काठमाडौं– सरकारले मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन समिति गठन गरेको हो।
मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। सरकारका प्रवक्ता शर्माले भनिन्, ‘मेक्सिकोका नागरिक बोकेको मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ, मन्त्रिपरिषद्ले सबै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ। पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।’
मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९–एन–एमभी कलसाइन हेलिकोप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा मेक्सिकोका पाँच जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको थियो। दुर्घटनामा ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याइएको छ।


