काठमाडौँ- म्यानपावर व्यवसायीले अध्यागमन विभाग घेराउ गरेका छन्। आइतबार अध्यागमन विभागअघि पुगेर म्यानपावर व्यवसायीले महानिर्देशक (डीजी)को राजीनामा माग गर्दै प्लेकार्डसहित कार्यालय घेराउ गरेका हुन्।
श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीका लागि प्रस्थान गरेकाहरूलाई विनाकारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विभागको कार्यालयले फर्काएको भन्दै म्यानपावर व्यवसायीले कार्यालय घेराउ गरेका हुन्।
वैदेशिक रोजगार ऎन २०६४ अनुसार सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका कामदारहरुलाई केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले फर्काइरहेको व्यवसायीको आरोप छ।
विभागको गतिविधिका कारण व्यवसाय गर्न समस्या हुन थालेको भन्दै उनीहरूले विभागका महानिर्देशक झलकराम अधिकारीको राजीनामासमेत माग गरेका छन्।
विभागका महानिर्देशक अधिकारीले भने विवरण फरक परेकाले केही व्यक्तिहरूलाई रोकिएको स्वीकार गरे। विवरण फरक परेपछि विभागले आफ्नो काम गरेको उनको भनाइ छ। व्यवसायीले भन्दैमा आफूले राजीनामा दिन पर्ने नभएको उनको भनाइ छ।
‘काम, पेसा, कम्पनीलगायतका विवरण फरक परेपछि र पुरानो श्रम स्वीकृति भएकाहरूलाई विमानस्थलबाट फर्काइएको हो,’ अधिकारीले नेपाल क्लिक्ससँग भने, ‘यस विषयमा हामी विज्ञप्ति जारी गरेर जानकारी दिँदैछौँ। मेरो राजीनामा नेपाल सरकारले माग्न सक्छ। व्यवसायीहरूले होइन।’








