काठमाडौं – बंगलादेशमा भइरहेको नेपाल र बंगलादेश सिनियर महिला मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ।
ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्तफ कमल रंगशालामा भर्खरै सम्पन्न फिफा टायर १ को पहिलो मैत्रीपूर्ण खेलमा नेपालले १–१ को बराबरी खेलेको हो।
खेलको पहिलो हाफ गोरहित बराबरी भए पनि दोस्रो हाफको ६५ औं मिनेटमा बंगलादेशले अग्रता बनाएको थियो। कप्तान सविना खातुनले गोल गर्दै आयोजक टिमलाई अग्रता दिलाएकी थिइन्। त्यसपछि नेपालले गोलका केही थप प्रयास गरे पनि निर्धायरित ९० मिनेटभित्र गोल गर्न सकेन।
तर थपिएको इन्ज्युरी समयमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेपछि भने नेपालले बराबरी गरेको हो।
नेपाली महिला फुटबलको इतिहासमा नेपालले पछिल्लो एक वर्षमा बंगलादेशसँग दुई पटक जितबिहिन छ। यसअघि काठमाडौंमै सम्पन्न महिला साफको फाइनल खेलमा नेपालले बंगलादेशसँग पहिलो पटक हार बेहोरेको थियो। त्यो नेपालले बंगलादेशसँग बेहोरेको पहिलो हार थियो।


