सुर्खेत: नेपाल भारतको सिमाना जमुनाहबाट सुरु भएर नेपाल चीनको सिमाना हिल्सा गएर टुगिँने कर्नाली कोरिडोर निर्माणको भाका फेरि लम्बिएको छ। ५०५ किलोमिटर लम्बाइ रहेको यो सडकको हाल कालिकोट खण्डबाट निर्माणको काम चलिरहेको छ। अस्थायी ट्र्याक ‌ओपनको काम पूरा भएको यो खण्डमा अब स्तरोन्नति काम सुरु गरिएको छ। मृत्युमार्गका नामले व्यङ्ग्य खेपिरहेको यो कोरिडोर भारी मात्रामा सुधारको खाचो रहेको छ।

हाल कर्नाली कोरिडोरअन्तर्गत बाजुरा हुँदै हुम्लातर्फ जाने सडक स्तरोन्नतिको काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। दक्षिण खण्डको खुलालु–सल्लिसल्ला सडक योजनाअन्तर्गत निर्माण भइरहेका दुई खण्डको प्रगति कमजोर देखिएपछि समग्र आयोजना सम्पन्न गर्ने समयसमेत पछाडि सारिएको छ।

खुलालु–सल्लिसल्ला सडक योजनाअन्तर्गत १२३ किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य छ। तर, आर्थिक वर्ष २०८२/८३ देखि निर्माण सुरु गरिएका पिलुचौर–कुवाडी र कुवाडी–तुम्च खण्डको कामले गति लिन सकेको छैन। आर्थिक वर्ष २०८३/८४ को असोजसम्म पिलुचौर–कुवाडी खण्डको वित्तीय प्रगति ३५ प्रतिशत पुगेको छ भने कुवाडी–तुम्च खण्डको वित्तीय प्रगति आठ प्रतिशत मात्रै छ।

यी दुई खण्डमा कुल तीन अर्ब ८६ करोड रुपैयाँभन्दा बढीका ठेक्का सम्झौता भएका छन्। दुवै खण्डको निर्माण सम्पन्न गर्ने मिति २०८५ असार २५ तोकिएको छ। यद्यपि, समग्र खुलालु–सल्लिसल्ला सडक योजनाको सम्पन्न गर्ने लक्ष्य भने आर्थिक वर्ष २०८४/८५ बाट संशोधन गरी आर्थिक वर्ष २०८९/९० पुर्‍याइएको छ।

कर्नाली कोरिडोर (दक्षिण खण्ड) खुलालु–सल्लिसल्ला सडक योजनाका प्रमुख विष्णुदास लामाका अनुसार पिलुचौरदेखि कुवाडीसम्मको २३.७ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का पीएस कन्स्ट्रक्सनले पाएको छ। २०८२ असार २० गते सम्झौता भएको यस ठेक्काको रकम एक अर्ब ९० करोड १८ लाख ९८ हजार ७३७ रुपैयाँ ४२ पैसा छ। असोजसम्म यस खण्डको वित्तीय प्रगति ३५ प्रतिशत पुगेको लामाले जानकारी दिए।

त्यस्तै, कुवाडीबाट तुम्चसम्मको २६.३ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का सिंह–कन्टेक जेभीले पाएको छ। २०८२ असार २० गते नै सम्झौता भएको यस ठेक्काको रकम एक अर्ब ९५ करोड ८४ लाख ५२ हजार १५३ रुपैयाँ ७५ पैसा छ। तर, असोजसम्म यस खण्डको वित्तीय प्रगति आठ प्रतिशत मात्रै रहेको लामाले बताए।

दुवै ठेक्काको कुल रकम तीन अर्ब ८६ करोड तीन लाख ५० हजार ८९१ रुपैयाँ १७ पैसा रहेको छ। ठेक्काअन्तर्गत सडक संरचना निर्माण, रिजिड पेभमेन्ट, डीबीएसडी कालोपत्रे, ट्राफिक सुरक्षा तथा बायोइन्जिनियरिङका काम गर्नुपर्नेछ।

१२३ किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य

कर्नाली कोरिडोर दक्षिण खण्डअन्तर्गत खुलालु–सल्लिसल्ला सडक योजनाको कुल लम्बाइ १२३ किलोमिटर छ। बाजुराको कोल्टामा २०८० मङ्सिर १३ गते योजना कार्यालय स्थापना गरी काम अघि बढाइएको थियो। आर्थिक वर्ष २०८०/८१ देखि छुट्टै कार्यालयमार्फत सडक स्तरोन्नतिको काम सुरु गरिएको आयोजना प्रमुख लामाले बताए।

यसअघि खुलालु–पिलुचौर–सल्लिसल्ला सडकको ट्र्याक नेपाली सेनाले खोलेको थियो। अहिले उक्त सडकलाई दुई लेनमा स्तरोन्नति गरी कालोपत्रे गर्ने र आवश्यक स्थानमा पुल निर्माण गर्ने लक्ष्य राखिएको छ।

आयोजनाको प्रारम्भिक अनुमानित लागत १२ अर्ब रुपैयाँ छ। सम्पूर्ण सडक खण्डलाई कालोपत्रे स्तरमा स्तरोन्नति गर्दा लागत बढेर १४ अर्ब रुपैयाँसम्म पुग्न सक्ने आयोजना प्रमुख लामाले जानकारी दिए।

आयोजनाको प्रारम्भिक सम्पन्न गर्ने लक्ष्य आर्थिक वर्ष २०८४/८५ राखिएको थियो। तर, संशोधित लक्ष्य आर्थिक वर्ष २०८९/९० तोकिएको छ। आयोजना प्रमुख लामाका अनुसार १२३ किलोमिटर सडकको ट्र्याक खोल्ने काम पूरा भइसकेको छ। त्यसमध्ये ५० किलोमिटर सडकको स्तरोन्नति आर्थिक वर्ष २०८२/८३ देखि भइरहेको छ।

थप ४१ किलोमिटर सडकको ठेक्का व्यवस्थापन भइसकेको र चाँडै निर्माण सुरु गर्ने तयारी रहेको लामाले बताए। सडकमा १५ वटा पुल आवश्यक पर्ने देखिएको छ। हाल रहेका बेली ब्रिज विस्थापन गरी पक्की पुल निर्माण गर्नसमेत ठेक्का व्यवस्थापन भइसकेको उनले जानकारी दिए।

उत्तर खण्डमा पनि स्तरोन्नतिको काम

कर्नाली कोरिडोर उत्तर खण्डअन्तर्गत हिल्सा–सिमिकोट–सल्लिसल्ला सडकको काम पनि भइरहेको छ। १४६ किलोमिटर लम्बाइको यस खण्डको ट्र्याक खोल्ने काम पूरा भएको योजना प्रमुख इन्जिनियर बेलबहादुर नेपालीले बताए।

उनका अनुसार सल्लिसल्लादेखि खार्पुनाथसम्मको ३८ किलोमिटरमध्ये ३२ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको छ। बाँकी ६ किलोमिटर सडक ग्राभेल गर्न पनि ठेक्का व्यवस्थापन गरिएको छ। त्यस्तै, सिमिकोट–हिल्सा खण्डको ९५ किलोमिटरमध्ये ७२ किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको नेपालीले जानकारी दिए।

भारतदेखि चीनको सीमासम्म जोड्ने लक्ष्य

कर्नाली कोरिडोरलाई भारतको सीमावर्ती जमुनाहदेखि चीनको सीमा हिल्सासम्म जोड्ने महत्त्वपूर्ण सडकका रूपमा विकास गर्ने लक्ष्य छ। जमुनाहदेखि हिल्सासम्मको कुल दूरी ५०५ किलोमिटर छ भने नेपालगन्जदेखि सिमिकोटसम्मको दूरी ४३७ किलोमिटर छ।

कोरिडोर उत्तर खण्डअन्तर्गत हिल्सा–सिमिकोट–सल्लिसल्ला सडक योजना १४६ किलोमिटर र दक्षिण खण्डअन्तर्गत खुलालु–सल्लिसल्ला सडक योजना १२३ किलोमिटर लामो छ। यी दुई खण्डको कुल लम्बाइ २६९ किलोमिटर हुन्छ। दक्षिण खण्डको सडकले कालिकोट, बाजुरा, मुगु र हुम्लाका बासिन्दालाई यातायात सेवासँग जोड्ने अपेक्षा गरिएको छ। राज्यले लगानी भारी मात्रामा भएमा कर्नालीका जनताले सहज रूपमा यात्रा गर्न पाउने सपना छिट्टै पूरा हुने कर्नालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बताए।