अमेरिकामा पहिलो पटक अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुने भएको छ। सम्मेलन एनआरएनएको ग्लोबल हेल्थ कमिटीले आयोजना गर्न लागेको हो। सम्मेलन मे महिनाको २७ र २८ तारिखमा डलासमा हुनेछ। सम्मेलनमा नेपालसहित अमेरिका, क्यानडा लगायतका मुलुकमा रहेका नेपाली मूलका डाक्टर, नर्स र स्वास्थ्य व्यवसायीहरूको सहभागिता रहने छ ।
एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा. सञ्जीव सापकोटाले सम्मेलनमा स्वास्थ्यसँग सम्बन्धी विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिने बताए । उनका अनुसार सम्मेलनको मुख्य उद्देश्य उत्तर र दक्षिण अमेरिकामा रहेका नेपाली मूलका डाक्टर, नर्स र स्वास्थ्य व्यवसायीलाई एउटै ठाउँमा एकताबद्ध गरी उनीहरूबीचको सञ्जाल बनाउनुरहेको छ ।
सम्मेलनको समापनमा डलास घोषणापत्र जारी गरिनेछ। सम्मेलनमा नेपालबाट प्रमुख वक्ताको रुपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्राध्यापक एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले सहभागिता जनाउने छन् । सम्मेलनमा कम्तीमा २ हजारभन्दा बढी नेपाली मुलका चिकित्सक र ५ हजारभन्दा बढी नर्सहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।


