जनकपुर- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गोपाल किराँतीले मनाङ एयरको हेलिकोप्टर दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिने बताएका छन्।
मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन्।
‘अब छानबिन समिति बन्छ, भोलिसम्ममा गठन हुन्छ,’ उनले भने। उनले आफूहरूले हवाइ सुरक्षालाई प्राथमिकतामा राखेको समेत उल्लेख गरे। ‘हामीले डे वानदेखि नै सेफ्टी फर्स्ट भनेर यही नारा उच्चारण गरेका छौं । सेफ्टीमा कुनै सम्झौता हुँदैन । दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फर्स्ट भनेका छौं, हाम्रो पहिलो शर्त सुरक्षा हो,’ उनले भने, ‘हामी छलफल बहसमा नै छौं, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौं।’
सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ लामाजुरा डाँडास्थितमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हेलिकोप्टरमा सवार ६ जनाकै मृत्यु भएको पुष्टि भएको छ। यद्यपि शवको पहिचान हुन सकेको छैन।
सोलुखुम्बुको सुर्केबाट उडेको मनाङको हेलिकोप्टर बिहान १० बजेर ५ मिनेटबाट सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी बताएको थियो।
मनाङ एयरको हेलिकप्टरमा चेतबहादुर गुरुङ पाइलट थिए। हेलिकोप्टरमा मेक्सिन नागरिकहरू तिमा सिफुन्टेस जी फरनान्डो, गोनजालेक्स अब्रिक, गोन्जालेक्स ओकासिलियस, सिफुजेन्टस् जी मोक्स्रिटोस र रिनकोन इस्मेस रहेका थिए।
यसैबीच मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्।
‘सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुखी तुल्याएको छ। दुर्घटनामा परी मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्धारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशित गर्दछु,’ प्रधानमन्त्रीले भनेका छन्।


