काठमाडौं- एएफसी यू–२० महिला एसिया कप छनोटको दोस्रो चरणमा पुगेको नेपालले अब चीन, म्यानमार र चाइनिज ताइपेइसँग खेल्ने भएको छ। प्यालेस्टाइनमा दुवै खेलमा जित निकालेको नेपालले जुन महिनाको पहिलो र दोस्रो साता हुने खेलमा यी विपक्षीको सामना गर्ने भएको हो।
एएफसीले बिहीबार ड्रको आयोजना गरेको थियो जसमा दोस्रो राउन्ड जुन ३ देखि ११ सम्म खेलाइने जानकारीसमेत दिएको छ।
दोस्रो चरणको छनोटमा पनि नेपाल समूहको शीर्ष दुईमा पर्न सके सन् २०२४ को एएफसी यू–२० महिला एसियाली कपमा छनोट हुनेछ। आउँदो वर्ष हुने एएफसी यू-२० को महिला एसियाली कप ३ देखि १६ मार्च मा उज्वेकिस्तानमा हुनेछ।
नेपालले पहिलो चरणमा प्यालेस्टाइन र उत्तरी मारियाना आइल्यान्डलाई समान ६–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो।


