एजेन्सी – मुम्बईका १७ वर्षीय क्रिकेटर आयुष म्हात्रेले मंगलबार नागाल्याण्डविरुद्धको विजय हजारे ट्रफीको खेलमा ११७ बलमा १८१ रनको उत्कृष्ट इनिङ खेल्दै विश्व रेकर्ड बनाएका छन्।
उनले लिस्ट ए क्रिकेटमा १५०ं रन बनाउने सबैभन्दा कान्छो खेलाडी बनेर नयाँ विश्व कीर्तिमान बनाएका हुन्।
उनले भारतीय टिमका स्टार ब्याट्सम्यान यशस्वी जैसवाललाई पछाडि छोडे। म्हात्रेले १७ वर्ष १६८ दिनको उमेरमा यो उपलब्धि हासिल गरेका हुन्। जहाँ २०१९ मा मुम्बईका लागि झारखण्डविरुद्ध खेल्दा जैसवालले १७ वर्ष २९१ दिनको उमेरमा यो कीर्तिमान बनाएका थिए।
यस सिजनको सुरुमै मुम्बईका लागि डेब्यु गरेका म्हात्रेले ११७ बलमा ११ छक्का र १५ चौकाको मद्दतले १८१ रन बनाएर आफ्नो टोलीलाई ५० ओभरमा ७ विकेट गुमाएर ४०३ रन जोड्न सघाएका थिए।
जवाफमा नागाल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २१४ रन मात्रै बनाउन सक्यो। नागाल्याण्डका लागि जगदिशा सुचिथले शतक प्रहार गरे पनि धेरै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।
मुम्बईको विरार निवासी आयुष म्हात्रे यस सिजनको सुरुमा टोलीमा आबद्ध भएदेखि नै सबै फर्म्याटका घरेलु टोलीका लागि नियमित खेल्दै आएका छन्। उनी अक्टोबरमा रेष्ट अफ इन्डियालाई हराएर २७ वर्षको अन्तरालपछि इरानी कप जित्ने मुम्बई टोलीमा थिए।
आफ्नो रणजी ट्रफी डेब्यूमा म्हात्रेले ७१ बलमा ५२ रनको उत्कृष्ट इनिङ खेलेका थिए, तर मुम्बईले सिजनको आफ्नो पहिलो खेल बडोदासँग हारेको थियो।


