काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ। सोमबार राजधानीमा एक कार्यक्रम गर्दै क्यानले नेपाली राष्ट्रिय टोलीको बिदाइ गरेको हो।
जिम्बावेमा सम्पन्न भएको एकदिवसीय क्रिकेट विश्वकपको ग्लोबल छनोटबाट भर्खरै मात्र नेपाल फर्किएको टिमलाई भने केही परिमार्जन गरिएको छ। क्यानले पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र करण केसीलाई आराम दिएको छ। उनीहरु नेपाली टोलीमा छैनन्। त्यस्तै, आरिफ शेखले भने आफ्नो नाम फिर्ता लिएका छन्।
नेपालका मूख्य बलर सन्दीप लामिछानेसँगै अलराउन्डर दिपेन्द्र सिंह ऐरीको यही समयमा क्यानडाको ग्लोबल टि–२० को खेल जुधेपछि उनीहरु क्यानडा जाने भएका छन्। यि खेलाडी बाहेकको नयाँ टिमले जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुने इमर्जिङ टिम्स एसिया कप खेल्नेछ।
प्रतियोगिता खेल्नको लागि नेपाली टोली आजै श्रीलंका प्रस्थान गर्ने योजना रहेको छ। समूह बी मा नेपालसँगै पाकिस्तान ए, भारत ए र यूएईसमेत छन्।
नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ। नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्ने तालिका रहेको छ। श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन्।
विश्वकपको ग्लोबल छनोट खेलेका आरिफले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि उनको ठाउँमा पवन सर्राफलाई स्थान दिइएको छ। अहिलेको नेपाली टिममा टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान बनाएका छन्। यि खेलाडीले यसअघि पनि नेपाली सिनियर टिमको अन्तिम १४ मा स्थन बनाइसकेका छन् भने खनाल त नेपाली टिममा नियमित रुपमै पर्न थालिसकेका थिए।
यस्तै रोहितकुमार पौडेल कप्तान रहेको टिममा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो छन्।


