काठमाडौं – नेपाली महिला फुटबल टिमले इतिहासमा पहिलो पटक गोल्ड मेडल जित्यो। तर त्यो आधिकारिक प्रतियोगितामा थिएन, केवल सिरिज मात्र थियो। बंगलादेशको ढाकामा आयोजना भएको दुई खेलको मैत्रीपूर्ण शृंखलाका दुवै खेलमा बराबरी भएपछि नेपालले पेनाल्टीमा ४–२ को नतिजासँगै जित निकालेर सिरिज जितेको थियो।
हिजो आईतबार दोस्रो खेलमा बंगलादेशसँग गोल रहित बराबरी खेलेको नेपालले टाइब्रेकरमा बंगलादेशलाई पराजित गरेर उपाधि जितेको हो। त्यसअघिको पहिलो खेलमा नेपालले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेर दोस्रो हाफमा १–१ को बराबरी गरेको थियो। त्यसैले दुवै खेल बराबरीमा टुंगिएका थिए।
आइतबारको अन्तिम खेलमा बैकल्पिक गोलकिपर अन्जना रानामगरले दुई प्रहार रोकेपछि नेपालले बंगलादेशलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो।

‘पहिलो खेलमा हामीले प्यासेन्स गुमाएनौँ। एक गोलले पछि परेको भए पनि ९० मिनेटपछिको दुई मिनेटमा हामी गोल गर्न सफल भयौँ। त्यो हेरेपछि हामीले दोस्रो खेलमा सुधारिएको प्रदर्शन गरेका थियौँ,’ खेलपछि पत्रकारसँगको कुराकानीमा नेपाली टिमका प्रशिक्षक अनन्तराज थापाले भनेका छन्।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि मैत्रीपूर्ण सिरिजको निर्णय टाइब्रेकरमा गरिएको थियो। एशियाडको तयारीमा रहेको नेपालको राष्ट्रिय महिला फुटबल टिम अन्तराष्ट्रिय मैत्रीपूर्ण सिरिजका लागि बंगलादेशमा गएको हो।
‘हाम्रो लागि राम्रो अनुभव पनि भयो। बंगलादेशको होमग्राउन्डमा भएको खेल थियो। उनीहरु दक्षिण एसियाको राम्रो टिम पनि हो। राम्रो साइड थियो,’ खेलको आवश्यकता र महत्वबारे प्रशिक्षक थापाले भने, ‘अब १९ औं एसियाली खेलकुदको तयारी खेल भएको कारण पनि हामीले धेरै खेलाडीलाई प्रयोग गरेका छौं, खेलाडी चेक गरेको हो।’
पहिलो खेलमा समेत नेपालले घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो। त्यही टिमले गत वर्षको भदौमा काठमाडौंमा नै भएको साफमा च्याम्पियनसिपको फाइनल खेलमा नेपाललाई ३–१ पराजित गर्दै साफको उपाधि जितेको थियो। नेपालले दुई खेलको मैत्रीपूर्ण सिरिजमा हराउँदै बंगलादेशी भुमिका अन्तराष्ट्रिय उपाधि भने जितेको छ।

‘महिला टिमले पहिलो पटक गोल्ड मेडल जितेको छ। त्यसमाथि बंगलादेशलाई जित्दाखेरी चाहिँ साफ विजेतालाई हराएको जस्तै भइरहेको छ। आउँदो साफमा हामी पनि विजेताको दावेदार हो भन्ने लागेको छ। २०२४ को साफमा गोल्ड मेडल ल्याउन सक्छ भन्ने कुराको साइन पनि हो,’ प्रशिक्षक थापाले नेपाली टिमको सम्भावनाबारे भनेका छन्।
फिफा मान्यता प्राप्त मैत्रीपूर्ण फुटबल म्याचको पहिलो खेल बराबरी भएपछि दोस्रो खेलमा ट्याक्टिकल्ली खेल्दा सकारात्मक नतिजा आएको प्रशिक्षक बताउँछन्। उनी भन्छन्, ‘यि दुई खेलबाट सिक र उर्जा लिएर हामी ब्याक होम जाँदैछौं। अलिकति समय पाएर राम्रो तयारी गर्दै गयो भने अर्को वर्षको साफ नेपालले जित्न सक्छ भन्ने लागेको छ।’



