काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ज्यादती गरेको भन्दै आन्दोलन सुरुभ भएपछि महानगरीय प्रहरी बलले आफ्ना प्रहरीलाई ब्रिफिङ गरेको छ। बुधबार महानगरीय प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले महानगरीय प्रहरीलाई निर्देशनात्मक ब्रिफिङ गरेका हुन्।
‘आदेशको श्रृङ्खला र आचरणका विषयमा नगर प्रहरीलाई ब्रिफिङ गरिएको छ,’ मेयर बालेन्द्र साहको सचिवालयले भनेको छ, ‘सहरी व्यवस्थापनका क्रममा व्यापारीहरुसँग अभद्र व्यवहार भएको गुनासो आउन थालेकोले महानगर प्रहरी बलले निर्देशनात्मक ब्रिफिङ गरेको हो।’
ब्रिफिङका क्रममा बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले कानुनअनुसार स्पष्ट भएर मात्र अघि बढ्न भनेका थिए। ‘सहरी सुव्यवस्थाका लागि हामीले गरेका काम र आचरणलाई नागरिकलाई नजिकबाट नियालिरहेका हुन्छन्,’ पाण्डेको निर्देश थियो, ‘सडक व्यापारीको सामान पोखिने गरी कारवाही गरेको जस्ता विषयमा गुनासा आएका छन्। सामान पोखिने गरी कारवाही नगर्नू। नागरिकसँग आदरार्थी शब्दको प्रयोग गरेर बोल्नू।’
कानुनको परिपालना गर्ने गराउने, नागरिकमैत्री व्यवहार गर्ने, अनुशासन र आदेश सृङ्खलाको पालना नगर प्रहरीका अनिवार्य जिम्मेवारी भएकाले त्यसलाई पालना गर्न भनेका थिए।
केही दिनअघि मात्र महानगर प्रहरीले मानिसहरूका घरघरमा पुगेर ठेलागाडा कब्जामा लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। यसपछि मेयर बालेन्द्र र महानगर प्रहरीको उक्त कदमको विरोध भएको थियो।
आजै इनफ इज इनफको अगुवाइमा महानगर प्रहरी बलको ज्यादतीविरुद्ध महानगरअघि मेयर बालेन्द्रकै ‘गरिबको चमेली बोल्दिने कोही छैन’ बोलको गीत गाएर शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको थियो।


