्तै, बैंकको ब्याजदर अन्तर (स्प्रेड दर) ३.६५ प्रतिशतबाट घटेर ३.१७ प्रतिशतमा झरेको छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९.२३ प्रतिशत भएको बैंकले जनाएको छ।
प्रतिसेयर आम्दानी २९.१७ रुपैयाँ
नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १३ रुपैयाँ १५ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर २९ रुपैयाँ १७ पैसा पुगेको छ।
बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ९ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ५४ पैसा र मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १३.४७ गुणा रहेको छ।
यस अवधिमा बैंकको पुँजी पर्याप्तता अनुपात १२.३७ प्रतिशत र प्राथमिक पुँजीकोष अनुपात ९।७० प्रतिशत कायम भएको छ। साथै, बैंकको खराब कर्जा (एनपीएल) २.८६ प्रतिशत छ।
बैंकको वित्तीय विवरणअनुसार नियामकीय समायोजनपछिको वितरणयोग्य नाफा १ अर्ब ९९ करोड ४४ लाख रुपैयाँ रहेको छ।


