काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले हालसम्म बीआरआई परियोजना अन्तर्गतका कुनै पनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताएका छन्।
सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले चीन सरकारसँग बीआरआईका लागि नेपालले २०१७ मा सम्झौता गरेको तर त्यसपछि कुनै पनि योजना नेपालमा अघि नबढेको बताएका हुन्।
मन्त्री साउदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आगामी अगस्ट महिनाबाट कार्यान्वयनको चरणमा जाने पनि बताए।
‘एमसीसी परियोजना आगामी अगस्ट महिनादेखि कार्यान्वयनको चरणमा जान्छ। कार्यान्वयनको चरणपछि ५ वर्षमा यो पूरा हुन्छ। र, एमसीसी एउटा ग्रान्ड भएको हुनाले कार्यान्वयनको चरणमा गइसकेको छ,’ मन्त्री साउदले भने, ‘बीआरआई नेपालमा २०१७ मा नेपालले चीन सरकारसँग एमओयु गरिसकेको छ, यसपछि यसको कार्यान्वयनको सन्दर्भमा हामी थप छलफलको चरणमा छौँ। यो कार्यक्रमअन्तर्गत कुनै पनि योजना नेपालमा सुरु भएको छैन।’
यसअघि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गतको भएको दाबी गरेका थिए। नेपाल चीन ड्रागन बोट रेस फेस्टिवलमा उनले त्यस्तो दाबी गरेपछि यो बिषयमा नेपालमा बहस भइरहेको छ।


