काठमाडौं – राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ। बंगलादेशको राजधानी ढाकामा आयोजना भएको दुई मैत्रीपूर्ण खेलअन्तर्ग आज आईतबार यि दुई टिमले दोस्रो खेल खेल्न लागेका हुन्।
मैत्रीपूर्ण खेलकै लागि नेपाली टिम अघिल्लो हप्ता बंगलादेश गएको थियो। त्यहाँको वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्तफ कमल रंगशालामा नेपालले पहिलो खेल खेलिसहेको छ। नेपालले पहिलो खेलमा भने जित निकाल्न सकेन।
निकै कमजोर प्रतिस्पर्धा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो। बंगलादेशकी सविता खातुनले अग्रता बनाएको खेलको इन्ज्युरी समयमा गोल फर्काउँदै सावित्रा भण्डारीले बराबरी गराएकी थिइन्।
एशियाडको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएको हो। नेपाली टिमलाई प्रशिक्षक अनन्तराज थापाले नेतृत्व गरेका छन् उनले नेपाली टिमलाई पछिल्लो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा पनि प्रतिस्पर्धा गराएका थिए।
नेपाली टिमका मूख्य प्रशिक्षक थापाले बंगलादेशको मौषमका कारण पहिलो खेलमा खेल्न गाह्रो भएको बताएका छन्।
‘बंगलादेशको तापक्रम उच्च छ। सोही कारण खेलाडीलाई केही गा्रहो भयो। केही दिनको बसाईले खेलाडी यहाँको मौसम अनुकुल भएका छन्,’ थापाले भनेका छन्। उनी आजको खेल केही सहज हुने बताउँछन्।

नेपाली महिला टिमले यसअघि गएको अप्रिलमा पनि प्रतियोगिता खेलेको थियो। ओलम्पिक छनोटको दोस्रो चरणमा नेपालले भियतनामसँगका दुवै खेलमा हार बेहोरेको थियो। पहिलो चरणमा रहेका प्यालेस्टाइन र अफगानिस्तान दुवैले आफ्नो नाम फिर्ता लिएपछि नेपाली सीधै दोस्रो चरणका लागि छनोट भएको थियो।
दोस्रो चरणका दुई खेलमा सात गोल बेहोरेको नेपालले एक गोल मात्र फर्काउन सकेको छ। त्यो एक गोल सावित्राले नै गरेकी थिइन्।


